जन्मजात विकृत मुटुरोग शल्यक्रियामा गङ्गालाल हृदय केन्द्रको नयाँ सफलता


काठमाडौँ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जन्मजात बाल मुटुरोगको शल्यक्रियामा नयाँ सफलता अन्तर्गत ट्राइकस्पिड भल्भको ‘स्ट्राडलिङ’ भनिने दुर्लभ समस्या भएका एक बालकको मुटुलाई दुई खण्डे बनाउनु नपरी सामान्य चार खण्डे मुटुमा रूपान्तरण गर्न चिकित्सक टोली सफल भएको हो । डा. रविन्द्र भक्त तिमला को नेतृत्वमा गरिएको उक्त शल्य चिकित्सा टोलीमा  डा. सम्वृद्ध कार्की, डा. अशोक प्रधान रहेका थिए ।

ट्राइकस्पिड भल्भ स्ट्राडलिङ भन्नाले मुटुको दाहिने भागमा रहने ट्राइकस्पिड भल्भका तन्तुहरू (कोर्डी) दाहिने भाग कै प्यापिलरी मांसपेशीमा जोडिनु पर्नेमा मुटु भित्र रहेको प्वाल मार्फत देब्रे भागको मांसपेशीमा गएर जोडिनु हो। यो असामान्य अवस्था जन्मजात मुटुरोग मध्ये करिब तीन प्रतिशतमा मात्र देखिने चिकित्सकहरू बताउँछन्।

यो विकृति पूर्ण रूपमा सच्याउनु चुनौतीपूर्ण हुने भएकाले प्रायः यस्ता बिरामीमा चार खण्डे मुटु बनाउनुको सट्टा दुई खण्डे मुटु बनाउने शल्यक्रिया गरिने गरिन्छ।

यस प्रक्रियामा मुटु भित्रको संरचनागत समस्या मर्मत नगरी मुटु बाहिर रहेका रगतका नलीको शल्यक्रिया गरी रगत बग्ने बाटो परिवर्तन गरिन्छ। यसले दीर्घकालमा मुटुले राम्रोसँग काम नगर्ने, पटक पटक शल्यक्रिया गर्नुपर्ने तथा अन्य शारीरिक जटिलता देखिने जोखिम रहने हुँदा बिरामीको आयु सामान्यतया ३० देखि ४० वर्ष सम्म सीमित हुने चिकित्सकहरू बताउँछन । तर चार खण्डे मुटु बनाउन सकिएमा जीवन शैली र आयु दुवै सामान्य स्तरमै फर्किन सक्ने डा. तिमलाले बताए।

पर्साबाट आएका पाँच महिनाका एक बालकमा उक्त समस्या देखिए पछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा. रविन्द्र भक्त तिमला, डा. सम्वृद्ध कार्की र डा. अशोक प्रधानको टोलीले हालै शल्यक्रिया गरेको हो। शल्यक्रियाका क्रममा देब्रे भागमा गएको दाहिने भागको तन्तु (कोर्डी) र मांसपेशी (प्यापिलरी मांसपेशी) काटी पुनः दाहिने भाग मै प्रतिस्थापन गरिएको र मुटु भित्रको प्वाल टालिएको जनाइएको छ।

शल्यक्रिया पछि ट्राइकस्पिड भल्भ सामान्य अवस्थामा फर्किएको र बालकको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले उनी हाल घर फर्किने तयारीमा रहेको केन्द्रले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!