अनुसन्धान

लुतो उपचारमा पर्मेथ्रिन क्रीम कि आइभरमेक्टिन ? अन्तर्राष्ट्रिय अनुसन्धान


काठमाडौं- बहुकेन्द्रित र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायलले सामान्य लुतो (स्केवीज) को उपचारमा मुखबाट खाने आइभरमेक्टिन भन्दा ५  प्रतिशत पर्मेथ्रिन क्रीम स्पष्ट रूपमा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

यो अध्ययन प्रतिष्ठित मेडिकल जर्नल बीएमजे मा जनवरी ६ तारिखमा  प्रकाशित भएको हो, 👉जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

लुतो सार्कोप्टेस स्क्याबी नामक परजीवी किराबाट हुने छालाको रोग हो, जसले विश्व भर एकै समयमा करिब २० करोड मानिसलाई असर गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ। डब्लुएचओ ले यसलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा राखेको छ।

फ्रान्सका २८ अस्पतालमा सन् २०१६ देखि २०२१ सम्म सञ्चालन गरिएको यस अध्ययनमा लुतो पुष्टि भएका १५ किलो भन्दा बढी तौलका बालबालिका र वयस्क सहभागी थिए। अध्ययनमा बिरामी र उनीहरूका परिवारका सबै सदस्यलाई एउटै समूह (हाउसहोल्ड क्लस्टर) मानेर उपचारको नतिजा मूल्यांकन गरिएको थियो।

अध्ययन अनुसार उपचार सुरु गरेको २८ औँ दिनमा सम्पूर्ण परिवार लुतो  मुक्त हुने दर पर्मेथ्रिन समूहमा ८८.५ प्रतिशत रहेको छ। आइभरमेक्टिन समूहमा भने यो दर ७१.८ प्रतिशत मात्र देखियो। मुख्य बिरामी (इन्डेक्स केस) को उपचार सफलतामा पनि पर्मेथ्रिन क्रीम ९१.५ प्रतिशत प्रभावकारी देखिएको छ, जबकि आइभरमेक्टिनमा यो दर ७६.६ प्रतिशत थियो।

व्यक्तिगत स्तरमा पर्मेथ्रिन प्रयोग गर्ने ९४.२ प्रतिशत सहभागी निको भएका छन्। आइभरमेक्टिन प्रयोग गर्ने सहभागीमा यो दर ८५.३ प्रतिशत मात्र रहेको अध्ययनले देखाएको छ। दुवै औषधि पहिलो दिन र १० औँ दिन गरी दुई चरणमा प्रयोग गराइएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार यो परीक्षणले २०० माइक्रोग्राम प्रति किलो मात्रामा प्रयोग गरिएको आइभरमेक्टिन, ५ प्रतिशत पर्मेथ्रिन क्रीम भन्दा कम प्रभावकारी नहुने (non-inferior) प्रमाणित गर्न सकेन। बरु तथ्यांकले पर्मेथ्रिन क्रीमको स्पष्ट सांख्यिकीय श्रेष्ठता देखाएको छ।

यद्यपि, क्लिनिकल अभ्यासमा उपचार छनोट गर्दा औषधि प्रयोग गर्न सजिलोपन, बिरामीको अनुपालन र निरन्तरता, छालाको अवस्था, औषधि प्रति सहनशीलता वा सम्भावित प्रतिरोध जस्ता पक्ष पनि विचार गर्नुपर्ने अनुसन्धानकर्ता हरूको भनाइ छ।

पहिले के थाहा थियो ?

लुतो उपचारमा आइभरमेक्टिन र ५ प्रतिशत पर्मेथ्रिन क्रीम सबै भन्दा धेरै प्रयोग हुने औषधि भए पनि व्यक्तिगत स्तरमा दुवैको प्रभावकारिता बारे ठोस प्रमाण सीमित थिए। सन् २००७ र २०१८ मा प्रकाशित दुई कोक्रेन प्रणालीगत समीक्षाका निष्कर्ष समेत फरक फरक थिए, कहीँ पर्मेथ्रिन बढी प्रभावकारी देखियो भने कहीँ दुवै औषधिमा खास अन्तर देखिएन। जनसंख्या स्तरमा भने आइभरमेक्टिनले लुतोको व्यापकता घटाउन प्रभावकारी भूमिका खेलेको प्रमाण पाइँदै आएको थियो।

यो अध्ययनले के थप्यो ?

यो नयाँ अध्ययनले शरीर भरि लगाइने ५ प्रतिशत पर्मेथ्रिन क्रीम (पहिलो दिन र १० औँ दिन) लाई सामान्य लुतोको पहिलो रोजाइको उपचारका रूपमा प्रयोग गर्न सकिने आधार दिएको छ। विशेष गरी बालबालिका, युवावर्ग, छालामा औषधि लगाउन सकिने अवस्था भएका बिरामी र बाहिरी औषधि प्रयोग गर्न सहमत व्यक्तिमा पर्मेथ्रिन बढी उपयुक्त हुने उल्लेख गरिएको छ, जहाँ औषधि प्रतिरोधको समस्या नदेखिएको हो।

तर नर्सिङ होम, कारागार जस्ता स्थानमा बाहिरी औषधि प्रयोग व्यवहारिक नहुने अवस्थामा वा अन्य विशेष परिस्थितिमा पहिलो रोजाइका रूपमा मुखबाट खाने आइभरमेक्टिन प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!