अनुसन्धान

गर्भावस्थामा प्यारासिटामोल सेवन गर्दा शिशुमा विकारको सम्भावना


गर्भावस्थामा प्यारासिटामोल प्रयोग गर्दा नवजात शिशुमा स्नायु विकास सम्बन्धी समस्या देखिने सम्भावना बढी हुने एक नयाँ अनुसन्धानले देखाएको छ। अध्ययनका अनुसार यसले सन्तानमा अटिजम  र एडीएचडी (एटेन्सन डेफिसीट हाइपरएक्टीभीटी डिस्अर्ड) जस्ता विकारको जोखिम बढाउन सक्छ।

अमेरिकाको माउन्ट सिनाई स्थित इकान स्कूल अफ मेडिसिन का अनुसन्धानकर्ताहरूले विभिन्न देशका एक लाख भन्दा बढी सहभागी समेत भएका ४६ वटा प्रकाशित अध्ययनको विश्लेषण गरेका थिए। अनुसन्धानको निष्कर्ष बायोमेड सेन्ट्रल पत्रिकामा प्रकाशित गरिएको छ।

इकान स्कूल अफ मेडिसिनका जनसंख्या स्वास्थ्य विज्ञान तथा नीति, वातावरणीय चिकित्सा र जलवायु विज्ञान विभाग का सहायक प्राध्यापक डिडियर प्रादाले भने, ‘उच्च गुणस्तरका अध्ययनहरूले गर्भावस्थामा एसिटामिनोफेन (प्यारासिटामोल) प्रयोग र अटिजम तथा एडीएचडी बढ्ने जोखिम बीच प्रत्यक्ष सम्बन्ध देखाएका छन्।’

शोधपत्रले एसिटामिनोफेन प्रयोग र यी विकार बीचको सम्बन्धलाई स्पष्ट पार्ने जैविक तन्त्रको पनि अध्ययन गरेको छ। अनुसन्धान अनुसार, प्यारासिटामोल ‘प्लेसेंटल’ बाधा पार गरेर भ्रूणको मस्तिष्क विकासमा असर पुर्‍याउन सक्छ। यसले अक्सिडेटिभ तनाव बढाउन, हर्मोनमा अवरोध ल्याउन र एपिजेनेटिक परिवर्तन गराउन सक्छ, जसले भ्रूणको स्नायु विकासमा नकारात्मक असर पार्छ।

केही अध्ययनहरूले गर्भावस्थामा प्यारासिटामोल सेवन गर्ने आमाबाट जन्मिएका बच्चामा प्रजनन र मूत्रजननांग सम्बन्धी समस्या देखिने सम्भावना समेत औंल्याएका छन्।

विशेषज्ञहरूका अनुसार हाल विश्व भर अटिजम र एडीएचडीका घटनामा वृद्धि दर बढि रहेको छ। त्यसैले यो निष्कर्षले स्वास्थ्य नीति निर्माण र उपचार सम्बन्धी निर्देशिका तय गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!