अनुसनधान
रातको समयमा मुटुको अनियमित धड्कन र स्ट्रोक बीचको सम्बन्ध

काठमाडौँ – वैज्ञानिकहरूले रातको समयमा मुटुको धड्कन र भावी स्वास्थ्य समस्याहरू बीचको गहिरो सम्बन्ध पत्ता लगाएका छन । यो अनुसन्धान उनीहरूका लागि पनि महत्त्वपूर्ण छ, जसमा निद्रा सम्बन्धी कुनै स्पष्ट समस्या नदेखिएको भए पनि दीर्घकालीन असर देखिन सक्छ।
सन २०२५ को युरोपियन एकेडेमी अफ न्यूरोलोजी (इएएन) को कांग्रेस (हेलसिंकी, फिनल्याण्ड) मा प्रस्तुत गरिएको यो नयाँ अनुसन्धानले रातको समयमा मुटुको धड्कन र भविष्यको स्वास्थ्य अवस्था बीचको उल्लेखनीय सम्बन्ध पत्ता लगाएको छ । स्पष्ट निद्रा समस्या नभएका मानिसहरूमा पनि।
स्विजरल्यान्डको बर्न विश्वविद्यालयका अनुसन्धानकर्ता हरूले १३ वर्ष सम्म ४ हजार १ सय ७० व्यक्तिको अवलोकन गरे पछि यस्तो नतिजा निकालेका हुन्।
अध्ययनमा निद्राको क्रममा मुटुको धड्कनमा देखिने भिन्नता, जसलाई हार्ट रेट भेरिएबिलिटी (एचआरभी) भनिन्छ, ले स्ट्रोक, मानसिक अवसाद (डिप्रेसन) र बौद्धिक समस्या जस्ता स्वास्थ्य अवस्था पहिल्यै सूचित गर्न सक्ने देखाइएको छ।
एचआरभी भन्नाले हृदयको दुई धड्कन बीचको समय अन्तरालमा देखिने उतार चढावलाई जनाइन्छ। शरीरले शारीरिक तथा मानसिक तनावमा दिने प्रतिक्रिया स्वरूप यसमा परिवर्तन आउने गर्छ।
दिनको समयमा शारीरिक गतिविधि बढी हुने भएकाले एचआरभी सामान्यतः उच्च हुने गर्छ। तर रातको समयमा, विशेष गरी गहिरो निद्राको क्रममा, एचआरभी घट्ने गर्छ । जुन शरीर विश्राम र मर्मत अवस्थामा रहेको संकेत हो।
अनुसन्धान कर्ताहरूले केही एचआरभी ढाँचाहरू भावी स्वास्थ्य जोखिम सँग सम्बन्धित रहेको देखे। अध्ययनका अनुसार, स्ट्रोक हुने व्यक्तिहरूमा निद्राको समयमा असमान्य रूपमा उच्च र अनियमित धड्कन देखिएको थियो।
डिप्रेसन विकास गर्नेहरूमा एचआरभी सामान्य भन्दा निकै कम थियो। त्यस्तै, एचआरभी अत्यधिक हुने तर ढाँचा असामान्य देखिएका व्यक्तिहरूमा मेटाबोलिज्म सँग सम्बन्धित समस्या विकसित हुने सम्भावना देखियो
अनुसन्धानकर्ताहरूका अनुसार एचआरभी जाँचबाट स्वास्थ्य जोखिमको प्रारम्भिक मूल्याङ्कन गर्न सकिने सम्भावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस