वास्तविक उमेर भन्दा शरीर चाँडो बुढो हुँदा युवाहरूमा क्यान्सरको उच्च जोखिम
काठमाडौँ – पछिल्ला तीन दशकमा विश्वभर ५० वर्ष मुनिका युवाहरूमा क्यान्सरको प्रकोप तीव्र रूपमा बढिरहेको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल नेचर मेडिसिन मा प्रकाशित एक बृहत अनुसन्धानले मानिसको वास्तविक उमेर भन्दा उसको शरीरका प्रणाली र अंगहरू चाँडो वृद्ध हुने प्रक्रिया अर्थात ‘बायोलोजिकल एजिङ’ (जैविक बुढ्यौली) नै युवावस्थामै हुने ठोस ट्युमर (सोलिड क्यान्सर्स) को प्रमुख कारक हुन सक्ने देखाएको छ।
आधुनिक जीवनशैली र वातावरणीय प्रभावका कारण नयाँ पुस्तामा बढ्दै गएको यो ‘उमेरको अन्तर’ (एजिङ ग्याप) का कारण खास गरी फोक्सो, पाठेघर र आन्द्राको क्यान्सरको जोखिम उच्च देखिएको छ ।व्यक्तिको वास्तविक उमेर (क्रोनोलोजिकल एज) को तुलनामा उसको शरीरका अंग र प्रणालीहरू चाँडो वृद्ध हुने प्रक्रिया (जैविक उमेर र वास्तविक उमेर बीचको अन्तर) ले युवाहरूमा क्यान्सरको जोखिम बढाएको बारे नेचर मेडिसिन मा प्रकाशित यो सामग्रीलाई पढ्न 👉 यहाँ क्लिक गर्नुस।
नयाँ पुस्तामा तीव्र जैविक बुढ्यौली
संयुक्त अधिराज्य (युके) को ‘युके बायोबैंक’ मा आवद्ध १५४,१६९ र संयुक्त राज्य अमेरिका को ‘अल अफ अस रिसर्च प्रोग्राम’ का १०,२६२ युवाहरूको डेटा विश्लेषण गरी यो अनुसन्धान गरिएको हो।
- पुस्तागत भिन्नता: सन १९५०–१९५४ को तुलनामा सन १९६५–१९७४ को बीचमा जन्मेका मानिसहरूमा जैविक बुढ्यौलीको दर २३ प्रतिशतले बढेको पाइएको छ। अमेरिकामा गरिएको अध्ययनमा सन् १९९० को दशकमा जन्मेका युवाहरूमा यो दर अझ उच्च देखिएको छ।
- लैंगिक भिन्नता: पुरुषहरूमा जैविक बुढ्यौलीको आधारभूत स्तर बढी देखिए तापनि महिलाहरूमा यो उमेर बढ्ने दर (एजिङ ग्याप) निकै तीव्र गतिमा बढेको पाइएको छ।
कुन क्यान्सरको जोखिम कति?
रगतको बायोकेमेस्ट्री र मेटाबोलोमिक्स मा आधारित परीक्षण गर्दा जैविक उमेर तीव्र रूपमा बढिरहेका युवाहरूमा खासगरी तीन प्रकारका क्यान्सरको जोखिम बढी देखिएको छ ।
- फोक्सोको क्यान्सर: जैविक बुढ्यौलीको दर उच्च हुँदा फोक्सोको क्यान्सर हुने जोखिम ५७ प्रतिशत (हाजार्ड रेसियो १.५७) सम्म बढी हुन्छ। धूम्रपान नगर्ने युवा र महिलाहरूमा पनि यो जोखिम पाइएको छ।
- पाठेघरको क्यान्सर (युटेरिन क्यान्सर): यसले जैविक उमेर बढी भएका महिलामा क्यान्सरको जोखिम ३१ प्रतिशतले बढाउँछ।
- पाचन प्रणाली र आन्द्राको क्यान्सर (जीआई एन्ड कोलोरेक्टल क्यान्सर्स): समग्र पाचन प्रणालीको क्यान्सरको जोखिम १७ प्रतिशत र ठूलो आन्द्राको क्यान्सरको जोखिम १४ प्रतिशतले बढेको अध्ययनमा उल्लेख छ।
अंग-विशिष्ट बुढ्यौली र क्यान्सरको सम्बन्ध
वैज्ञानिकहरूले प्लाज्मा प्रोटियोमिक्स प्रविधिको प्रयोग गरेर शरीरका विशिष्ट अंगहरूको बुढ्यौलीले क्यान्सरमा पार्ने प्रभावको पनि अध्ययन गरेका छन। जसमा दुईवटा महत्त्वपूर्ण तथ्य फेला परेकाछन।
- प्रतिरोधात्मक प्रणालीको बुढ्यौली (इम्युन एजिङ): हाम्रो रोग प्रतिरोधात्मक क्षमता चाँडै वृद्ध हुँदा युवावस्थामै फोक्सोको क्यान्सर हुने जोखिम झन्डै ८९ प्रतिशतले बढ्छ।
- बोसोयुक्त तन्तुको बुढ्यौली (एडिपोज टिस्यु एजिङ): शरीरमा हुने बोसोयुक्त तन्तुहरूको जैविक उमेर चाँडो बढ्दा ठूलो आन्द्राको क्यान्सर (कोलोरेक्टल क्यान्सर) हुने जोखिम ६० प्रतिशतले वृद्धि हुन्छ।
जोखिम बढ्नुका कारण र विज्ञको भनाइ
अध्ययनका अनुसार यो परिवर्तनमा वंशाणुगत (जेनेटिक) कारणको भूमिकाभन्दा पनि आधुनिक जीवनशैली र वातावरणीय प्रभाव मुख्य जिम्मेवार छन।
‘उमेरमै मोटोपन हुनु, खराब खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, प्रदुषित हावा र वातावरणमा रहेका रसायनहरूको निरन्तर संसर्गले नयाँ पुस्ताको जैविक उमेर उनीहरूको वास्तविक उमेरभन्दा तीव्र गतिमा बढाइरहेको छ।’
यस प्रकारको जैविक बुढ्यौलीले कोषहरूमा क्रोनिक इन्फ्लामेसन (दीर्घकालीन सुजन) गराउने र तन्तुहरूको आन्तरिक वातावरण बिगार्ने हुँदा सानै उमेरमा ट्युमर पलाउने सम्भावना रहन्छ।
यो अनुसन्धानले भविष्यमा युवा अवस्थामा हुने क्यान्सरको पहिचान र रोकथामका लागि जैविक उमेर मापन गर्ने विधि (एजिङ क्लक्स) प्रभावकारी उपकरण बन्न सक्ने देखाएको छ। स्वास्थ्य विज्ञहरूले युवा पुस्तालाई क्यान्सरबाट जोगाउन खानपान र जीवनशैलीमा तत्काल सुधार गर्नुपर्ने सुझाव दिएका छन।

प्रतिक्रिया दिनुहोस