२०३५ सम्म अन्तिम विकल्पका औषधि समेत फेल हुन सक्ने: बालबालिकामा किन यसरी तीव्र रूपमा बढ्दैछ एन्टिबायोटिक प्रतिरोध?
काठमाडौं- सामान्य संक्रमण हुँदा चलाइने पहिलो पङ्क्तिका एन्टिबायोटिकले काम गर्न छाडे पछि विश्वभरका बालबालिका गम्भीर स्वास्थ्य जोखिममा परेका छन। चर्चित अन्तर्राष्ट्रिय जर्नल जामा पेडियाट्रिक्समा प्रकाशित एक बृहत अध्ययन अनुसार नेपाल सहितको दक्षिण पूर्वी एसियाली क्षेत्रमा एन्टिबायोटिक विरुद्ध जीवाणुको प्रतिरोध क्षमता (एन्टी माइक्रोबियल रेसिस्टेन्स/ एएमआर) तीव्र गतिमा बढिरहेको छ। जेएएमए पेडियाट्रिक्समा प्रकाशित यो अध्ययनलाई पढ्न 👉 यहाँ क्लिक गर्नुस।
अध्ययन अनुसार यही स्थिति कायम रहे आगामी सन २०३५ सम्ममा अस्पतालहरूमा अन्तिम विकल्पका रूपमा प्रयोग गरिने जीवन रक्षक औषधि समेत निस्प्रभावी हुने भयावह चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन।
‘चाइल्डहुड एन्टिमाइक्रोबियल रेसिस्टेन्स विथ ग्लोबल फोरकास्ट्स’ शीर्षकको अध्ययनमा सन २००४ देखि २०२२ सम्म ८२ देशका ० देखि १८ वर्ष उमेर समूहका १ लाख ६ हजार ५८१ जना बालबालिकाबाट सङ्कलित जीवाणु नमुनाको विश्लेषण गरिएको हो। अध्ययनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एवेयर (एक्सेस, वाच र रिजर्भ) वर्गीकरण अन्तर्गतका तीनै समूहका एन्टिबायोटिक विरुद्ध प्रतिरोध बढिरहेको देखाएको छ।
अध्ययन अनुसार पहिलो रोजाइका एक्सेस समूहका एन्टिबायोटिक प्रति औसत प्रतिरोध दर ३६ प्रतिशत रहेको छ। वाच समूहमा यो २२ प्रतिशत र अन्तिम विकल्पका रिजर्भ समूहमा १३ प्रतिशत पुगेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार पहिलो पङ्क्तिका औषधि समेत प्रभावहीन बन्दै जाँदा चिकित्सकहरू सुरुमै कडा एन्टिबायोटिक प्रयोग गर्न बाध्य भइरहेका छन्, जसले प्रतिरोधको समस्या झन् बढाउने जोखिम रहेको छ।
अध्ययनमा समावेश भएका नमुना मध्ये ४७ प्रतिशत दुई वर्ष मुनिका बालबालिकाका थिए। एन्टिबायोटिक प्रतिरोध सबैभन्दा तीव्र रूपमा दुई वर्ष भन्दा कम उमेरका बालबालिका, सघन उपचार कक्ष (आईसीयू) मा रहेका बिरामी, सेप्सिस र श्वास प्रश्वास सम्बन्धी गम्भीर संक्रमण भएका बालबालिकामा देखिएको छ।
आईसीयूमा वाच समूहका एन्टिबायोटिक प्रति प्रतिरोध सन २००४ मा १५ प्रतिशत रहेकामा २०२२ सम्म ३३ प्रतिशत पुगेको छ। दुई वर्षमुनिका बालबालिकामा यो १२ प्रतिशतबाट ३२ प्रतिशत, सेप्सिस भएका बिरामीमा १५ प्रतिशतबाट ३० प्रतिशत तथा श्वास प्रश्वास सम्बन्धी संक्रमण भएका बालबालिकामा १२ प्रतिशतबाट २९ प्रतिशत पुगेको अध्ययनले देखाएको छ।
अनुसन्धानले स्रोत साधन सीमित तथा न्यून आय भएका देशमा प्रतिरोधको दर र यसको वृद्धि विकसित मुलुकको तुलनामा निकै तीव्र रहेको जनाएको छ।
नेपाल रहेको दक्षिण पूर्वी एसियाली क्षेत्रमा विशेष गरी तेस्रो तथा चौथो पुस्ताका सेफालोस्पोरिन र कार्बापेनेम वर्गका एन्टिबायोटिक विरुद्ध प्रतिरोध द्रुत रूपमा बढिरहेको उल्लेख गरिएको छ। अध्ययनले सन २०३५ सम्म यस क्षेत्रमा वाच समूहका एन्टिबायोटिकप्रतिको प्रतिरोध दर ८४ प्रतिशत सम्म पुग्न सक्ने प्रक्षेपण पनि गरेको छ।
जीवाणु मध्ये एसिनेटोब्याक्टर बाउमानीआई मा तीनै समूहका एन्टिबायोटिक विरुद्ध ५५ प्रतिशत भन्दा बढी प्रतिरोध देखिएको छ भने क्लेबसिएला प्रजातिमा प्रतिरोध सबैभन्दा तीव्र गतिमा बढिरहेको छ।
सन २०३५ सम्म कार्बापेनेम वर्गका एन्टिबायोटिक प्रति प्रतिरोध क्लेबसिएला मा ३५ प्रतिशत र एसिनेटोब्याक्टर बाउमानीआई मा ८२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। कार्बापेनेम अस्पतालमा हुने जटिल संक्रमणको उपचारका लागि अन्तिम विकल्पका रूपमा प्रयोग गरिने शक्तिशाली एन्टिबायोटिक हो।
अनुसन्धानकर्ताहरूका अनुसार सेप्सिस र निमोनिया जस्ता गम्भीर संक्रमण गराउने ग्राम नेगेटिभ जीवाणुमा प्रतिरोध बढ्दै जानु बालबालिकाको उपचारका लागि गम्भीर चुनौती हो। यसले अनुभवका आधारमा सुरु गरिने एम्पिरिक एन्टिबायोटिक उपचारको प्रभावकारिता घटाउने र सीमित स्रोत भएका देशमा उपचारका विकल्प अझ साँघुरिने जोखिम बढाउने उनीहरूको भनाइ छ।
अध्ययनले बालबालिकामा एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न, अस्पतालहरूमा संक्रमण रोकथाम तथा सरसफाइका उपाय सुदृढ बनाउन, एन्टिमाइक्रोबियल स्टेवार्डसिप प्रभावकारी रूपमा लागू गर्न र बालबालिकाका लागि उपयुक्त नयाँ एन्टिबायोटिकको अनुसन्धानमा लगानी बढाउन आग्रह गरेको छ। अनुसन्धानकर्ताहरूले यस्तो प्रयास नगरे भविष्यमा सामान्य ब्याक्टेरियल संक्रमण समेत उपचार गर्न कठिन हुने र बालबालिकाको मृत्यु जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने निष्कर्ष निकालेका छन।

प्रतिक्रिया दिनुहोस