अनुसन्धान
उच्च रक्तचाप: एम्सको अध्ययनले देखायो तीन संयोजन औषधि समान रुपमा प्रभावकारी

नयाँ दिल्ली (ब्युरो) – भारतको अल इन्डिया ईन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्ली, सेंटर फर क्रोनिक डिजिज कन्ट्रोल (सिसिडिसी) र इम्पेरियल कलेज लण्डनको सहकार्यमा गरिएको एक व्यापक अध्ययनले उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने तीन प्रकारका औषधि संयोजनलाई परीक्षण गरी, तिनीहरू समान रूपमा प्रभावकारी र सुरक्षित रहेको पुष्टि गरेको छ। अध्ययनको निष्कर्ष नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको छ।
३० देखि ७९ वर्ष उमेरका १,९८१ जना भारतीयलाई सहभागी गराइएको यस अध्ययनमा औषधि नखाएका वा एक औषधिमा मात्र रहेका बिरामीलाई तीन समूहमा विभाजन गरियो। प्रत्येक समूहलाई एम्लोडिपिन + पेरिन्डोप्रिल, एम्लोडिपिन + इन्डापामाइड र पेरिन्डोप्रिल + इन्डापामाइड गरी तीन किसिमका संयोजन औषधिहरू दिइएको थियो ।
अध्ययनले दक्षिण एशियाली (विशेष गरी भारतीय) जनसंख्यामा उच्च रक्तचाप नियन्त्रणका लागि कुन संयोजन सबै भन्दा उपयुक्त हुन्छ भन्ने विषयमा अत्यावश्यक प्रमाण दिएको छ।
६ महिनामा उल्लेखनीय सुधार
अध्ययनको निष्कर्षमा उल्लेख छ कि तीनै संयोजन औषधिहरूले ६ महिना भित्र बिरामीको रक्तचापमा समान रूपमा प्रभावकारी गिरावट ल्याए। यस अन्तर्गत २४ घण्टे मापनमा औसतमा १४/८ एमएमएचजी गिरावट, क्लिनिक मापनमा झण्डै ३०/१४ एमएमएचजी गिरावट देखियो ।
यो अध्ययनले देखाएको छ कि उच्च रक्तचाप नियन्त्रणका लागि एम्लोडिपिन, पेरिन्डोप्रिल र इन्डापामाइडका संयोजनमा बनेका दैनिक गोलीहरू दक्षिण एशियाली समुदायमा सुरक्षित, प्रभावकारी र दीर्घकालीन समाधान बन्न सक्छन्।
अध्ययन अनुसारले एम्लोडिपिन–पेरिन्डोप्रिल, पेरिन्डोप्रिल–इन्डापामाइड र एम्लोडिपिन–इन्डापामाइड, यी सबै संयोजन औषधिहरू उच्च रक्तचाप घटाउनेमा एक अर्कासँग प्रतिस्पर्धी नभई समान रुपले प्रभावकारी र सुरक्षित छन्।
७०% बिरामीमा रक्तचाप नियन्त्रण
एम्स दिल्लीका कार्डियोलोजी विभागका प्रा. डा. अंबुज रॉयका अनुसार, ‘झण्डै ७०% बिरामीमा रक्तचाप १४०/९० एमएमएचजी भन्दा कममा नियन्त्रणमा आयो, जुन हालको राष्ट्रिय औसतको तुलनामा निकै ठूलो सुधार हो।’ उनका अनुसार, यी गोलिहरू सुरक्षित, प्रयोगमा सहज र सस्तो विकल्प पनि हुन्।
एक गोली, दुई औषधि: सजिलो उपाय
सिसीडीसी का कार्यकारी निर्देशक डा. दोराईराज प्रभाकरनका अनुसार, ‘दुई औषधिको संयोजनमा बनेको एउटा दैनिक गोली दक्षिण एशियाली बिरामीहरूका लागि रक्तचाप नियन्त्रणको सरल र प्रभावकारी उपाय बन्न सक्छ।’
भारतमा उच्च रक्तचापको गम्भीर स्थिति
भारतमा मात्र ३० करोड भन्दा बढी मानिस उच्च रक्तचापबाट प्रभावित छन्। समयमै नियन्त्रण नभए हृदयघात, मस्तिष्कघात र मिर्गौला फेल जस्ता गम्भीर अवस्था आउन सक्छ।
नयाँ अध्ययन अनुसार, ७०% बिरामीहरूमा लक्षित रक्तचाप स्तर (१४०/९० एमएमएचजी भन्दा कम) हासिल भयो, जुन हालको औसत दर भन्दा ५ गुणा बढी हो। उल्लेखनीय कुरा के छ भने, ३% भन्दा कम बिरामीले मात्र उपचार बन्द गर्नुपर्ने गम्भीर साइड इफेक्टको रिपोर्ट गरे।
नीति निर्माणमा सहयोग पुग्ने
डा. प्रभाकरन भन्छन्, ‘यी निष्कर्षहरूले चिकित्सक र नीति निर्माताहरूलाई नयाँ दिशा निर्देश बनाउन सहयोग पुर्याउने छन्। यदि यी संयोजन औषधिहरू लाई भारतको आवश्यक औषधि सूचीमा राखी प्राथमिक स्वास्थ्य केन्द्र सम्म पुर्याइयो भने, देश भर उच्च रक्तचाप नियन्त्रणमा उल्लेखनीय सुधार आउन सक्छ।’
प्रतिक्रिया दिनुहोस