अनुसन्धान
सेतो चामल र पिठोले बढाउँदै मधुमेह र मोटोपनाको जोखिम :इंडियन काउंसिल अफ मेडिकल रिसर्चको अध्ययन

नयाँ दिल्ली (ब्युरो) – इंडियन काउंसिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले गरेको हाल सालैको अध्ययनले भारतमा बढ्दो मधुमेह र मोटोपनाको प्रमुख कारण खानपानको बानीसँग जोडिएको देखाएको छ। विशेष गरी सेतो चामल र मसिनो रुपमा पिसिएको पिठो जस्ता कम गुणस्तरका कार्बोहाइड्रेट बढी सेवन गर्ने प्रवृत्तिले समस्या गहिरिँदै गएको अध्ययनमा प्रष्ट भएको छ।
कार्बोहाइड्रेटबाट बढी क्यालोरी
यो अध्ययन नेचर मेडिसिनमा प्रकाशित भएको हो👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले देखाउँछ कि औसत भारतीय वयस्कले दैनिक क्यालोरीको करिब ६२% कार्बोहाइड्रेटबाट पाउँछन्, जुन विश्वकै उच्च दर मध्ये एक हो। भारतको दक्षिण पूर्व र पूर्वोत्तर क्षेत्रमा चामल बढी खाइन्छ भने उत्तर र मध्य क्षेत्रमा गहुँ प्रमुख आहार हो।
१२ लाख भन्दा बढीको सर्वेक्षण
मद्रास डायबिटिज रिसर्च फाउन्डेसन (एमडीआरफ) को सहकार्यमा गरिएको यो अध्ययनमा ३६ वटा राज्यका १ लाख २१ हजार भन्दा बढी वयस्कलाई समेटिएको थियो। यसले उच्च कार्बोहाइड्रेट युक्त आहार, विशेष गरी सेतो चामल, पिसिएको गहुँ र चिनी जन्य पदार्थले डायबिटिज, प्रिडायबिटिज र मोटोपनाको जोखिम बढाउने प्रमाण दिएको छ।
प्रोटिन सेवनको सिफारिस
विशेषज्ञहरूका अनुसार कार्बोहाइड्रेटको साटो थोरै मात्र (करिब ५%) प्रोटिन स्रोत जस्तै दाल, सोयाबिन वा दूध जन्य पदार्थ अपनाउँदा मधुमेहको जोखिम उल्लेखनीय रूपमा घट्छ। तर कार्बोहाइड्रेट घटाएर रातो मासु वा बढी बोसो (तेल घिउ) लिँदा त्यति फाइदा नहुने बताइएको छ।
मात्र चामलबाट गहुँतिर बदल्नु पर्याप्त छैन
अध्ययनका प्रमुख लेखक डा. आर.एम. अन्जनाका अनुसार केवल सेतो चामलबाट गहुँ वा कोदो तिर सर्नु मात्र पर्याप्त हुँदैन। जब सम्म कुल कार्बोहाइड्रेट सेवन कम गरिँदैन र त्यसको सट्टा वनस्पति वा डेयरी प्रोटिन बढाइँदैन, स्वास्थ्यमा ठोस सुधार आउँदैन।
नीति र जनचेतना आवश्यक
वरिष्ठ वैज्ञानिक सुधा र डा. शिल्पा भूपतिराजूले उच्च कार्बोहाइड्रेट र चिल्लो सेवनलाई नियन्त्रण गर्न सरकारको नीति, स्वास्थ्य अभियान र जनचेतना कार्यक्रम अपरिहार्य भएको बताएका छन्। उनीहरूको भनाइमा, दाल, दूध, फलफूल र प्रोटिन युक्त आहारलाई प्रोत्साहन गर्न सकिए देशभर स्वास्थ्यमा ठूलो सुधार आउनेछ।
अध्ययनले यो पनि देखाएको छ कि कोदो जस्ता पोषक अनाज मुख्यत: कर्नाटक, गुजरात र महाराष्ट्र मै बढी प्रयोग हुन्छन्। त्यहाँका बासिन्दाले रागी, ज्वार र कोदो सेवन गर्ने भएकाले उनीहरूको स्वास्थ्य अन्यत्रको तुलनामा लाभदायी देखिएको छ।
प्रतिक्रिया दिनुहोस