बारा र पर्सा जिल्लामा हैजा विरुद्धको खोप अभियान सुरु

काठमाडौँ – पर्सा र बारा जिल्लामा आइतबार (असोज २६ गते) देखि हैजा विरुद्धको खोप अभियान सुरु हुँदैछ। अभियान अन्तर्गत पर्सा जिल्ला भर र बाराका छ स्थानीय तहमा एक वर्ष माथिका सबै व्यक्तिलाई खोप दिइनेछ।
स्वास्थ्य सेवा विभागका अनुसार दुवै जिल्लामा गरी १० लाख १८ हजार १०० मात्रा इयूभिकोल–एस (Euvichol-S) खोप प्रयोग गरिनेछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा प्रमाणित यो खोप औषधि व्यवस्था विभागमा दर्ता भएको छ र यो थोपा औषधिका रूपमा खुवाइन्छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक प्रसाद बाराकोटीका अनुसार पर्सा र बारामा अहिले पनि दैनिक १०–१२ जना हैजाका बिरामी भेटि इरहेका छन्। संक्रमण नियन्त्रणका लागि खोप अभियान सुरु गर्न लागिएको हो।
विश्व भर हैजा विरुद्धको खोप झन्डै ३५ वर्षदेखि प्रयोग हुँदै आएको छ। नेपालमा यस अघि कपिलवस्तु र काठमाडौंमा स्थानीय स्तरमा देखिएको हैजा नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको थियो।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार नेपालमा हैजा विरुद्धको खोपको प्रभावकारिता करिब ८२ प्रतिशत देखिएको छ। अघिल्ला अभियानमा खोप लगाएको दुई साता पछि ८२ प्रतिशत व्यक्तिमा हैजा प्रतिरोधात्मक क्षमता देखिएको थियो।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ ६ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका -१२, मुरली टोलबाट सुरु भएको हैजा प्रकोपबाट हाल सम्म पर्सा र बारा जिल्लामा गरी १,६८५ जना प्रयोगशाला प्रमाणित संक्रमित फेला परेका छन्।
अभियान परिवार कल्याण महाशाखाको नेतृत्वमा डब्लुएचओ र युनिसेफको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। यो अभियान असोज देखि कार्तिक महिना भित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा असोज २६ गतेदेखि खोप अभियान सुरु हुनेछ। बारा जिल्लामा भने छ स्थानीय तह, कलैया उप महानगरपालिका, जितपुर – सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा असोज २९ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ।
प्रतिक्रिया दिनुहोस