अनुसन्धान
उपचारमा प्रयोग हुने ‘कैथेटर’ बाट फैलिँदै खतरनाक रक्त संक्रमण, एम्सका चिकित्सकहरूको चेतावनी

नयाँ दिल्ली (ब्युरो)– अस्पतालमा उपचारका क्रममा प्रयोग हुने ‘कैथेटर’ नामक नली मार्फत गम्भीर रक्त संक्रमण (ब्लडस्ट्रीम इन्फेक्सन) फैलिएको एक नयाँ अध्ययनले देखाएको छ।
नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का चिकित्सकहरूले यसलाई गम्भीर स्वास्थ्य चुनौतीका रूपमा औंल्याएका छन्।
कैथेटर के हो ?
कैथेटर एक प्रकारको पातलो नली हो, जुन बिरामीको नस वा शरीरका अन्य भागमा राखिन्छ। यस मार्फत बिरामीलाई औषधि, पोषण दिन, रक्त निकाल्न वा पिसाब बाहिर निकाल्न सहयोग लिइन्छ। तर यसै नलीबाट खतरनाक कीटाणु शरीरमा प्रवेश गरी ब्लडस्ट्रीम इन्फेक्सन फैलिरहेको अध्ययनमा देखाइएको छ।
एम्सको अध्ययन
‘द ल्यान्सेट ग्लोबल हेल्थ’ जर्नलमा प्रकाशित एम्समा गरिएको यो अध्ययन पढ्न यहाँ क्लिक गर्नुस्। उक्त अध्ययन अनुसार, भारत भरका ५४ अस्पतालका २०० आईसीयू बाट सन् २०१७ देखि २०२४ सम्मको तथ्यांक संकलन गरिएको थियो। यस अवधिमा ८,६२९ बिरामीमा ब्लडस्ट्रीम इन्फेक्सन (सिएलएबिएसआई) को पुष्टि भएको छ। तथ्यांक अनुसार, हरेक १,००० सेन्ट्रल लाइन-डेमा औसत ८.८३ बिरामीमा संक्रमण भएको पाइयो।
कोरोना महामारीमा बढी केस
सबै भन्दा बढी संक्रमणका घटना कोरोना महामारीको समय (सन २०२०–२१) मा देखिएका थिए । त्यति बेला अस्पतालमा बिरामीहरूको चाप अत्यधिक थियो र स्वास्थ्यकर्मीहरूको पनि कमी रहेकोले संक्रमण दर बढेको ठहरिएको छ।
कहाँ कति संक्रमण देखिए ?
- वयस्क आईसीयूमा संक्रमण दर ८.६८%
- बालबालिका आईसीयूमा ६.७१%
- नवजात शिशु (नवजात आईसीयू) मा भने सबैभन्दा बढी १३.८६%
यसले देखाउँछ कि नवजात शिशुहरूमा सेंट्रल लाइन राख्दा संक्रमणको सम्भावना झन् बढी हुन्छ।
मुख्य रोगाणु
- १० हजार भन्दा बढी रोगजन्य जीव पत्ता लाग्दा करिब ९०% ब्याक्टेरिया र १०% फङ्गस रहेका थिए।
- सबैभन्दा बढी भेटिएका ब्याक्टेरिया: क्लेब्सिएला निमोनिया (२२.८%) र एसिनेटोब्याक्टर बाउमानी (२०.४%)
औषधि प्रतिरोध परीक्षण गरिएका नमुना मध्ये
- एसिनेटोब्याक्टर बाउमानी को ८७%
- क्लेब्सिएला निमोनिया को ७८%
कार्बापेनेम नामक शक्तिशाली एन्टिबायोटिक समेत प्रतिरोधी भएको भेटियो। यो तथ्याङ्कले आईसीयूमा संक्रमण नियन्त्रणलाई अझ कडाइ गर्नुपर्ने देखाउँछ, नत्र उपचार कठिन बन्दै जाने खतरा छ।
प्रमुख कारण
अध्ययनमा कैथेटर मार्फत हुने संक्रमणका प्रमुख कारणमा आईसीयूमा अत्यधिक भीड भाड, सरसफाइ को अभाव, कैथेटर प्रयोगका बेला आवश्यक सावधानी न अपनाउनु मुख्य रूपमा उल्लेख गरिएको छ। यसले बिरामीलाई लामो समय सम्म अस्पतालमा राख्नु पर्ने हुन्छ र उपचार खर्च पनि बढाउँछ।
रोकथामका उपाय
विशेषज्ञहरूका अनुसार, यस्तो संक्रमणबाट जोगिन कैथेटर प्रयोग गर्दा सावधानीपूर्वक निर्णय गर्नु पर्ने, स्वास्थ्यकर्मीलाई पर्याप्त तालिम दिनु पर्ने र अस्पतालमा संक्रमण नियन्त्रणका कडा मापदण्ड लागू गर्नुपर्ने आवश्यकता छ।
प्रतिक्रिया दिनुहोस