अनुसन्धान
फाइजरको कोभिड खोपले आँखा स्वास्थ्यमा असर पार्न सक्ने अनुसन्धानको निष्कर्ष
	
                                            कोरोना महामारी विरुद्धको लडाइँमा खोप प्रभावकारी सुरक्षा कवच बन्यो। विश्व भर करोडौं मानिसहरूले कोभिड खोप लगाए। यद्यपि, हालै प्रकाशित एक नयाँ अध्ययनले फाइजरको कोभिड–१९ खोपले आँखाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखाएको छ।
अनुसन्धान के भन्छ?
तुर्कीका वैज्ञानिकहरूले गरेकाे अध्ययन प्रतिष्ठित जर्नल अप्थेल्मिक एपिडिमियोलोजी मा प्रकाशित भएको हो। वैज्ञानिकहरूले फाइजरको खोपका दुई मात्रा लगाएका ६४ जना व्यक्तिका आँखाको गहिरो परीक्षण गरे। खोप लगाउनु अघि र पछि आँखामा देखिएका परिवर्तनहरूको तुलना गरिएको थियो।
कस्ता देखिए परिवर्तनहरू?
अध्ययन अनुसार खोप लगाइ सके पछि आँखाको अगाडिको भाग, कर्निया, सामान्य भन्दा केही बाक्लो भएको पाइयो। सामान्य अवस्थामा कर्नियाको मोटाइ औसत ५२८ माइक्रोमिटर हुने गरेकामा खोप पछिको मापनमा यो ५४२ माइक्रोमिटर पुगेको थियो, जुन झन्डै २ प्रतिशतको वृद्धि हो।
त्यस्तै, कर्निया सफा राख्न मद्दत गर्ने एंडोथेलियल कोषहरूमा करिब ८ प्रतिशतले गिरावट देखियो। यी कोषहरू माहुरीका घार जस्तै संरचनामा देखिन्छन् र इनको संख्या २,५९७ बाट घटेर २,३७८ मा पुगेको पाइयो। यो परिवर्तन आँखा कोषहरूमा तनाव वा सुन्याईको संकेत हुन सक्छ।
कसका लागि चिन्ताको विषय?
वैज्ञानिकहरूका अनुसार सामान्य रूपमा स्वस्थ आँखामा यी परिवर्तनले तत्काल असर नदेखाए पनि, पहिले नै आँखा सम्बन्धी समस्या रहेका वा कर्निया ट्रान्सप्लान्ट गराएका व्यक्तिहरूका लागि यो दीर्घकालीन असर पार्न सक्ने सम्भावना छ। त्यसैले यस्तो समूहमा निगरानी आवश्यक देखिन्छ।
खोप लगाउन छाड्ने कि?
वैज्ञानिकहरूले खोप रोक्न सुझाव दिएका छैनन्। बरु, कमजोर दृष्टि वा आँखाको सर्जरी गराएकाहरूले खोप लगाए पछि आँखामा कुनै असामान्य लक्षण देखिए तत्काल विशेषज्ञ सँग परामर्श लिनुपर्ने बताएका छन्। उनीहरूको अनुमानमा केही परिवर्तनहरू अस्थायी पनि हुन सक्छन्।
अन्य साइड इफेक्टसँग तुलना
यो अनुसन्धानले एमआरएनए (mRNA) खोप (जस्तै फाइजर) का केही दुर्लभ असरहरू, जस्तै मायोकार्डाइटिस (मुटुको मांसपेशीमा सुन्याई) र पेरिकार्डाइटिस (मुटुको छेउको आवरणमा सुन्याई) – जस्ता पहिल्यै देखिएका विषयहरू सँग आँखा सम्बन्धी असरहरू पनि थपिएको संकेत गर्छ।
यस अनुसन्धानले देखाउँछ कि वैज्ञानिक अनुसन्धान निरन्तर प्रक्रिया हो। नयाँ खोप वा औषधिका सम्पूर्ण प्रभाव बुझ्न समय लाग्न सक्छ। त्यसैले यस्ता अध्ययनलाई गम्भीरतापूर्वक लिनु जरुरी भए पनि, अनावश्यक त्रास सिर्जना नगरी विशेषज्ञको सुझाव पालना गर्नु उपयुक्त हुन्छ।
यदि खोप लगाइसके पछि तपाईंको आँखामा धुंधलोपन, पीडा, असहजता वा दृष्टिमा परिवर्तन महसुस हुन्छ भने तुरुन्तै नेत्र चिकित्सकसँग सम्पर्क गर्नु आवश्यक छ।

				
				
				
				
				
				
				
				
प्रतिक्रिया दिनुहोस