अनुसन्धान
दिनमा मात्र ५ मिनेटको व्यायामले जोगाउन सक्छ ज्यान: ‘द लान्सेट’को नयाँ अध्ययन
काठमाडौँ- दिनमा मात्र पाँच मिनेट मध्यम स्तरको शारीरिक गतिविधि बढाउँदा वा आधा घण्टा कम बस्दा सार्वजनिक स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ।
चिकित्साशास्त्र सम्बन्धी प्रतिष्ठित जर्नल द लान्सेट मा १३ जनवरी सन् २०२६ मा प्रकाशित यो अध्ययन लाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययन अनुसार, दैनिक जीवनशैलीमा साना तर व्यवहारिक परिवर्तनले मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
अध्ययनका लागि नर्वे, स्वीडेन, अमेरिका र बेलायतका १ लाख ३५ हजार ४६ जना वयस्कको तथ्यांक विश्लेषण गरिएको थियो।
अनुसन्धानकर्ताले उपकरण मार्फत मापन गरिएको शारीरिक गतिविधिको आधारमा मानिसहरू अलिकति बढी हिँडडुल गर्दा वा कम समय बस्दा कति मृत्यु रोक्न सकिन्छ भन्ने अनुमान गरेका छन्।
नतिजा अनुसार, सबै भन्दा कम सक्रिय व्यक्तिले दिनमा पाँच मिनेट मध्यम देखि तीव्र शारीरिक गतिविधि थपेमा करिब ६ प्रतिशत मृत्यु रोक्न सकिने देखिएको छ। अत्यधिक सक्रिय समूह बाहेक सम्पूर्ण जनसंख्यामा यो अनुपात करिब १० प्रतिशत सम्म पुग्न सक्छ।
बस्ने समय घटाउँदा पनि सकारात्मक प्रभाव देखिएको छ, यद्यपि प्रभाव तुलनात्मक रूपमा कम छ। दिनमा ३० मिनेट कम बस्दा सबै भन्दा कम सक्रिय समूहमा करिब ३ प्रतिशत र समग्र जनसंख्यामा करिब ७ प्रतिशत मृत्यु रोक्न सकिने अध्ययनले देखाएको छ।
अध्ययनकी सह लेखक तथा करोलिन्स्का इन्स्टिच्युटकी प्राध्यापक मारिया हागस्ट्रोमर भन्छिन्, ‘साना कदमले ठूलो प्रभाव पार्न सक्छ। म्याराथन दौडिनै पर्दैन, दिनमा केही मिनेट छिटो हिँड्नु नै पर्याप्त हुन सक्छ।’
उही संस्थाकी सहलेखक इङ मारी डोर्नका अनुसार अध्ययनले यथार्थ परक र सबैका लागि सम्भव जीवनशैली परिवर्तनको महत्व देखाएको छ।
यो अध्ययन स्वीडेन, नर्वे, स्पेन, अष्ट्रेलिया र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरूको सहकार्यमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस