अनुसन्धान

महिनावारी सुकेपछि किन बढ्छ त चिन्ता र अनिद्रा? १ लाख २५ हजार महिलामा गरिएको अध्ययनको खुलासा


काठमाडौँ – महिलाहरूको जीवनमा मेनोपज (महिनावारी सुक्ने प्रक्रिया) एउटा स्वभाविक शारीरिक परिवर्तन हो। तर, यसले महिलाको मस्तिष्क र मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा हालै गरिएको एक ठूलो अध्ययनले महत्वपूर्ण तथ्यहरू बाहिर ल्याएको छ।

यो अध्ययन जर्नल साइकोलोजिकल मेडिसिन मा प्रकाशित भएको छ, जसलाई👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। उक्त अनुसन्धानले मेनोपज पछि महिलाहरूमा एन्जाइटी (चिन्ता), डिप्रेसन (उदासी) र अनिद्रा जस्ता समस्याहरू बढ्ने देखाएको छ।

बेलायतको ‘यूके बायोबैंक’ मा आबद्ध झण्डै १ लाख २५ हजार महिलाहरूको तथ्याङ्क विश्लेषण गरी यो निष्कर्ष निकालिएको हो।

मस्तिष्कमा देखिने परिवर्तन

अध्ययनका क्रममा एमआरआई स्क्यान मार्फत महिलाहरूको मस्तिष्कको संरचना जाँच गरिएको थियो। मेनोपज भइ सकेका महिलाहरूको मस्तिष्कका केही महत्वपूर्ण भागहरू, जसले भावना र स्मरणशक्ति नियन्त्रण गर्छन्, त्यहाँ ‘ग्रे म्याटर’ (मस्तिष्कको कोषिका) को मात्रा घटेको पाइयो । मेनोपज नभएका महिलाको तुलनामा उनीहरूको मस्तिष्कको यी भागहरू केही साना देखिएका थिए।

हर्मोन थेरापी र मानसिक स्वास्थ्य

धेरै जसो महिलाहरूले मेनोपजका लक्षणहरू कम गर्न हर्मोन रिप्लेसमेन्ट थेरापी (एचआरटी) प्रयोग गर्ने गर्छन । तर, यो अध्ययनले एउटा अचम्मको नतिजा देखाएको छ। हर्मोन थेरापी प्रयोग गरि रहेका महिलाहरूमा यो सेवा नलिने महिलाको तुलनामा मानसिक स्वास्थ्यका चुनौतीहरू झन बढी देखिएका छन ।

अनुसन्धानकर्ताहरूका अनुसार हर्मोन थेरापीले मात्र मेनोपजका कारण हुने मानसिक तनाव र मस्तिष्कमा आउने परिवर्तनलाई पूर्ण रूपमा रोक्न सकेको देखिँदैन। यद्यपि, हर्मोन थेरापी लिने महिलाहरूमा उपचार सुरु गर्नु अघि नै मानसिक स्वास्थ्यका समस्याहरू अलि बढी हुन सक्ने र त्यही कारण उनीहरूले यो उपचार रोजेको हुन सक्ने अनुमान पनि गरिएको छ।

अनिद्रा र थकाइको समस्या

अध्ययनले मेनोपज पछि महिलाहरूमा निद्रा कम लाग्ने, छिट्टै थकाइ लाग्ने र दैनिक काममा जाँगर कम हुने जस्ता समस्याहरू पनि बढी हुने पुष्टि गरेको छ।

विज्ञहरूका अनुसार मेनोपजको समयमा महिलाहरूले शारीरिक स्वास्थ्यका साथै आफ्नो मानसिक अवस्थामा पनि उत्तिकै ध्यान दिनु जरुरी छ। हर्मोनको उपचारले मात्र सबै समस्या समाधान नहुने भएकाले यो समयमा परिवारको सहयोग र आवश्यक परेमा मनोवैज्ञानिक परामर्शको खाँचो पर्ने अध्ययनले औंल्याएको छ।

अध्ययनले औंल्याएका मुख्य बुँदा

  • मेनोपज केवल शारीरिक परिवर्तन मात्र नभएर मस्तिष्कसँग जोडिएको प्रक्रिया पनि हो।
  • निद्रा कम लाग्ने वा छिट्टै थकाइ लाग्ने समस्या मेनोपजका साझा लक्षण हुन्।
  • स्मरण शक्ति र सोच्ने क्षमतामा केही गिरावट आउन सक्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!