अनुसन्धान
महिलामा १०० गुणा सम्म बढ्यो समय अगाबै महिनावारी बन्द हुने समस्या, प्लास्टिक र तनाव प्रमुख कारण

नयाँ दिल्ली (ब्युरो ) – भारतीय महिलामा ‘प्रीमेच्योर मेनोपज’ अर्थात् ४० वर्ष भन्दा अगाडि नै महिनावारी बन्द हुने समस्या अति तीव्र गतिमा बढेको पाइएको छ।
करिब १० वर्ष अघि सम्म १० हजार महिला मध्ये एक जनामा मात्र देखिने यो समस्या अहिले १०० महिला मध्ये एक जना सम्ममा देखिन थालेको छ।
इन्डियन मेनोपज सोसाइटीका तथ्यांक अनुसार प्लास्टिक प्रदूषण, अत्यधिक सौन्दर्य प्रसाधनको प्रयोग, प्रशोधित (प्रोसेस्ड) खाना, अत्यधिक तनाव तथा भोगविलासपूर्ण जीवनशैलीका कारण महिलामा यो समस्या भयावह बन्दै गएको हो।
विशेषज्ञहरूका अनुसार सामान्यतया भारतीय महिलामा औसत ४७ वर्षको उमेरमा महिनावारी बन्द हुने गर्छ। तर हालका वर्षहरूमा ४० वर्ष नपुग्दै अण्डाशयले अण्डा उत्पादन गर्न छोड्ने, जसका कारण महिनावारी बन्द हुने, हड्डी र मांसपेशी कमजोर हुने, मुटु रोगको जोखिम बढ्ने जस्ता समस्या देखा पर्न थालेका छन्।
मस्तिष्कको विकासमा असर, भविष्यमा गम्भीर समस्या
इन्डियन मेनोपज सोसाइटीकी प्रमुख सचिव डा. रागिनी अग्रवालले भनिन्, ‘प्लास्टिक र रसायन जन्य चीजहरूको अत्यधिक प्रयोगले न केवल महिलामा प्रजनन प्रणालीमा असर पुर्याउँछ, यसले गर्भमा हुर्कँदै गरेका बच्चाको मस्तिष्कको विकासमा समेत बाधा पुर्याउँछ।’ त्यसैले यस्ता कारणले महिलामा महिनावारी चाँडै सुरु हुने र चाँडै अन्त्य हुने समस्या समेत देखा परेको उनले बताइन्।
३५ वर्षपछि तयारी सुरु गर्नुपर्ने सुझाव
डा. वन्दना तलवार र डा. पुनम नारङले ३५ वर्ष पार गरेपछि मेनोपजका लागि मानसिक र शारीरिक रूपमा तयारी गर्न आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार ४५ देखि ४८ वर्षको बीचमा अधिकांश महिलामा महिनावारी बन्द हुने अवस्था आउँछ। त्यस पछि महिला अझै २०–३० वर्षको आयु बिताउँछिन्, जसमा शरीरको विशेष हेरचाह आवश्यक हुन्छ।
विशेष मेनोपज क्लिनिकको आवश्यकता
महिलाको जीवनको एक चरणमा सबैलाई मेनोपजको सामना गर्नुपर्ने भएकाले प्रत्येक अस्पतालमा विशेष ‘मेनोपज क्लिनिक’ स्थापना गर्नुपर्ने माग उठेको छ। चिकित्सकहरूले भोलिका दिनमा यो समस्या थप जटिल बन्दै जाने बताएका छन्।
हिचकिचाहट हटाए समस्या समाधान सम्भव
एनडीएमसी कनभेन्सन सेन्टरमा डा. राम मनोहर लोहिया अस्पतालको स्त्री तथा प्रसूति विभागद्वारा आयोजित सीएमई कार्यक्रममा अस्पतालका निर्देशक डा. अशोक कुमारले महिलालाई हिचकिचाहट हटाएर समयमै स्वास्थ्य परीक्षण गराउन र खुला रूपमा कुरा गर्न सुझाव दिए। ‘महिलाले यदि यसबारे खुला रूपमा कुरा गर्न थाल्छन् भने मानसिक र शारीरिक समस्या न्युनिकरण गर्न सकिन्छ,’ उनले भने।
अस्पतालमा अहिले ‘मिड-लाइफ म्यानेजमेन्ट’ तथा मेनोपज सम्बन्धी विशेष क्लिनिक सञ्चालनमा रहेको र नियमित जाँच तथा उपचार प्रदान गरिने जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस