प्राथमिक स्वास्थ्यकर्मी सशक्तिकरणका लागि पुस्तिका परिमार्जन
काठमाडौँ– विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केएचडीसी (दीर्घकालीन मिर्गौला रोग, उच्च रक्तचाप, मधुमेह र मुटु रोग) कार्यक्रमले प्राथमिक तहमा नसर्ने रोग व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले तैयार गरिएका पुस्तिका तथा सामग्री बारे परामर्श र सुझाव संकलन गर्ने एक दिने कार्यशाला सम्पन्न गरेको छ।
यो कार्यशाला मुलुकको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति सशक्तिकरण प्रक्रिया अन्तर्गत शुक्रबार सम्पन्न गरिएको हो ।
एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटल र प्रतिष्ठानको केएचडीसी नेपालको सहकार्यमा आयोजित गोष्ठी मा प्रतिष्ठानका पदाधिकारी, कोशी प्रदेशका स्वास्थ्य सचिव यदु चन्द्र घिमिरे, विभिन्न पालिकाका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका अधिकारी, डब्लुएचओ प्रतिनिधि तथा विषय विज्ञहरूको उपस्थिति थियो ।
कार्यक्रमले प्राथमिक तहका स्वास्थ्यकर्मीका लागि तयार पारिएका नसर्ने रोग व्यवस्थापन पुस्तिका तथा सामग्रीहरूलाई व्यवहारिक, सुसंगत र प्रयोग मैत्री बनाउने उद्देश्य राखेको थियो ।
गोष्ठीमा इस्केमिक हृदय रोग, मुटु विफलता तथा दीर्घ मृगौला रोग व्यवस्थापन सम्बन्धी प्रशिक्षण सामग्री, प्राथमिक तहमा आवश्यक पर्ने सेवा क्षमता र स्थानीय चुनौती बारे पनि छलफल गरियो ।
कार्यशालाबाट संकलित सुझावका आधारमा पुस्तिका तथा सामग्रीहरूलाई अद्यावधिक र परिमार्जन गरिने बताइएको छ। अद्यावधिक दस्तावेजले समुदायमा लुकेका नसर्ने रोगका केस पहिचानमा सहयोग गर्ने, जटिलता कम गर्ने र अकाल मृत्यु रोकथाममा योगदान गर्ने अपेक्षा गरिएको छ। तथ्यांक अनुसार नेपालमा हुने कुल मृत्यु मध्ये दुई तिहाइ भन्दा बढीको कारण नसर्ने रोग नै रहेको छ।
केएचडीसी कार्यक्रम प्रतिष्ठानका रेक्टर प्रा. डा. संजीब कुमार शर्माको नेतृत्वमा सन् २००३ देखि सञ्चालन भइरहेको समुदाय केन्द्रित कार्यक्रम हो। यसले पूर्वी नेपालमा दीर्घ मृगौला रोग, मधुमेह, उच्च रक्तचाप तथा मुटु रोग सम्बन्धी जनचेतना, रोकथाम, शीघ्र पहिचान र व्यवस्थापनमा काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस