अनुसन्धान

बाँसको तामा ‘सुपरफुड’ बन्न सक्ने वैज्ञानिक पुष्टि: सुगर र कोलेस्ट्रोल नियन्त्रणमा सहयोगी


काठमाडौं-बाँस केवल निर्माण सामग्री वा दाउराको विकल्प मात्र नभई स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण खाद्य स्रोत बन्न सक्ने वैज्ञानिक निष्कर्ष सार्वजनिक भएको छ।

यो अध्ययन समीक्षा एडभान्सेज इन ब्याम्बु साइन्स जर्नल मा प्रकाशित भएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

उक्त जर्नलमा समेटिएको समीक्षाले बाँसको कलिलो टुसा जसलाई नेपालीमा तामा भनिन्छ र यसका अर्कहरूको सेवनले मानव स्वास्थ्यमा बहुआयामिक लाभ दिन सक्ने सम्भावना देखाएको हो।

‘ब्याम्बु कन्जम्सन एण्ड हेल्थ आउट कम : ए सिस्टमेटिक रिभ्यु एन्ड कल टू एक्सन’,  शीर्षकको समीक्षामा २६ अक्टोबर सन २०२४ सम्म प्रकाशित अध्ययनहरूको विश्लेषण गरिएको छ।

बेलायतको एङ्ग्लिया रस्किन विश्वविद्यालय (एआरयू) का अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको उक्त समीक्षामा मानव, प्रयोगशाला तथा खाद्य प्रशोधन सँग सम्बन्धित गरी कुल १६ अध्ययन समेटिएका छन।

ब्लड सुगर, कोलेस्ट्रोल र पाचनमा सुधार

मानवमा गरिएको सीमित अध्ययनले बाँसको टुसा सेवनले ब्लड सुगर नियन्त्रणमा सुधार ल्याएको, लिपिड प्रोफाइल सुधारिएको र पाचन स्वास्थ्यलाई सघाएको देखाएका छन्। बाँसलाई फाइबरको स्रोतका रूपमा प्रयोग गर्दा कुल कोलेस्ट्रोल र ‘एलडीएल’ कोलेस्ट्रोल घटेको उल्लेख छ।

बाँसका पातबाट निकालिएका फ्लाभोनोइडयुक्त अर्कले शरीर भित्र एक्रिलामाइड जस्ता हानिकारक रसायनको प्रभाव कम गर्न सहयोग गरेको पनि समीक्षामा उल्लेख गरिएको छ।

पौष्टिक तत्वले भरिपूर्ण

समीक्षा अनुसार बाँसको टुसामा उच्च प्रोटिन, मध्यम फाइबर र कम बोसो पाइन्छ। यसमा आवश्यक एमिनो एसिडका साथै सेलेनियम र पोटासियम जस्ता खनिज हुन्छन। थायामिन, नियासिन, भिटामिन ए, भिटामिन बी ६ र भिटामिन ई पनि बाँसका प्रमुख पोषक तत्व हुन।

यिनै पोषक तत्वका कारण बाँसले मधुमेह, मुटु रोग र मोटोपन जस्ता दीर्घ रोगको जोखिम घटाउन सहयोग गर्न सक्ने संकेत अनुसन्धानहरूले दिएका छन

प्रयोगशालामा देखिएको एन्टिअक्सिडेन्ट र प्रोबायोटिक प्रभाव

प्रयोगशालामा गरिएको अध्ययनमा बाँसका अर्कले सूजन कम गर्ने, एन्टिअक्सिडेन्ट गतिविधि बढाउने, कोशिकाको विषाक्तता घटाउने र कोशिका जीवित रहने क्षमता सुधार गर्ने देखिएको छ। केही अध्ययनले बाँसमा प्रोबायोटिक प्रभाव पनि देखाएका छन, जसले आन्द्रा स्वास्थ्य सुधार गर्न सहयोग पुर्‍याउन सक्छ।

खाद्य प्रशोधनको क्रममा बाँसका तत्वले फ्युरान र एक्रिलामाइड जस्ता हानिकारक पदार्थको निर्माण कम गर्न सक्ने सम्भावना पनि औंल्याइएको छ।

जोखिम र सावधानी

यद्यपि सबै प्रभाव सकारात्मक मात्र छैनन। भारतमा गरिएको एक अध्ययनले बाँसको टुसा बढी सेवन गर्ने समुदायमा गलगाँड (गोइटर) को उच्च दर देखिएको जनाएको छ। बाँसमा पाइने सायनोजेनिक ग्लाइकोसाइड जस्ता यौगिकले काँचो वा राम्रो सँग नपकाई खाँदा सायनाइड उत्पादन गर्न सक्ने भएकाले स्वास्थ्य जोखिम हुन सक्ने अनुसन्धानकर्ताको चेतावनी छ।

अनुसन्धानकर्ताका अनुसार यी जोखिम बाँसको टुसालाई पानीमा राम्ररी उमालेर वा उचित रूपमा प्रशोधन गरेपछि धेरै हद सम्म घटाउन सकिन्छ।

थप अनुसन्धान आवश्यक

एआरयूका सार्वजनिक स्वास्थ्य प्राध्यापक तथा अध्ययनका वरिष्ठ लेखक ली स्मिथ का अनुसार बाँसलाई दिगो र स्वास्थ्यकर खाद्य विकल्पका रूपमा हेर्न सकिन्छ। बाँस एसियाका धेरै भागमा उपभोग हुन्छ। सही तरिकाले तयारी गरिएमा यसले मधुमेह र मुटु रोग जस्ता समस्याको व्यवस्थापनमा सहयोग गर्न सक्छ ।

तर उनले मानवमा आधारित अध्ययन अझै सीमित रहेको स्वीकार गरे। ‘हाम्रो मापदण्डमा उपयुक्त मानव अध्ययन चार वटा मात्रै भेटिए। त्यसैले ठोस सिफारिस अघि थप गुणस्तरीय र दीर्घकालीन अनुसन्धान आवश्यक छ,’ स्मिथको भनाइ छ।

समीक्षाका लेखकहरूले बाँस खेती प्रचलित कम आय भएका क्षेत्रमा यसको उत्पादन र उपभोगले पोषण सुधार र आर्थिक अवसर दुवै दिन सक्ने भएकाले यस विषयमा थप वैज्ञानिक अध्ययन गर्न आग्रह गरेका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!