अनुसन्धान
अब बिना बायोप्सी पनि क्यान्सर पत्ता लाग्ने, वैज्ञानिकले विकास गरे नयाँ प्रविधि

क्यान्सर, अल्जाइमर्स जस्ता जटिल रोगको पहिचानका लागि अब पीडा दायक बायोप्सीको आवश्यकता नपर्ने सम्भावना देखिएको छ। वैज्ञानिकहरूले यस्ता रोग पहिचान गर्न सकिने नयाँ प्रविधिको विकास गरेका छन्, जसले बिना चोटपटक सूक्ष्म जानकारी सङ्कलन गर्न सक्छ। यो अध्ययन वैज्ञानिक पत्रिका ‘नेचर न्यानोटेक्नोलोजी’ मा प्रकाशित भएको छ ।
बायोप्सीको विकल्पका रूपमा न्यानोनीडल्स युक्त प्याच
विश्वभर अल्जाइमर्स र क्यान्सर जस्ता रोगहरू पत्ता लगाउन बायोप्सी प्रयोग गरिन्छ। तर, बायोप्सी प्रक्रियाले दुख्ने र पीडादायी हुने भएकाले धेरै बिरामीहरू यसबाट डराउँछन्। नतिजा स्वरूप समयमै उपचार नहुँदा रोग जटिल बन्ने खतरा रहन्छ।
तर, अब बेलायतको किंग्स कलेज लन्डनका वैज्ञानिकहरूले विकसित गरेको विशेष प्याचले यो समस्या समाधान गर्न सक्छ। मानव कपाल भन्दा पनि पातलो लाखौँ न्यानो नीडल्सले ढाकिएको यो प्याचले बिरामीको टिश्यु हटाउनै नपरी सूक्ष्म आणविक (मोलिक्युलर) जानकारी सङ्कलन गर्न सक्छ। यो प्रविधि पीडारहित मात्रै नभई सुरक्षित पनि छ।
रोगको निगरानी र द्रुत निदान सम्भव
यो प्याच विशेषगरी मस्तिष्क क्यान्सर र अल्जाइमर्स जस्ता रोगहरूको रियल टाइम अनुगमनमा उपयोगी हुने वैज्ञानिकहरूले बताएका छन्।
पारम्परिक उपकरण—ब्यान्डेज, इन्डोस्कोप र कान्ट्याक्ट लेन्ससँग जोडिने यो प्याच एआई प्रविधिको सहायताले तुरुन्तै नतिजा दिन सक्छ। यसले डाक्टरलाई बिरामीको आवश्यकता अनुसार उपचार विधि र सर्जरीको निर्णय लिन सहज बनाउँछ।
१२ वर्षदेखि अनुसन्धानमा समर्पित वैज्ञानिक
यो अनुसन्धानको नेतृत्व गर्ने वैज्ञानिक डा. सिरो चियापिनोले १२ वर्ष देखि न्यानो नीडल्स प्रविधिमा काम गरिरहेका छन्। उनले भने, ‘यो हाम्रो अहिले सम्मकै सबैभन्दा उत्साहजनक उपलब्धि हो। यो प्रविधिले व्यक्तिगत उपचार (पर्सनलाइज्ड मेडिसिन) को ढोका खोल्नेछ।’
उक्त प्याच मस्तिष्क सर्जरीको क्रममा प्रयोग गरी शङ्कास्पद भागमा राख्दा २० मिनेट भित्र नतिजा प्राप्त गर्न सकिन्छ। यसले तत्काल रोगको पहिचान र आवश्यक तन्तु हटाउने निर्णय गर्न सहयोग गर्छ।
यो प्रविधिको सफल प्रयोगले भविष्यमा क्यान्सर जस्ता जटिल रोगहरूको निदान सजिलो, सुरक्षित र तीव्र बनाउने आशा गरिएको छ।
प्रतिक्रिया दिनुहोस