वर्षेनी ३० करोड फङ्गल संक्रमणको शिकार : ‘लुकेको महामारी’ विरुद्ध डब्ल्यूएचओको कडा कदम
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी उपेक्षा गरिएको र कम आँकलन गरिएको खतराका रूपमा रहेको फङ्गल (ढुसीजन्य) रोग र एन्टिफङ्गल प्रतिरोध (एन्टिफङ्गल रेजिस्टेन्स) सँग जुध्न नयाँ रणनीति सार्वजनिक गरेको छ।
विश्वभर हरेक वर्ष ३० करोड भन्दा बढी मानिसलाई प्रभावित पार्ने र उच्च मृत्युदरको कारण बनिरहेको यो अदृश्य महामारीको सामना गर्न डब्ल्यूएचओले इतिहास मै पहिलो पटक सदस्य राष्ट्रहरूका लागि एक ठोस व्यावहारिक मार्गचित्र (ब्लुप्रिन्ट) जारी गर्दै तत्काल कदम चाल्न आह्वान गरेको हो।
(डब्ल्यूएचओ) ले फङ्गल रोग र एन्टिफङ्गल प्रतिरोधको बढ्दो चुनौतीसँग जुध्न सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ ‘ब्लुप्रिन्ट फर स्ट्रेन्थेनिङ रेस्पोन्सेज टु फङ्गल डिजिज एन्ड एन्टिफङ्गल रेसिस्टेन्स’ सार्वजनिक गरेको छ। डब्ल्यूएचओले फङ्गल रोग र एन्टिफङ्गल प्रतिरोधलाई विश्व स्वास्थ्यका सबै भन्दा कम आँकलन गरिएका र उपेक्षित खतरा मध्ये एकका रूपमा वर्णन गरेको छ।
डब्ल्यूएचओका अनुसार विश्वभर हरेक वर्ष ३० करोड भन्दा बढी मानिस फङ्गल रोगबाट प्रभावित हुन्छन। यी रोगका कारण उच्च मृत्युदर, दीर्घकालीन स्वास्थ्य समस्या तथा स्वास्थ्य र उत्पादकत्वमा ठूलो क्षति पुग्ने गरेको छ। मानव, पशु र वनस्पति स्वास्थ्यमा एन्टिफङ्गल औषधिको व्यापक प्रयोग तथा वातावरणमा एन्टिफङ्गल रसायनको बढ्दो सम्पर्कका कारण एन्टिफङ्गल प्रतिरोध तीव्र रूपमा बढ्दै गएको संगठनले जनाएको छ।डब्ल्यूएचओले औषधिको प्रभावकारिता जोगाउन एन्टिफङ्गल औषधिको जिम्मेवार प्रयोग अपरिहार्य रहेको उल्लेख गरेको छ।
प्रतिवेदन अनुसार फङ्गल रोगले ठूलो मानवीय र आर्थिक भार सिर्जना गरे पनि अधिकांश देशका राष्ट्रिय स्वास्थ्य योजना, विश्वव्यापी रोगभारको मूल्याङ्कन, एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर), सार्वभौमिक स्वास्थ्य सेवा (यूएचसी) तथा ‘वन हेल्थ’’ रणनीतिमा यसले पर्याप्त प्राथमिकता पाउन सकेको छैन।
यही अवस्थालाई सुधार गर्न डब्ल्यूएचओले सार्वजनिक गरेको नयाँ ब्लुप्रिन्टले देशहरूलाई फङ्गल रोग र एन्टिफङ्गल प्रतिरोध विरुद्ध राष्ट्रिय तथा क्षेत्रीय स्तरमा प्रभावकारी प्रतिक्रिया सुदृढ गर्न व्यावहारिक मार्गदर्शन प्रदान गर्ने जनाएको छ। यो दस्तावेज डब्ल्यूएचओको फङ्गल प्राथमिक रोगजनक सूची, उपेक्षित उष्णकटिबन्धीय रोग, एचआईभी तथा एएमआरसम्बन्धी विद्यमान कार्यका आधारमा तयार गरिएको हो।
डब्ल्यूएचओको एन्टिमाइक्रोबियल रेजिस्टेन्स विभागका कार्यवाहक निर्देशक डा. जीन पियरे न्येमाजीले ७९औँ विश्व स्वास्थ्य सभाबाट अनुमोदित एएमआर सम्बन्धी अद्यावधिक विश्वव्यापी कार्ययोजनाले एन्टिफङ्गल प्रतिरोधलाई एएमआर चुनौतीको अभिन्न हिस्सा मानेको उल्लेख गर्दै अब यसलाई बेवास्ता गर्न नसकिने बताए। उनका अनुसार नयाँ ब्लुप्रिन्टले देशहरूलाई अगाडि बढ्न स्पष्ट र ठोस कार्यदिशा प्रदान गरेको छ।
यो ब्लुप्रिन्ट डब्ल्यूएचओका सबै क्षेत्रका क्लिनिकल माइकोलोजी, प्रयोगशाला परीक्षण, एन्टिफङ्गल औषधिको उचित प्रयोग, रोग निगरानी, नियामक नीति, सार्वजनिक स्वास्थ्य तथा बिरामी अधिकारका क्षेत्रमा कार्यरत १५० भन्दा बढी विज्ञसँगको परामर्श पछि तयार गरिएको हो। विशेषगरी सीमित स्रोत भएका देशहरूमा ज्ञान, निदान, उपचार, निगरानी, अनुसन्धान तथा दक्ष जनशक्तिमा रहेका कमजोरी सम्बोधन गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
ब्लुप्रिन्टले चार प्रमुख क्षेत्रमा हस्तक्षेपलाई प्राथमिकता दिएको छ। पहिलो, जनस्वास्थ्य र स्वास्थ्य प्रणाली सुदृढीकरण, जस अन्तर्गत जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मी तालिम, संक्रमण रोकथाम तथा एन्टिफङ्गल औषधिको उचित प्रयोगलाई प्रवर्द्धन गरिनेछ। दोस्रो, गुणस्तरीय एन्टिफङ्गल औषधि र निदान सेवामा समान पहुँच विस्तार गर्दै अनुसन्धान, नवप्रवर्तन तथा नियामक र वित्तीय संयन्त्र मार्फत नयाँ प्रविधिको विकासलाई प्रोत्साहन गरिनेछ। तेस्रो, प्रयोगशाला सञ्जाल, रोग निगरानी र प्रकोप तयारीलाई सुदृढ बनाइनेछ। चौथो, कृषि, वातावरण र सामाजिक पक्षसँग सम्बन्धित जोखिमलाई ‘वन हेल्थ’ अवधारणा मार्फत सम्बोधन गरिनेछ।
ब्लुप्रिन्टमा कार्यान्वयनका लागि स्पष्ट मार्गदर्शनका साथै १२ वटा प्राथमिक हस्तक्षेप क्षेत्र पनि समावेश गरिएको छ, जसले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा लगानी र कार्यक्रमको प्राथमिकता निर्धारण गरी मापनयोग्य उपलब्धि हासिल गर्न सहयोग गर्ने डब्ल्यूएचओले जनाएको छ।
ब्लुप्रिन्ट विकासको नेतृत्व गरेका डब्ल्यूएचओका प्राविधिक अधिकृत हातिम सातीले फङ्गल रोग र एन्टिफङ्गल प्रतिरोध अझै पनि धेरै देशका स्वास्थ्य योजना, एएमआर रणनीति र निगरानी प्रणालीमा पर्याप्त प्राथमिकतामा नपरेको उल्लेख गर्दै नयाँ ब्लुप्रिन्टले देशहरूलाई आफ्नो प्रतिक्रिया प्रणाली सुदृढ गर्न व्यावहारिक रूपरेखा उपलब्ध गराउने बताए।
डब्ल्यूएचओका अनुसार यो कार्यान्वयन मार्गदर्शन राष्ट्रिय नीति निर्माता, सरुवा रोग तथा एएमआर कार्यक्रमका व्यवस्थापक, अनुसन्धानकर्ता, एन्टिफङ्गल औषधि तथा परीक्षण उपकरण विकासकर्ता, दातृ निकाय, सार्वजनिक निजी साझेदारी, स्वास्थ्य सेवा प्रदायक र बिरामी अधिकारकर्मीका लागि उपयोगी हुनेछ।

प्रतिक्रिया दिनुहोस