अनुसन्धान
टीबी संक्रमितको परिवारजनमा संक्रमण पत्ता लगाउन मात्र छातीको एक्सरे पर्याप्त छैन : अध्ययन
फोक्सोको क्षयरोग (टीबी) संक्रमित व्यक्तिका नजिकका आफन्तमा पनि संक्रमण भएको छ कि छैन भन्ने पत्ता लगाउन प्रायः प्रयोग गरिने छातीको एक्सरे मात्र पर्याप्त नहुने एउटा अध्ययनले देखाएको छ।
यो अध्ययन ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ मा प्रकाशित गरिएको छ र यसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार, टीबी संक्रमितको परिवारका सदस्यमा लक्षण नदेखिने (एसिम्प्टोम्याटिक) अवस्थाका धेरै संक्रमितहरू एक्सरे परीक्षणबाट छुटि रहेका छन्।
अध्ययन दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन समुदायमा गरेका थिए। उनीहरूले फोक्सोको टीबी भएका बिरामीका ९७९ जना नजिकका आफन्तको खकार परीक्षण र व्यवस्थित स्क्रिनिङ गरे।
टीमले ५.२ प्रतिशत आफन्तमा फोक्सोको टीबी पुष्टि गरेको थियो। तीमध्ये ८२.४ प्रतिशतमा कुनै लक्षण नै देखिएन। अझ चिन्ताजनक कुरा, छातीको एक्सरेले ४० प्रतिशत केस पत्ता लगाउन सकेन।
मुख्य अनुसन्धानकर्ता डा. साइमन सी. म्यान्डेलसोहनका अनुसार, ‘हाम्रो अध्ययनमा ८० प्रतिशत भन्दा बढी संक्रमितमा कुनै लक्षण देखिएन र छातीको एक्सरेले ती मध्ये झण्डै ४० प्रतिशत केस पत्ता लगाउन असफल भयो।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, सन् २०२३ मा विश्व भर करिब १ करोड ८ लाख मानिस टीबीबाट संक्रमित थिए, जसमा २५ प्रतिशत अर्थात् २७ लाख जनाको उपचार वा निदान हुन सकेको थिएन। यी मध्ये धेरैमा कुनै लक्षण नदेखिनु नै मुख्य चुनौती हो।
लक्षण नदेखिने संक्रमित
अनुसन्धानमा उल्लेख भए अनुसार, समुदायस्तरको सर्वेक्षणमा भेटिएका ५० प्रतिशत भन्दा बढी टीबी संक्रमितमा कुनै लक्षण देखिएका थिएनन, जस्तै खोकी, ज्वरो, रातमा पसिना आउनु वा तौल घट्नु आदि । यस्ता संक्रमितहरू प्रायः संक्रमणबारे जानकारी नहुँदा वा सामान्य ठानेर रिपोर्ट नगर्ने गर्छन्।
यस समूहमा ब्याक्टेरियाको मात्रा निकै कम पाइयो र तिनीहरूको रगतमा रहेको सी रिएक्टिभ प्रोटिनको स्तर पनि सामान्य मानिस भन्दा फरक थिएन।
एक्सरे परीक्षणको सीमा
अध्ययनले देखायो कि एसिम्प्टोम्याटिक टीबीका लागि छातीको एक्सरेको संवेदनशीलता केवल ५६.१ प्रतिशत थियो । जब लक्षण र एक्सरे दुबै प्रयोग गरियो, संवेदनशीलता ६४ प्रतिशत पुग्यो तर अझै पर्याप्त छैन।
डा. म्यान्डेलसोहनका शब्दमा, ‘हाम्रो निष्कर्षले देखाउँछ कि मात्र लक्षण र छातीको एक्सरेमा आधारित परीक्षणले समुदायमा टीबी पत्ता लगाउन पर्याप्त काम गर्दैन।’
सारांशमा, टीबी नियन्त्रणका लागि परिवारका सदस्य र समुदाय स्तरमा खकार परीक्षण जस्ता सूक्ष्म जैविक परीक्षणहरू अनिवार्य रूपमा अपनाउनु पर्ने अध्ययनले सिफारिस गरेकोछ।

प्रतिक्रिया दिनुहोस