अनुसन्धान
मुटुरोग भएकी महिलामा गर्भकालीन मधुमेहको जोखिम बढी

हृदय रोग भएको महिलामा मध्य उमेरमा गर्भकालीन मधुमेह (जेस्टेसनल डाइबिटिज) र कोरोनरी आर्टरी क्याल्सियम (सिएसी) बन्ने सम्भावना उच्च हुने नयाँ अध्ययनले देखाएको छ।
कोरोनरी आर्टरी क्याल्सियम भन्नाले हृदयका धमनीको भित्तामा क्याल्सियम जम्नु हो, जुन हृदय रोगको महत्त्वपूर्ण संकेत मानिन्छ।
जामा कार्डियोलोजीमा प्रकाशित अनुसन्धानले सन १९८५ देखि २०१० बीच संकलित तथ्याङ्कको आधारमा विश्लेषण गरेको हो। 👉जामा कार्डियोलोजीमा प्रकाशित यो अध्ययन पढ्नलाई यहाँ क्लिक गर्नुस् । अध्ययनमा सहभागी १,०५२ महिलाहरूको औसत उमेर २८.६ वर्ष थियो। ती मध्ये ४८ प्रतिशतले आफूलाई ब्ल्याक र ५२ प्रतिशतले ह्वाइट भनेर पहिचान गरेका थिए।
उनीहरू सबैले कम्तीमा एक पटक सन्तान जन्माइ सकेका थिए र गर्भधारण अघि मधुमेह नभएको अवस्था थियो।
अध्ययनका प्रमुख लेखिका नताली क्यामरनले जीवनको प्रारम्भिक चरणमै हृदय स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार गर्भावस्था सम्बन्धी इतिहास लिनु, आहार र शारीरिक क्रियाकलाप बारे जानकारी राख्नु र हृदय रोगसँग सम्बन्धित जोखिम कारकहरूको परीक्षण गर्नु जरुरी हुन्छ। यसरी मात्रै दीर्घकालीन रूपमा महिलाको हृदय स्वास्थ्य सुदृढ बनाउन सकिन्छ।
नतिजामा देखिएको छ कि गर्भधारणअघि कमजोर हृदय स्वास्थ्य भएकी महिलामा: गर्भावस्थामा मधुमेह (गर्भकालीन मधुमेह) हुने सम्भावना बढी थियो – ८.८% महिलामा देखियो, जबकि राम्रो हृदय स्वास्थ्य भएकामा ६.३% मात्र।
यस्तै दीर्घकालमा धमनीमा क्याल्सियम जम्ने (कोरोनरी आर्टरी क्याल्सियम) समस्या पनि बढी थियो, २८.२% महिलामा, जबकि राम्रो हृदय स्वास्थ्य भएकामा १९.२% मात्र।
अध्ययनले अझ देखाएको छ कि गर्भकालीन मधुमेहले हृदय रोगसँग सम्बन्धित धमनीमा क्याल्सियम जम्ने समस्यामा करिब ६% योगदान पुर्याएको छ।
अनुसन्धानले देखाएको छ कि गर्भधारण अघि कमजोर हृदय स्वास्थ्य भएका महिलामा गर्भकालीन मधुमेहको सम्भावना अन्य महिला भन्दा बढी हुन्छ। साथै, प्रतिकूल गर्भावस्था परिणाम भोग्ने महिलाहरूका लागि प्रसव पश्चात प्राथमिक स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको निष्कर्ष पनि निकालिएको छ।
प्रतिक्रिया दिनुहोस