अनुसन्धान

गर्भावस्थामा अभिभावकको मानसिक स्वास्थ्य र बच्चामा ‘अटिजम’ को जोखिम: नयाँ अनुसन्धानको निष्कर्ष


काठमाडौँ – गर्भावस्थामा अभिभावकको मानसिक स्वास्थ्य र बच्चाको स्नायु प्रणालीको विकास बीच प्रत्यक्ष सम्बन्ध रहेको एउटा पछिल्लो अनुसन्धानले देखाएको छ।

प्रसिद्ध मेडिकल जर्नल साइकलोजिकल मेडिसिन मा यो अध्ययन प्रकाशित भएको छ,👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।  अध्ययन अनुसार, गर्भ अवस्थामा आमा वा बुबामा देखिने मानसिक तनाव, चिन्ता र डिप्रेसनले जन्मिने बच्चामा ‘अटिजम’ (एएसडी) र ‘एडीएचडी’ जस्ता विकासजन्य विकारको जोखिम बढाउँछ।

वैज्ञानिकहरूले सन् १९८८ देखि २०२५ सम्मका ७४ वटा विभिन्न अध्ययनहरूको विस्तृत विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन।

आमाको मानसिक अवस्था र जोखिम

अध्ययनका अनुसार, गर्भावस्थामा आमामा देखिने मानसिक स्वास्थ्य समस्या (पेरेंटल प्रीनेटल मूड एण्ड एंग्जायटी डिसअर्डर्स / पिएमएडीएस) ले बच्चामा ‘अटेन्सन-डेफिसिट/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) हुने सम्भावना १.९१ गुणाले बढाउँछ। त्यसै गरी, यस्तो अवस्थामा जन्मिएका बच्चाहरूमा ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ (एएसडी) देखिने जोखिम १.७५ गुणा बढी हुने देखिएको छ।

बुबाको भूमिका र वंशाणुगत प्रभाव

यस अघिका धेरै अध्ययनहरू आमामा मात्र केन्द्रित हुने गरे पनि यो अनुसन्धानले बुबाको मानसिक स्वास्थ्यलाई समेत उत्तिकै महत्त्व दिएको छ। बच्चा जन्मनु अघि बुबामा देखिने मानसिक समस्याले पनि बच्चामा यस्ता विकारहरूको जोखिम करिब १.२३ गुणाले बढाउने तथ्याङ्कले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो जोखिम केवल वंशाणुगत गुण (जेनेटिक्स) का कारण मात्र नभई पारिवारिक वातावरण र हुर्काइको तरिकामा भर पर्ने ‘इन्भायरोमेन्टल’ कारकहरू सँग पनि जोडिएको छ।

अध्ययनको सुझाव

अध्ययनले के सुझाव दिएको छ भने, यदि कुनै परिवारमा अभिभावकले गर्भावस्थाको समयमा मानसिक समस्या झेलिरहेका छन् भने उनीहरूलाई समयमै ‘परिवार केन्द्रित’ सहयोग उपलब्ध गराउनु पर्छ। यस्तो सहयोगले बच्चाको पछिल्लो विकास र मानसिक स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई कम गर्न मद्दत पुग्छ।

विशेषज्ञहरू भन्छन, ‘यसको अर्थ यो होइन कि सबै मानसिक समस्या भएका अभिभावकका बच्चाहरूमा यी विकार देखिन्छन, तर सचेत रहनु र समयमै विशेषज्ञको परामर्श लिनु बच्चाको उज्ज्वल भविष्यका लागि अनिवार्य छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!