अनुसन्धान

मोतियाविन्दुको उपचारमा विश्वव्यापी लक्ष्य भेटाउन मुस्किल, सन् २०३० सम्मको प्रक्षेपण चुनौतीपूर्ण :द ल्यान्सेट ग्लोबल हेल्थ


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्मका लागि तय गरेको मोतियाविन्दु (क्याटारैक्ट) उपचारको विश्वव्यापी लक्ष्य भेट्टाउन कठिन हुने एक नयाँ अध्ययनले देखाएको छ।

यो अध्ययन ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ को अनलाइन संस्करणमा १० फरवरी सन २०२६ मा प्रकाशित भएको हो, जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ ।अनुसन्धानका अनुसार, मोतियाविन्दुको शल्यक्रिया र त्यस पछिको गुणस्तरमा सुधार गर्ने विश्वव्यापी प्रयासहरूको गति सुस्त देखिएको छ।

सन् २०२१ मा सम्पन्न ७४ औं विश्व स्वास्थ्य सभाले सन् २०३० सम्ममा ‘प्रभावकारी मोतियाविन्दु शल्यक्रिया कभरेज’ (ई सिएससी) लाई ३० प्रतिशत विन्दुले बढाउने लक्ष्य पारित गरेको थियो। तर, ६८ देशका २३३ सर्वेक्षणहरूको तथ्याङ्क विश्लेषण गर्दा वर्तमान प्रगति सो लक्ष्य भन्दा निकै पछाडि रहेको देखिएको छ।

के हो प्रभावकारी कभरेज ?

अध्ययनले केवल शल्यक्रिया हुनुलाई मात्र सफलता मानेको छैन। ‘प्रभावकारी मोतियाविन्दु शल्यक्रिया कभरेज’ ले दुईवटा कुरालाई जोड्छ ।  पहिलो, बिरामीको शल्यक्रियामा पहुँच र दोस्रो, शल्यक्रिया पछि बिरामीले कति स्पष्ट देख्न सक्यो अर्थात् गुणस्तर ।

किन बढ्दैछ चुनौती?

संसारभर बढ्दो वृद्ध वृद्धाको जनसंख्याका कारण मोतियाविन्दुका बिरामीको संख्या पनि थपिँदै गएको छ। मोतियाविन्दु अन्धोपनको प्रमुख कारण भए तापनि यसको उपचार अत्यन्तै सस्तो र प्रभावकारी मानिन्छ। तर, अझै पनि धेरै देशहरूमा गरिबी र गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण मानिसहरू दृष्टिबिहिन भएर बस्नु परेको छ।

लगानी बढाउन सुझाव

अध्ययनले मोतियाविन्दु सेवामा तत्काल र ठूलो लगानी आवश्यक रहेको औंल्याएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, केवल शल्यक्रियाको संख्या बढाएर मात्र पुग्दैन, शल्यक्रिया पछिको दृष्टिको गुणस्तर सुधार्न र सेवा प्रदायकहरूलाई जवाफदेही बनाउन गुणस्तरका सूचकहरूमा काम गर्नुपर्ने देखिन्छ।

यो अध्ययन इन्डिगो ट्रस्ट, फ्रेड हलोज फाउण्डेशन र वेलकम ट्रस्टको आर्थिक सहयोगमा ‘लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन’ का विज्ञहरू सम्मिलित टोलीले गरेको हो।

यस अध्ययनमा विश्वका करिब १०० भन्दा बढी विशेषज्ञहरू प्रत्यक्ष रूपमा ‘स्टडी ग्रुप’ (ई सिएससी स्टड़ी ग्रूप) को सदस्यका रूपमा संलग्न छन । यसबाहेक, यो अध्ययन ६८ देशका २३३ वटा जनसंख्यामा आधारित सर्वेक्षणहरूको नतिजा भएकाले यसमा परोक्ष रूपमा सयौँ अन्य अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरूको योगदान रहेको छ।

अध्ययनमा योगदान दिने नेपालीहरू

यो अध्ययनमा योगदान दिने नेपालीहरू पनि छन । यस अन्तर्गत ​शैलेश कुमार मिश्र: नेपाल नेत्रज्योति संघ, काठमाडौँ अध्ययनका प्रमुख लेखक मध्ये एक हुन भने प्रदीप बास्तोला: नेपाल नेत्रज्योति संघ, राप्ती / ​सुभाष भट्ट: दृष्टि आँखा अस्पताल, काठमाडौँ /​सन्दीप दास सन्याम: सगरमाथा चौधरी आँखा अस्पताल, लहान /​सुदर्शन खनाल: बेटर भिजन फाउन्डेसन नेपाल, काठमाडौँ /​​लीला आर पुरी: द फ्रेड हलोज फाउन्डेसन, काठमाडौँ /​मनिषा श्रेष्ठ: भरतपुर आँखा अस्पताल, भरतपुर / ​सृष्टि ठाकुर: विराटनगर आँखा अस्पताल, विराटनगर आदि यो अध्ययन समूहमा संलग्न नेपालीहरू हुन ।

यस अध्ययनमा  नेपालका विभिन्न क्षेत्र (काठमाडौँ, लहान, विराटनगर, भरतपुर र राप्ती) का आँखा स्वास्थ्य संस्थाहरूको प्रतिनिधित्व छ।

अध्ययनका मुख्य निस्कर्ष

  • प्रगतिको सुस्त गति: सन् २०२० देखि २०३० को बीचमा विश्वव्यापी रूपमा यो कभरेज केवल ८.४ प्रतिशत विन्दुले मात्र बढ्ने प्रक्षेपण गरिएको छ। यो तय गरिएको ३० प्रतिशतको लक्ष्यभन्दा धेरै कम हो।
  • देशगत अन्तर: अध्ययन गरिएका देशहरूमध्ये बुरुन्डीमा सबैभन्दा कम २.१ प्रतिशत र कतारमा सबैभन्दा बढी ७७.७ प्रतिशत प्रभावकारी कभरेज रहेको पाइएको छ।
  • २०२५ को अवस्था: सन् २०२५ सम्ममा विश्वभरको औसत ई सिएससी ४८.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
  • चस्माको अभाव मुख्य समस्या: शल्यक्रियापछि पनि राम्रोसँग देख्न नसक्नुको एउटा प्रमुख कारण ‘रिफ्र्याक्टिभ एरर’ (दृष्टि दोष) रहेको पाइएको छ। शल्यक्रियापछि आवश्यक पर्ने चस्मा वा अन्य सुधारका उपायहरू मात्रै उपलब्ध गराउन सके पनि विश्वभरको नतिजामा उल्लेखनीय सुधार आउने अध्ययनको दाबी छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!