अनुसन्धान

मानव शरीरका कोषहरूले तापक्रम कसरी महसुस गर्छन् भन्ने विधि पत्ता लाग्यो


एउटा नयाँ अध्ययनले मानव शरीरका कोषहरूले तापक्रम पत्ता लगाउने नयाँ तरिका खोजेको छ। यस खोजले शरीरले सामान्य तातोपन र हानिकारक ताप बीच फरक गर्न कसरी सक्षम हुन्छ भन्ने बुझ्न मद्दत पुर्‍याउनेछ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका वैज्ञानिक टोलीले गरेको यो अध्ययन नेचर स्ट्रक्चरल एन्ड मोलिक्युलर बायोलोजी पत्रिकामा प्रकाशित भएको छ जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। 

अध्ययनकर्ताहरूको अनुसार वातावरणमा ताप बढ्दा कोष झिल्लीमा रहेको ‘टीआरपीएम’ नामक सेन्सर सक्रिय हुन्छ र यसले आवेशित कणहरूलाई कोष भित्र प्रवेश गर्न दिन्छ। ती कणहरूको प्रवाहले स्नायु संकेत (नर्भ सिग्नल) उत्पन्न गर्छ, जसलाई मस्तिष्कले तातोपन या पीडाको रूपमा बुझ्छ।

अनुसन्धान कर्ताहरूका अनुसार टीआरपीएम सेन्सरको सम्बन्ध पीडा, सूजन र छारे रोग (मिर्गी) सँग पनि रहेको पाइन्छ। त्यसैले यस अध्ययनले दीर्घकालीन पीडाका लागि लत नलाग्ने नयाँ उपचार विकासमा सहयोग पुर्‍याउन सक्छ। मिर्गी मस्तिष्क भित्र विद्युत संकेतमा हुने अव्यवस्थाका कारण बारम्बार दौरा आउने रोग हो।

मुख्य अनुसन्धानकर्ता वेई लूका अनुसार, ‘जब टीआरपीएम-३’ अत्यधिक सक्रिय हुन्छ, यसले पीडा उत्पन्न गर्न सक्छ। अब हामीले यो सेन्सरले ताप कसरी पत्ता लगाउँछ र यसको क्रियाशीलता कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बुझि सकेका छौं, यसले पीडाबाट राहत दिने नयाँ उपायहरू विकास गर्न मद्दत पुर्‍याउनेछ।’

अनुसन्धान टोलीको भनाइमा, संवेदी स्नायु कोषमा पाइने टीआरपीएमको क्रियाशीलता नियन्त्रण गर्न सके दीर्घकालीन पीडा र स्नायुगत विकारहरूलाई नियन्त्रण गर्न सकिने सम्भावना देखिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!