औषधि मात्रै खाएर दिक्क हुनुहुन्छ? दैनिक खानपानबाटै निरोगी बन्ने आयुर्वेदिक सङ्ग्रह सार्वजनिक (डाउनलोड लिंकसहित)
नयाँ दिल्ली (ब्युरो)-प्राचीन आयुर्वेदिक ग्रन्थहरूमा मात्र सीमित रहेका सयौँ स्वस्थकर परिकारहरू अब आधुनिक भान्छामा सहजै पाक्ने भएका छन । भारत सरकारको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले परम्परागत आयुर्वेदिक खानपान लाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘आयुर्वेद आहारा कम्पेन्डियम’ (सङ्ग्रह) सार्वजनिक गरेको छ।
दैनिक औषधिमा मात्रै निर्भर रहने प्रवृत्तिको विकल्पका रूपमा हेरिएको यो सङ्ग्रहमा आम मानिसले घरमै सजिलै तयार गर्न सक्ने परम्परागत र स्वास्थ्यवर्द्धक परिकारहरूको विस्तृत विधि समावेश गरिएको छ।
आयुर्वेदिक खानपानलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले तयार पारिएको यो सङ्ग्रहमा प्राचीन आयुर्वेदिक ग्रन्थहरूमा वर्णन गरिएका सयौँ परम्परागत परिकारलाई आधुनिक र व्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ। प्रत्येक परिकारमा आवश्यक सामग्री, तयार गर्ने विधि, आयुर्वेदिक गुण, स्वास्थ्य लाभ तथा अपनाउनुपर्ने सावधानीसम्बन्धी जानकारी समावेश गरिएको छ।
यस अघि यस्ता विवरण विभिन्न संस्कृत ग्रन्थहरूमा छरिएर रहेकाले आम मानिसका लागि बुझ्न र प्रयोग गर्न कठिन थियो। नयाँ सङ्ग्रहले चिकित्सक, आयुर्वेदका विद्यार्थी तथा अनुसन्धानकर्तालाई समेत सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।
यसमा औषधीय पेय पदार्थ मात्र नभई दैनिक जीवनमा प्रयोग हुने विभिन्न परिकारहरू पनि समेटिएका छन्। दहीमा आधारित परिकार, विभिन्न प्रकारका सत्तु, चामलको झोल, दलिया, मोही, जौ, दूध, तिल र अदुवा जस्ता सामान्य सामग्रीबाट तयार हुने परिकारहरूको विधि यसमा समावेश गरिएको छ।
सङ्ग्रहमा प्रत्येक सामग्रीको आवश्यक मात्रा पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ। उदाहरणका लागि ‘द्वितीय शिखरिणी’ नामक परिकारमा दही, मह, घ्यू, दालचिनी, अलैंची र कालो मरिचको प्रयोग गर्ने विधि दिइएको छ। आयुर्वेदमा यसलाई पाचन शक्ति सुधार गर्ने र शरीरलाई पोषण प्रदान गर्ने परिकारका रूपमा उल्लेख गरिएको छ। त्यसै गरी जौ र मसुरको सत्तु बनाउने विस्तृत विधि पनि समावेश गरिएको छ।
भारत सरकारले आयुर्वेदिक खानपानलाई आधुनिक जीवनशैलीसँग जोड्दै स्वस्थ आहार संस्कृतिलाई प्रोत्साहन गर्ने र औषधिमा मात्र निर्भर रहने प्रवृत्ति घटाउने उद्देश्यले यो सङ्ग्रह तयार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस