अनुसन्धान

निन्द्राको कमीले मस्तिष्क छिटो बुढो हुन्छ, बिर्सिने रोग, डिमेन्सियाको जोखिम पनि बढाउँछ


निन्द्रा राम्रो नहुने व्यक्तिहरूको मस्तिष्क उमेर भन्दा छिटो बुढो हुने  सम्भावना बढी हुन्छ। स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले यो निष्कर्ष निकालेका हुन्।

यो अध्ययन ईबायोमेडिसिन पत्रिकामा प्रकाशित भएको छ जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। शरीरमा हुने सुन्याई ले पनि यस सम्बन्धमा भूमिका खेल्ने देखिएको छ।

अध्ययन अनुसार, राम्रो निन्द्राको अभाव र डिमेन्सिया बीच सम्बन्ध रहेको भए पनि यो कारण हो वा प्रारम्भिक लक्षण हो भन्ने कुरा अझै स्पष्ट छैन। यस पटक अनुसन्धानकर्ताहरूले निन्द्राको गुणस्तर र मस्तिष्कको वास्तविक उमेर भन्दा देखिने ‘जैविक उमेर’ बीचको सम्बन्ध पत्ता लगाउने प्रयास गरेका छन्।

यो अध्ययनमा युके बायोबैंक २७,५०० मध्यम र वृद्ध उमेरका सहभागीहरू समावेश थिए। उनीहरूको मस्तिष्कको एमआरआईं स्क्यान गरी कृत्रिम बुद्धिमत्ताको सहयोगमा मस्तिष्कको जैविक उमेर अनुमान गरिएको थियो।

सुन्याई र मस्तिष्क बुढ्याउने सम्बन्ध सहभागीहरूको निन्द्राको गुणस्तर पाँच मापदण्डका आधारमा मूल्याङ्कन गरिएको थियो । यस अन्तर्गत बिहान/साँझ सुत्ने बानी (क्रोनोटाइप), निन्द्राको अवधि, अनिद्रा, घुर्ने बानी र  दिनमा अत्यधिक निन्द्रा लाग्ने अवस्था रहेका छन् ।

यी आधारमा उनीहरूलाई तीन समूहमा वर्गीकृत गरिएको थियो- स्वस्थ निन्द्रा (४ वा बढी अंक), मध्यम (२-३ अंक) र कमजोर निन्द्रा (१ वा कम अंक)।

मुख्य अनुसन्धानकर्ता एबिगेल डोभका अनुसार,’प्रत्येक १ अंकले निन्द्राको गुणस्तर घट्दा मस्तिष्क उमेर र वास्तविक उमेर बीचको अन्तर करिब ६ महिनाले बढ्ने पाइएको छ। कमजोर निन्द्रा भएका व्यक्तिहरूको मस्तिष्क औसतमा एक वर्षले बढी बुढो देखिएको थियो।’

अनुसन्धानले शरीरमा हुने हल्का सुन्याई (लो ग्रेड इन्फ्लामेसन) पनि जाँच्यो। परिणामले देखायो कि यो सुन्याईले कमजोर निन्द्रा र मस्तिष्कको बुढ्याइ बीचको सम्बन्धको करिब १० प्रतिशत हिस्सा व्याख्या गर्छ।

एबिगेल डोभले भनिन, ‘हाम्रो अध्ययनले देखाउँछ कि कमजोर निन्द्राले मस्तिष्क बुढ्याउने प्रक्रियालाई छिटो पार्न सक्छ र सुन्याई त्यसका कारण मध्ये एक हुन सक्छ। किन भने निन्द्रा सुधार गर्न सकिन्छ, स्वस्थ निन्द्राका बानी अपनाएर मस्तिष्कको बुढ्याइ र संज्ञानात्मक क्षति (कग्निटिभ डिक्लाइन) कम गर्न सकिन्छ।’

अन्य सम्भावित कारणहरू

अनुसन्धानकर्ताहरूका अनुसार, खराब निन्द्राले मस्तिष्कको फोहोर पदार्थ हटाउने प्रणालीमा असर पार्न सक्छ, जुन प्रणाली मुख्यतः निद्रामा सक्रिय हुन्छ। यसका साथै, निन्द्राको कमीले मुटु र रक्तसञ्चार प्रणालीमा असर पार्दा अप्रत्यक्ष रूपमा मस्तिष्कमा पनि नकारात्मक प्रभाव पर्न सक्छ।

तर, अध्ययनका सहभागीहरू औसत ब्रिटिश जनसंख्या भन्दा स्वस्थ भएकाले परिणाम सबैमा समान रूपमा लागू नहुन सक्छन्। त्यसैगरी, निन्द्रा सम्बन्धी विवरण सहभागीहरूको आफ्नै मूल्याङ्कनमा आधारित भएकाले केही त्रुटि सम्भव छ।

यो अध्ययन स्वीडिश स्कूल अफ स्पोर्ट एण्ड हेल्थ साइन्सेस, चीनका टियांजिन मेडिकल युनिभर्सिटी र सिचुआन विश्वविद्यालय लगायत संस्थाहरूसँगको सहकार्यमा गरिएको हो।

अध्ययनलाई अल्जाइमर फाउन्डेसन, डिमेन्सिया फाउन्डेसन, स्विडिश रिसर्च काउन्सिल लगायत संस्थाहरूले आर्थिक सहयोग गरेका छन्। अनुसन्धानकर्ताहरूले कुनै स्वार्थगत द्वन्द्व नभएको बताएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!