सन २०२४: चिकित्सा क्षेत्रका पाँच ठूला सफलता र परिवर्तनहरू
![](https://ap-south-1.linodeobjects.com/nepalhealthpress/2024/12/2024-WhatsApp-Image-2024-12-26-at-21.49.28_75d63d7e.jpg)
सन २०२४ चिकित्सा विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल भएको वर्ष बनेको छ। आनुवंशिक बहिरो पनाको उपचारदेखि सुँगुरको मिर्गौला मनुष्यमा प्रत्यारोपण सम्मका नवीनतम प्रयासहरूले चिकित्सा क्षेत्रमा नयाँ दिशा तय गरेका छन् । यहाँ २०२४ का पाँच ठूला चिकित्सा सफलता बारे जानकारी प्रस्तुत छ ।
१. जिन थेरापीद्वारा बहिरा बालबालिकाको सुनाई पुनर्स्थापना
जनवरीमा द लान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले अनुवांशिक बहिरोपन भएका छ बालबालिकाको सुनाई जिन थेरापीद्वारा पुनर्स्थापना गरिएको देखायो। बोस्टन स्थित मास आइ एण्ड इयर अस्पतालले डिएफएनबी९ नामक अनुवांशिक बहिरोपन भएका बालबालिकामा यो थेरापी लागू गर्यो । यो उपचारमा खराब जीनलाई प्रतिस्थापन गर्न निष्क्रिय भाइरसको प्रयोग गरियो। २६ सातामा पाँच बालबालिकाको सुनाई पूर्ण रूपमा फर्किएको र उनीहरूले सामान्य संवाद गर्न थालेको अनुसन्धान कर्ताहरूले बताएका छन् । डा. झेङ–यी चेनका अनुसार यो थेरापीले अन्य अनुवांशिक बहिरोपनाको उपचारका लागि पनि आधार तयार गरेको छ।
२. पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण
मार्च मा म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले पहिलो पटक अनुवांशिक रूपले परिमार्जित सुँगुरको मिर्गौला मानव शरीरमा प्रत्यारोपण गर्यो। ६२ वर्षीय रिचर्ड स्लेम्यानको चार घण्टे शल्यक्रियामा सुँगुरको मिर्गौलालाई मानव शरीर सँग सफलतापूर्वक जोडिएको थियो। एमजीएच को अनुसार स्लेम्यान को निधन यो वर्ष मे महिनामा भयो। तर यसको कुनै प्रमाण छैन कि यो प्रत्यारोपणको परिणाम थियो । यो ठूलो सफलता ले अङ्ग अभावका कारण मिर्गौला प्रत्यारोपण कुर्ने लाखौं बिरामी लाइ ठूलो राहत दिने सम्भावना छ। यो उपचारले अङ्ग अभावको समस्यालाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
३. ल्युपसको कारण पत्ता लगाइयो
जुलाईमा नेचर जर्नलमा प्रकाशित अध्ययनले ल्युपसको कारण र यसको सम्भावित उपचार पत्ता लगाएको छ। ल्युपस एक अटो इम्युन रोग हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै स्वस्थ कोषिकाहरूलाई आक्रमण गर्छ। अनुसन्धानले ल्युपस भएका बिरामीमा टी–सेलको असन्तुलन देखाएको छ । यस अध्ययनले ल्युपस लगायत अन्य अटो इम्यून रोगहरूको उपचारका लागि नयाँ उपायको सम्भावना प्रस्तुत गरेको छ।
४. नयाँ स्किजोफ्रेनियाको औषधि
सेप्टेम्बरमा फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए ) ले कोबेनफाई नामक स्किजोफ्रेनिया उपचारका लागि नयाँ औषधिलाई स्वीकृति दियो। यो औषधि डोपामाइन प्रणालीलाई प्रत्यक्ष असर नगर्ने भएकाले बिरामीहरूमा नकारात्मक प्रभाव न्यून हुने चिकित्सकहरूले बताएका छन् । यो नयाँ औषधि तीन दशक यता विकसित गरिएको पहिलो नयाँ वर्गको उपचार हो, जसले स्किजोफ्रेनियाका लक्षणहरू प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्दछ।
५. पहिलो ओभर–द–काउन्टर कोभीड र फ्लू परीक्षण
अक्टोबरमा एफडीए ले पहिलो पटक कोभीड–१९ र फ्लूका लागि ओभर–द–काउन्टर संयोजन परीक्षणलाई स्वीकृति दियो। यो परीक्षणले बिना प्रेस्क्रिप्सन फार्मेसीमा खरिद गर्न सकिन्छ, जसले घरमै सजिलै परीक्षण गर्न सम्भव बनाएको छ।
यी ठूलो सफलता ले चिकित्सा क्षेत्रमा ठूलो क्रान्ति ल्याएका छन् । आनुवंशिक उपचार देखि अङ्ग प्रत्यारोपण सम्मका यी प्रयासहरूले लाखौँ बिरामीलाई नयाँ आशा र जीवनको नयाँ सम्भावना प्रदान गरेका छन्। सन २०२४ लाई चिकित्सा विज्ञानको क्षेत्रमा ऐतिहासिक वर्षका रूपमा सम्झिने छ ।
प्रतिक्रिया दिनुहोस