स्टेम सेलबाट ल्याबमै शुक्रकीट बन्ने कोषिका विकसित; निसन्तान पुरुषका लागि नयाँ आशा


काठमाडौँ –निसन्तान पुरुषहरूका लागि चिकित्सा विज्ञानले एउटा असाधारण र क्रान्तिकारी आशा जगाएको छ। वैज्ञानिकहरूले प्रयोगशालामा पहिलो पटक मानव र बाँदरको स्टेम सेल प्रयोग गरी शुक्रकीट बन्ने प्रारम्भिक कोषिका ‘स्पर्माटोगोनिया’ सफलतापूर्वक विकसित गरेका छन ।

प्रतिष्ठित वैज्ञानिक जर्नल सेल स्टेम सेल मा प्रकाशित यो खोजले भविष्यमा पुरुष बाँझोपनको उपचार र कृत्रिम शुक्रकीट उत्पादन (इन भिट्रो ग्यामेटोजेनेसिस) को क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने बलियो आधार तयार पारेको छ।

मानव र रेसस मकाक (बाँदर) का प्रेरित बहु-क्षमतायुक्त स्टेम सेल (आईपीएससी) बाट शुक्राणु बन्ने प्रारम्भिक कोशिका स्पर्माटोगोनिया सफलतापूर्वक विकास सम्बन्धी उपलब्धिले भविष्यमा पुरुष बाँझोपनको उपचार, नयाँ औषधि परीक्षण तथा पुनर्जनन चिकित्सा मार्फत नयाँ उपचार विकासका लागि बलियो आधार तयार गरेको अनुसन्धानकर्ताहरूले बताएका छन।

यो अध्ययन जुलाई १०, २०२६ मा प्रतिष्ठित वैज्ञानिक जर्नल सेल स्टेम सेल मा प्रकाशित भएको हो, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।  युनिभर्सिटी अफ पेन्सिलभेनियाका अनुसन्धानकर्ता कोतारो सासाकीको नेतृत्वमा गरिएको अनुसन्धानलाई प्रयोगशाला मै कृत्रिम रूपमा शुक्राणु उत्पादन गर्ने प्रविधि इन भिट्रो ग्यामेटोजेनेसिस तर्फको महत्त्वपूर्ण प्रगति मानिएको छ।

मानव शरीरमा शुक्राणु बन्ने प्रक्रिया स्पर्माटोजेनेसिस अत्यन्त जटिल हुने भएकाले यसको अध्ययन गर्न उपयुक्त मोडलको अभाव थियो। मुसा जस्ता साना जनावरमा भएका अध्ययनले मानवको जैविक प्रक्रिया पूर्ण रूपमा प्रतिनिधित्व गर्न नसक्ने भएकाले पुरुष बाँझोपन सम्बन्धी नयाँ उपचार विकासमा चुनौती रहँदै आएको थियो।

यस अध्ययनमा वैज्ञानिकहरूले मानव आईपीएससीलाई आदिम जर्म सेल जस्ता कोशिकामा रूपान्तरण गरे। त्यस पछि ती कोशिकालाई मुसाको भ्रूणीय वृषणका सहायक कोशिकासँग संयोजन गरेर कृत्रिम वृषण जस्तो संरचना एक्सआर टेस्टिस तयार गरियो। उक्त संरचनालाई प्रतिरक्षा प्रणाली कमजोर बनाइएका मुसामा प्रत्यारोपण गरे पछि रगतको आपूर्ति प्राप्त गर्दै जर्म कोशिकाहरू क्रमिक रूपमा विकसित भई स्पर्माटोगोनिया तथा प्रारम्भिक स्पर्माटोसाइट चरण सम्म पुगे।

अनुसन्धानले प्रयोगशालामा विकसित भएका कोशिकाहरूको बनावट, जीन अभिव्यक्ति (ट्रान्सक्रिप्टोम) र जैविक विशेषताहरू प्राकृतिक रूपमा मानव शरीरमा विकसित हुने जर्म कोशिकासँग अत्यन्त मिल्दो जुल्दो रहेको देखाएको छ। साथै, शुक्राणुको आनुवंशिक स्थायित्व कायम राख्न महत्त्वपूर्ण मानिने प्रिप्याकिटिन पाइवी इन्टर्याक्टिङ आरएनए (पिआईआरएनए) समेत उत्पादन भएको पुष्टि गरिएको छ। यसले शुक्राणुको डीएनएलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने वैज्ञानिकहरूको भनाइ छ।

अनुसन्धान टोलीले यही प्रविधि रेसस मकाकमा पनि सफलतापूर्वक प्रयोग गरेको छ। मानवमा क्लिनिकल परीक्षण अघि गैर मानव प्राइमेटमा सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्न यो उपलब्धि उपयोगी हुने अपेक्षा गरिएको छ।

अध्ययनका क्रममा रेटिनोइक एसिड (भिटामिन ए को सक्रिय रूप) लाई अवरुद्ध गर्दा शुक्राणु विकास प्रक्रिया प्रभावित भएको पनि देखिएको छ। यसले मानवमा शुक्राणु निर्माणका लागि रेटिनोइक एसिडको महत्त्वलाई पुनः पुष्टि गरेको अनुसन्धानकर्ताहरूले बताएका छन।

यद्यपि, अध्ययनमा विकसित कोशिकाहरू पूर्ण विकसित शुक्राणु ह्याप्लोइड स्पर्माटोजोआ मा रूपान्तरण हुन भने सफल भएका छैनन। कोशिकाहरू प्रारम्भिक स्पर्माटोसाइट चरण सम्म मात्रै पुगेका कारण यो प्रविधि अझै अनुसन्धानकै चरणमा रहेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन। मुसाको शारीरिक वातावरण र तापक्रमका सीमाका कारण विकास प्रक्रिया पूर्ण परिपक्व शुक्राणु बन्नु अघि नै रोकिएको अध्ययनमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा यो प्रविधिले पुरुष बाँझोपनका आनुवंशिक कारण पत्ता लगाउन, नयाँ औषधि परीक्षण गर्न तथा आफ्नै स्टेम सेलबाट शुक्राणु उत्पादन गर्ने सम्भावनाको आधार तयार गर्न सक्छ। यद्यपि यसलाई नियमित चिकित्सकीय प्रयोगमा ल्याउनु अघि थप अनुसन्धान, दीर्घकालीन सुरक्षा परीक्षण तथा नैतिक र नियामकीय मूल्याङ्कन आवश्यक रहने अध्ययनले औँल्याएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!