वृद्धवृद्धाले किन अपनाउन सक्दैनन स्वस्थ जीवनशैली? अध्ययनको निष्कर्षले के भन्छ ?
काठमाडौँ – बढ्दो उमेर सँगै स्वस्थ जीवनशैली अपनाउनु महत्वपूर्ण हुन्छ, तर धेरै वृद्धवृद्धाहरू का लागि यो चुनौतीपूर्ण देखिएको छ। हालै ‘बीएमजे ओपन’ जर्नलमा प्रकाशित एक अध्ययनले वृद्धवृद्धाहरूले स्वस्थ जीवनशैली अपनाउन नसक्नुका पछाडि व्यक्तिगत इच्छा शक्ति मात्र नभई विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक अवरोधहरू जिम्मेवार रहेको देखाएको छ। बीएमजे ओपन’ जर्नलमा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
यो गुणात्मक (क्वालिटेटिभ) अध्ययनले के निष्कर्ष निकालेको छ भने वृद्धवृद्धाहरूका लागि ल्याइने स्वास्थ्य कार्यक्रमहरू केवल सैद्धान्तिक मात्र नभई उनीहरूको वास्तविक समस्या र परिवेशलाई सम्बोधन गर्ने खालका हुनुपर्छ।
नेपाल जस्तो श्रीलङ्कासँग मिल्दोजुल्दो सामाजिक संरचना भएको देशमा पनि यो अध्ययनको निष्कर्ष उत्तिकै सान्दर्भिक देखिन्छ ।वृद्धवृद्धा मैत्री वातावरण, आर्थिक सहयोग र उनीहरूको आत्मसम्मानमा आँच नआउने गरी स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ।
श्रीलङ्काको कलुतारा जिल्लाका ६० देखि ७४ वर्ष उमेर समूहका वृद्धवृद्धाहरूमा गरिएको यस गहन अन्तर्वार्तामा आधारित अध्ययनले ६ वटा मुख्य बाधाहरू पहिचान गरेको छ ।
ज्ञान र सूचनाको अभाव
धेरै वृद्धवृद्धाहरूलाई आफ्नो स्वास्थ्य सुधार गर्न जीवनशैलीमा कसरी परिवर्तन ल्याउने भन्ने स्पष्ट जानकारी नभएको पाइएको छ। स्वास्थ्य शिक्षाका कार्यक्रमहरू उनीहरू सम्म नपुग्नु वा बुझ्ने गरी प्रवाह नहुनु मुख्य समस्या देखिएको छ।
आर्थिक कठिनाइ
आर्थिक असुरक्षा स्वस्थ जीवनशैलीको बाटोमा ठुलो तगारो बनेको छ। पोषिलो खाना खान वा स्वास्थ्य सेवाको पहुँचका लागि आवश्यक खर्च जुटाउन नसक्दा उनीहरूले चाहेर पनि स्वस्थ बानीहरू अपनाउन सकेका छैनन।
कमजोर स्वास्थ्य अवस्था
अध्ययनमा सहभागी धेरैले आफ्नो शरीरको अवस्था नै मुख्य अवरोध भएको बताएका छन्। शारीरिक अपाङ्गता, पुराना रोगहरू र धेरै प्रकारका औषधिहरूको सेवन (पोलीफार्मेसी) ले गर्दा उनीहरूलाई व्यायाम वा अन्य सक्रिय गतिविधिमा संलग्न हुन कठिन हुने गरेको छ।
पारिवारिक र घरेलु जिम्मेवारी
धेरै वृद्धवृद्धाहरू नाति नातिनाको हेरचाह र घर धन्दामा व्यस्त हुनुपर्ने बाध्यता छ। यसले गर्दा उनीहरूले आफ्नो स्वास्थ्यका लागि समय निकाल्न पाउँदैनन। कतिपय अवस्थामा घरेलु कलह र हिंसाका कारण पनि उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर परेको पाइएको छ।
सांस्कृतिक मान्यता र सामाजिक संकोच
विशेष गरी ग्रामीण क्षेत्रमा ‘वृद्ध अवस्थामा व्यायाम गर्नु उचित हुँदैन’ वा ‘यो उमेरमा खेलकुद गर्नु लाजमर्दो कुरा हो’ भन्ने सामाजिक सोच व्याप्त छ। यस्ता सांस्कृतिक र धार्मिक विश्वासका कारण वृद्धवृद्धाहरू सार्वजनिक स्थानमा सक्रिय हुन हिचकिचाउने गरेको देखिन्छ।
फेरिँदो बसोबास र सहरीकरण
कतिपय वृद्धवृद्धाहरू गाउँको खुल्ला वातावरण छोडेर सहरमा छोराछोरी सँग बस्न आउँदा नयाँ वातावरणमा घुलमिल हुन कठिन हुने गरेको छ। सहरको साँघुरो ठाउँ र एक्लोपनले गर्दा उनीहरूको सक्रिय जीवनशैली खुम्चिएको अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस