स्तनपानले आमामा टाइप-२ मधुमेहको जोखिम कम नगर्ने : चीनमा २ लाख ८० हजार महिलामाथिको अध्ययन
काठमाडौँ- शिशुलाई स्तनपान गराउनाले आमामा भविष्यमा हुने टाइप-२ मधुमेहको जोखिम कम गर्छ भन्ने आम चिकित्सा मान्यतालाई चुनौती दिँदै एक वृहत् अनुसन्धान सार्वजनिक भएको छ। चिकित्सा जर्नल ‘बीएमजे ओपन’ मा प्रकाशित अध्ययन अनुसार चीनका २ लाख ८० हजार भन्दा बढी महिलामा झन्डै १२ वर्ष सम्म गरिएको निरन्तर अनुगमनले स्तनपान र आमामा टाइप-२ मधुमेहको जोखिम कम हुनु बीच कुनै स्पष्ट सम्बन्ध फेला नपारेको देखाएको छ। बीएमजे ओपन मा प्रकाशित यो अध्ययनलाई पढ्न 👉 यहाँ क्लिक गर्नुस।
यस अघि मुख्यतः उच्च आय भएका पश्चिमी देशहरूमा गरिएका अध्ययनहरूले स्तनपान गराउने महिलामा टाइप-२ मधुमेहको जोखिम ३२ प्रतिशत सम्म कम हुने संकेत दिएका थिए। तर चीनका सहरी र ग्रामीण १० क्षेत्रका २ लाख ८३ हजार ८५५ महिलालाई औसत ११.८ वर्षसम्म पछ्याएर गरिएको यो अध्ययनले त्यस्तो निष्कर्ष पुष्टि गर्न सकेन।
अनुसन्धानका लागि प्रयोग गरिएको चाइना काडोरी बायोबैंक मा सहभागी महिला मध्ये ९८.६ प्रतिशतले सन्तान जन्माएका थिए भने ९७.२ प्रतिशतले कम्तीमा एक पटक स्तनपान गराएका थिए। अध्ययन सुरु हुँदा कुनै पनि सहभागीमा मधुमेह थिएन।
अनुगमन अवधिमा १२ हजार ११ महिलामा टाइप-२ मधुमेह देखिएको थियो। तथ्याङ्क विश्लेषण गर्दा स्तनपान गराएका र कहिल्यै नगराएका महिला बीच मधुमेहको जोखिममा उल्लेखनीय अन्तर नदेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन। प्रत्येक बच्चालाई औसतमा कति समय स्तनपान गराइयो वा जीवनकाल भरि कति समय स्तनपान गराइयो भन्ने आधारमा पनि जोखिममा कुनै स्पष्ट प्रभाव देखिएन।
अध्ययनमा सहभागी महिलाले जीवनकालमा औसत ३४.८ महिना र प्रत्येक बच्चालाई औसत १४.९ महिना स्तनपान गराएको पाइएको छ। ग्रामीण क्षेत्रका तथा पुराना पुस्ताका महिलामा स्तनपानको अवधि तुलनात्मक रूपमा लामो रहेको अध्ययनले देखाएको छ।
शोधकर्ताहरूका अनुसार सुरुमा लामो समय स्तनपान गराउने महिलामा मधुमेहको जोखिम केही बढी देखिए पनि सन्तानको संख्या, उमेर, तौल र कम्मरको घेरा जस्ता कारकलाई समायोजन गरे पछि त्यो सम्बन्ध पूर्ण रूपमा हराएको थियो। धेरै बच्चा जन्माउने महिलाले स्वाभाविक रूपमा बढी समय स्तनपान गराउने भएकाले प्रारम्भिक नतिजामा यस्तो प्रभाव देखिएको हुन सक्ने उनीहरूको भनाइ छ।
अनुसन्धानकर्ताहरूले यस अघिका पश्चिमी अध्ययनहरूमा स्तनपान गराउने र नगराउने महिला बीच सामाजिक, आर्थिक र जीवनशैलीका हिसाबले ठूलो भिन्नता रहेकाले नतिजामा भ्रम उत्पन्न भएको हुन सक्ने बताएका छन। चीनमा भने सन्तान जन्माउने र स्तनपान गराउने चलन लगभग सार्वभौमिक भएकाले स्तनपानको स्वतन्त्र प्रभावलाई अझ स्पष्ट रूपमा मूल्याङ्कन गर्न सम्भव भएको उनीहरूको तर्क छ।
यद्यपि, अध्ययनले स्तनपानका अन्य स्वास्थ्य लाभहरूलाई भने अस्वीकार गरेको छैन। शिशुको पोषण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, आमा- शिशु बीचको भावनात्मक सम्बन्ध सुदृढीकरण तथा अन्य स्वास्थ्य लाभका लागि स्तनपान अझै पनि महत्त्वपूर्ण रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
उनीहरूका अनुसार टाइप-२ मधुमेह रोकथामका लागि सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, स्वस्थ तौल कायम राख्ने तथा अन्य जीवनशैलीजन्य उपायहरू अझ प्रभावकारी हुन सक्छन। स्तनपान मात्रलाई मधुमेह रोकथामको भरपर्दो उपायका रूपमा लिन नहुने निष्कर्ष अध्ययनले निकालेको छ।

प्रतिक्रिया दिनुहोस