छाला गोरो बनाउने हानिकारक अभ्यास विरुद्ध डब्लुएचओको नयाँ रणनीति: ‘विहेभियरल इनसाइट्स टुलकिट’ सार्वजनिक
काठमाडौँ- सुन्दरताको गलत मापदण्ड र विज्ञापनको प्रभावका कारण छाला गोरो बनाउने (स्किन-लाइटेनिङ) हानिकारक सामग्रीको माग विश्वभर बढ्दो छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस्ता मर्करी (पारा) युक्त सौन्दर्य प्रसाधनको प्रयोग घटाउन र मानिसको व्यवहारमा परिवर्तन ल्याउन पहिलो पटक विशेष ‘विहेभियरल इनसाइट्स टुलकिट’ सार्वजनिक गरेको छ ।
उक्त टुलकिटले जनस्वास्थ्यमा हुने गम्भीर जोखिम कम गर्ने लक्ष्य राखेको छ र यस्ता हानिकारक उत्पादन प्रयोग गर्नुको सामाजिक र मनोवैज्ञानिक कारण बुझ्न र प्रभावकारी नीति निर्माण गर्न सहयोग पुर्याउनेछ।
बढ्दो माग र जनस्वास्थ्यमा चुनौती
विश्वव्यापी रूपमा छाला गोरो बनाउने उत्पादनको बजार तीव्र गतिमा विस्तार भइरहेको छ। प्रक्षेपण अनुसार सन २०३२ सम्ममा यसको विश्वव्यापी बजार १६.४ अर्ब अमेरिकी डलर पुग्ने देखिन्छ। सामाजिक मान्यता, सुन्दरताका परम्परागत मापदण्ड र विज्ञापनका कारण यस्ता उत्पादनको माग बढेको पाइएको छ।
धेरै जसो छाला गोरो बनाउने सामग्रीमा ‘मर्करी’ (पारा) को प्रयोग गरिन्छ। डब्लुएचओ ले मर्करीलाई जनस्वास्थ्यका लागि अत्यन्तै घातक १० रसायनको सूचीमा राखेको छ। यसको न्यून प्रयोगले पनि स्नायु प्रणालीमा क्षति पुर्याउनुका साथै गर्भवती महिला र साना बालबालिकाको विकासमा गम्भीर असर पार्ने स्वास्थ्य विज्ञहरूले बताएका छन। यसका साथै, प्रयोग पछि पखालिने पाराले ढल र जलप्रणाली हुँदै वातावरणलाई समेत प्रदूषित बनाउँदै आएको छ।
व्यवहारगत अध्ययनमा आधारित समाधान
नयाँ टुलकिटले केवल प्रतिबन्ध मात्र नभई मानिसको व्यवहार परिवर्तनमा जोड दिएको छ। सन २०२२ देखि २०२६ को बीचमा गाबोन, जमैका र श्रीलंकामा गरिएका पाइलट प्रोजेक्टहरूबाट प्राप्त अनुभवका आधारमा यो निर्देशिका तयार गरिएको हो।
डब्लुएचओ मुख्यालयका व्यवहारगत अन्तर्दृष्टि विभागकी प्रमुख एलेना अल्टियरीका अनुसार, मानिसहरूले किन र कुन परिस्थितिमा छाला ब्लीच गर्छन् भन्ने बुझ्नु नै यसलाई रोक्ने पहिलो आधार हो। उनले भनिन, ‘यो टुलकिटले अनुसन्धानकर्ताहरूलाई एकै प्रकारको वैज्ञानिक पद्धति अपनाउन र स्थानीय परिवेश अनुसारको समाधान खोज्न मद्दत गर्दछ।’
विश्वव्यापी प्रतिबद्धता र आगामी दिशा
‘मर्करी सम्बन्धी मिनामाता महासन्धि’ अन्तर्गत मर्करीयुक्त सौन्दर्य प्रसाधनहरू हटाउने अभियान विश्व भर सञ्चालन भइरहेको छ। सन २०२५ मा गाबोनमा भएको ‘लिब्रेभिल प्रतिबद्धता’ ले पनि मर्करी हटाउन व्यवहारगत दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएको थियो।
यो नयाँ टुलकिट ४३ देशका अध्ययन र विभिन्न राष्ट्रिय कार्यान्वयनका अनुभवहरूमा आधारित छ। यसको प्रयोगले आगामी दिनमा हानिकारक रसायनिक सामग्रीको माग घटाउन र सुरक्षित सौन्दर्य अभ्यासलाई प्रवर्द्धन गर्न विश्वव्यापी स्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
टुलकिटका मुख्य विशेषताहरू
पानामा सिटीमा आयोजित क्षेत्रीय कार्यशालाका बीच सार्वजनिक गरिएको यस टुलकिटमा निम्न पक्षहरू समावेश छन ।
युजर जर्नी म्यापिङ: उपभोक्ताले यस्ता उत्पादन कहाँ भेट्छन् र कसरी प्रयोगको लतमा फस्छन् भन्ने कुराको दृश्यचित्र तयार पार्ने विधि।
तथ्याङ्क संकलन र विश्लेषण: गुणात्मक र परिमाणात्मक अनुसन्धानका लागि आवश्यक उपकरणहरू।
नैतिक मार्गदर्शन र सिफारिस:अनुसन्धान गर्दा अपनाउनु पर्ने संवेदनशीलता र व्यावहारिक सुझावहरू।

प्रतिक्रिया दिनुहोस