वृद्धवृद्धाको सारथी बन्दै रोबोट: आत्मनिर्भर जीवनका लागि स्ट्यानफोर्डको नयाँ आविष्कार


लामो समय देखि रोबोटलाई ‘थ्री डी’ अर्थात डल (अल्छी लाग्दो), डर्टी (फोहोर) र डेन्जरस (खतरनाक) कामका लागि मात्र उपयुक्त मानिँदै आएको थियो। तर, अब चौथो ‘डी’ अर्थात डोमेस्टिक (घरायसी) काममा पनि रोबोटको प्रवेश हुने भएको छ।

स्ट्यानफोर्ड रोबोटिक्स सेन्टरका विज्ञहरूले बढ्दो वृद्ध जनसंख्यालाई लक्षित गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउन विशेष रोबोटिक प्रविधिहरू विकास गरिरहेका छन।

सन २०५० सम्ममा अमेरिकामा ६५ वर्ष माथिका वृद्धवृद्धाको संख्या ८ करोड २० लाख पुग्ने प्रक्षेपण गरिएको छ। यो जनसांख्यिकीय परिवर्तनले सिर्जना गर्ने ‘केयरगिभर’ (हेरचाह गर्ने व्यक्ति) को अभावलाई टार्न रोबोट उपयोगी हुने देखिएको छ।

घरभित्र र बाहिर सहयोग गर्ने प्रविधि

स्ट्यानफोर्डका विभिन्न प्रयोगशालाहरूमा अहिले चारवटा मुख्य क्षेत्रमा काम भइरहेको छ ।

  • हिँडडुलमा साथी (रोसी रोबोट): मिसेल बाल्डोनाडोको नेतृत्वमा ‘रोजी’ नामको रोबोट विकास भइरहेको छ, जसले दृष्टिविहीनका लागि ‘गाइड डग’ ले गर्ने जस्तै काम गर्छ। यसले वृद्धवृद्धालाई बाटो देखाउने, खाल्डा खुल्डी वा उबड खाबड जमिन बारे सचेत गराउने र हिँड्दा शारीरिक सहारा दिने काम गर्छ। यसले लड्ने डरले घर बाहिर निस्कन डराउने वृद्धवृद्धालाई पुनः सक्रिय बनाउन मद्दत पुग्नेछ।
  • शक्ति प्रदान गर्ने ‘एक्सोस्केलेटन’ (एन्कल एक्सोस्केलेटन): मेकानिकल इन्जिनियरिङका सह प्राध्यापक स्टिभ कोलिन्सको ल्याबले खुट्टामा लगाउन मिल्ने विशेष उपकरण तयार गरेको छ। यसले मानिसको हिँडाइको तरिका बुझेर पाइला चाल्ने बेला थप बल (पुश) प्रदान गर्छ। यसले गर्दा भर्‍याङ चढ्न र लामो दूरी हिँड्न सजिलो हुन्छ। परीक्षणका क्रममा यसले १७ प्रतिशत कम ऊर्जा खर्च गरेर ९ प्रतिशत छिटो हिँड्न मद्दत गरेको पाइएको छ।
  • लचिलो र नरम रोबोट (सफ्ट रोबोटिक्स): एलिसन ओकामुराले कपडा जस्तै नरम र लचिलो रोबोटहरू बनाउँदै हुनुहुन्छ। यसमा हावा भरिएका ‘वाइन रोबोट’ छन, जो ओछ्यानबाट बिरामीलाई उठाउन वा भुइँमा लडेका मानिसलाई बिस्तारै माथि उठाउन सक्षम छन। यो प्रविधिले वृद्धवृद्धालाई चोट लाग्नबाट बचाउँदै हेरचाहकर्ताको कार्य बोझ कम गर्छ।
  • संवेदनशील हात (टच-सेन्सिटिभ फिंगरटिप्स): रोबोटलाई वस्तुको स्पर्श महसुस गराउन मनरो केनेडीको टोलीले ‘रोबोटिक फिंगरटिप्स’ विकास गरेको छ। यी औँलाहरू यति संवेदनशील छन कि तिनले ऐँसेलु जस्ता नरम फललाई नकिचिकन समात्न सक्छन। यो प्रविधिले भविष्यमा औषधि खोल्ने, सानो चक्की भुइँबाट टिप्ने वा नुहाउन र लुगा लगाउन मद्दत गर्ने कामलाई सम्भव बनाउनेछ।

आत्मनिर्भर जीवनको आशा

महामारी विज्ञानकी प्राध्यापक एब्बी किंग भन्नुहुन्छ, ‘आत्मनिर्णयको अधिकार बुढ्यौलीमा निकै महत्त्वपूर्ण हुन्छ। हामी चाहन्छौँ कि मानिसहरूले आफ्नो जीवन आफैँ चलाइरहेको महसुस गरून।’

स्ट्यानफोर्डका विज्ञहरूका अनुसार यी प्रविधिहरू व्यावसायिक रूपमा बजारमा आउन अब धेरै समय लाग्ने छैन। आगामी ५ वर्ष भित्रै यस्ता उपकरणहरू सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यसले वृद्धवृद्धालाई अरूको भर नपरी आफ्नै घरमा सम्मानजनक र स्वतन्त्र जीवन बिताउन ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!