अनुसन्धान

धूमपानले दाँतमा दीर्घकालीन असर पार्न सक्छ, छाडे पछि पनि देखिन्छ प्रभाव


काठमाडौं – धूमपानले दाँतको संरचना तथा स्वास्थ्यमा स्थायी असर पार्ने नयाँ अध्ययनले देखाएको छ। यति मात्र होइन, धूमपान छाडि सके पछि पनि यसको प्रभाव दाँतमा देखिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

ब्रिटेनको नार्थम्ब्रिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दाँतमा पाइने सिमेन्टम नामक कठोर ऊतकको विस्तृत अध्ययन गरेका थिए। सिमेन्टम दाँतको जरालाई ढाक्ने ऊतक हो र यसले प्रत्येक वर्ष वृक्षको रिङ्ग जस्तै विशेष वलय (रिङ्ग) बनाउने गर्दछ। यिनै वलयको आधारमा धूमपानको असर पहिचान गरिएको हो।

यो अध्ययन प्लोस वन नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित भएको हो। अनुसन्धानकर्ताहरूले ८८ वटा दाँतहरूको विश्लेषण गर्दा ७० प्रतिशत पूर्व धूमपानकर्ताका दाँतमा र ३३ प्रतिशत हाल धूमपान गरिरहेकाहरू का दाँतमा धूमपानको असर देखिएको उल्लेख गरेका छन्। त्यसै गरी, धूमपान नगर्ने व्यक्तिहरूमध्ये मात्र ३ प्रतिशतमा यस्ता असर देखिएका थिए।

अनुसन्धान टोलीका सह–प्राध्यापक एडवर्ड श्वाल्बेले भने, ‘धूमपान गर्ने व्यक्तिको पहिचान दाँतको सिमेन्टमको अध्ययनबाट थाहा पाउन सकिन्छ। केही व्यक्तिहरूमा वार्षिक रूपमा बन्ने सिमेन्टम वलयहरू अवरुद्ध भएको पाइयो, र यी अवरोध प्रायः धूमपानसँग सम्बन्धित थिए।’

अनुसन्धान कर्ताहरूका अनुसार, धूमपान छाडिसकेका व्यक्तिहरूमा सिमेन्टम केही गहिरो देखिन्छ भने हालै सम्म धूमपान गरिरहेकाहरू मा यसको बनावटमा अवरोध भइ रहन्छ।

यसका साथै, सन् १७७६ देखि १८९० सम्मको अवधिका पुरातात्त्विक अवशेषहरूबाट प्राप्त १८ वटा दाँतको विश्लेषण गर्दा पनि धूमपानको स्पष्ट संकेत भेटिएको थियो। यसले केवल आधुनिक समयको लागि मात्र नभई, पुरातात्त्विक अनुसन्धान तथा ऐतिहासिक जीवन शैली बुझ्नका लागि समेत सहयोग पुग्ने अध्ययनमा उल्लेख गरिएको छ।

अनुसन्धान कर्ताहरूले निष्कर्ष निकालेका छन् कि दाँतको सिमेन्टम वलयहरूको अध्ययनले फोरेन्सिक अनुसन्धानमा नयाँ पद्धति र प्रमाण जुटाउने आधार दिन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!