अनुसन्धान
किशोरमा बढ्दो स्क्रिन टाइम, हड्डी र मांसपेशी सम्बन्धी समस्या बढ्दै: एम्सको अध्ययन

नयाँ दिल्ली (ब्युरो)– आधुनिक जीवनशैली र बढ्दो स्क्रिन टाइमका कारण किशोरहरूमा मांसपेशी तथा हड्डी सम्बन्धी समस्या तीव्र गतिमा बढिरहेको एक अध्ययनले देखाएको छ। शारीरिक गतिविधिको कमी र लामो समयसम्म कुर्सीमा बस्ने बानीले उनीहरूमा पोस्चर सम्बन्धी विकारहरू देखा पर्न थालेका छन्।
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा गरेको दुई वर्षे अध्ययनमा परम्परागत बानीहरू जस्तै गोडा मोडेर बस्नु (ओत लागेर बस्नु ), भुइँमा बसेर खानु वा नाङ्गो खुट्टा हिँड्ने जस्ता अभ्यासहरू हराउँदै गएको र त्यसको परिणाम स्वरूप शरीरको लचिलोपन कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ।
अध्ययनका क्रममा एम्सले अक्टोबर २०२३ देखि दिल्लीका दुई निजी विद्यालयका १५ देखि १८ वर्ष उमेरका ३८० विद्यार्थीलाई समेटेर उनीहरूको दैनिकी, बसाइँको ढंग र स्वास्थ्यको गहिरो मूल्याङ्कन गरेको थियो। परिणाममा धेरै किशोरहरूमा अगाडि झुकेर बस्ने, घाँटी तथा काँध दुख्ने, ढाड दुख्ने, खुट्टाको समस्या र ह्यामस्ट्रिङ कठोरता जस्ता लक्षणहरू व्यापक रहेको पाइयो।
समस्या ग्रस्त किशोरहरूलाई १२ हप्ता सम्म फिजियोथेरापी दिइएको र त्यस पछि २४ हप्ता सम्म निगरानी गरिएको थियो। नतिजामा उनीहरूको मांसपेशी तथा हड्डी सम्बन्धी समस्या मात्र घटेन, पोस्चरमा पनि उल्लेख्य सुधार देखियो।
विशेषज्ञहरूले फिजियोथेरापीलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइमा, यसले खेलकुदका क्रममा उचित तालिम र चोट पटक बाट बच्न सहयोग गर्नेछ। साथै, किशोरहरूमा जीवन भरका लागि स्वस्थ बानी बसाल्न मद्दत पुग्नेछ।
एम्सका विज्ञहरूका अनुसार, नियमित स्ट्रेचिङ, फर्शमा बस्ने वा खेलपूर्व गतिविधिहरूले शरीरलाई लचिलो राख्छन्। तर आजको जीवनशैलीले ती अभ्यासलाई पछाडि पारेकाले स्वास्थ्यमा समस्या देखिएको हो।
यस अध्ययनले देखाएको छ कि फिजियोथेरापी केवल उपचारका लागि मात्र नभई दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि पनि आवश्यक छ।
प्रतिक्रिया दिनुहोस