अनुसन्धान
बिहेपछि किन बढ्छ तौल? आइसीएमआर को अध्ययनले दियो उत्तर

काठमाडौं – विवाह पछि धेरै जोडीहरूमा तौल बढ्दै गएको देखिएको छ र यो अब केवल व्यक्तिगत स्वास्थ्यको मुद्दा मात्र नभई जीवन शैली सँग जोडिएको गम्भीर समस्या बनेको छ।
छिमेकी मुलुक भारतमा गरिएको हालैको अध्ययन अनुसार भारतमा करिब २७.४ प्रतिशत विवाहित जोडीहरू यस्ता छन्, जहाँ दुबै पति–पत्नी मोटोपन वा अधिक तौलको समस्या भोगिरहेका छन्। यो जुलाई महिनाको करेन्ट डेभलपमेन्ट इन न्युट्रिसन मा प्रकाशित छ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर), राष्ट्रिय क्यान्सर निवारण तथा अनुसन्धान संस्था, टेरी स्कूल अफ एडभान्स्ड स्टडिज र अन्य संस्थानका अनुसन्धानकर्ताहरूले यो अनुसन्धान गरेका थिए। अनुसन्धानकर्ताहरूले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस-५, सन् २०१९–२१) बाट प्राप्त भारतका ५२,७३७ विवाहित जोडीहरूको तथ्यांकको विश्लेषण गरेका थिए, जसका कारण यसलाई भारतको सबै भन्दा ठूलो अनुसन्धान मानिएको छ।
अध्ययन अनुसार टीभी हेर्ने, अखबार पढ्ने, प्रोसेस्ड फुडको सेवन, एकल (न्यूक्लियर) परिवारमा बस्ने जस्ता बानीहरू मोटोपनका मुख्य कारकका रूपमा देखिएका छन्। संयुक्त परिवारमा भने यस्ता समस्या तुलनात्मक रूपमा कम देखिएको आईसीएमआर को अध्ययन निष्कर्षमा उल्लेख छ।
समान बानीले समान मोटोपन
अध्ययन का अनुसार, दम्पतीहरूमा देखिएको मोटोपनको मुख्य कारण उनीहरूको साझा जीवनशैली हो । जस्तै खानपानको ढर्रा, व्यायामको कमी, लामो स्क्रिन टाइम, तनाव व्यवस्थापनको तरिका र अनियमित दैनिकी। अध्ययनले देखाउँछ कि अबको पुस्ता मुख्यतः एकल (न्यूक्लियर) परिवारमा बस्न थालेकाले सामाजिक नियन्त्रण घटेको छ, जसले यस्ता अस्वस्थ बानीहरूलाई बढावा दिएको छ।
शहरी क्षेत्रमै बढी समस्या
५२,७३७ विवाहित जोडीहरूको तथ्याङ्क मा आधारित यो अध्ययन अनुसार शहरी क्षेत्रमा ३८.४% जोडीहरू मा दुवै जना अधिक तौलका छन् भने ग्रामीण क्षेत्रमा यो दर २२.१% मात्र देखिएको छ। सबै भन्दा धनी वर्गमा त यो संख्या झनै भयावह रूपमा ४७.६% पुगेको छ । जसले देखाउँछ कि सम्पन्नता र मोटोपन सँगसँगै बढिरहेका छन्।
युवा माझ बढ्दो जोखिम
३० वर्ष मुनिका युवा जोडीहरूमा मोटोपनको समस्या झनै चिन्ताजनक देखिएको छ। विशेष गरी केरल (४२.८%) र गोवा (३७%) जस्ता राज्यहरू मा युवावस्था मै मोटोपन देखिन थालेको छ, जसले मधुमेह, मुटु रोग र अन्य गम्भीर रोगहरू निम्त्याउने खतरा बढाएको अध्ययनले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस