‘बॉडी-वान्डरिङ’: मन शरीरका अंगमा डुल्नु डिप्रेसन र एडीएचडी विरुद्धको सुरक्षा कवच हुन सक्ने
काठमाडौँ – हामी फुर्सदमा हुँदा वा केही काम नगरी बस्दा हाम्रो मन अक्सर यताउता डुलिरहेको हुन्छ। वैज्ञानिकहरूले यसलाई ‘माइन्ड-वान्डरिङ’ भन्दछन। हालै ५३६ जना सहभागीहरूमा गरिएको एक वृहत अनुसन्धानले जब हाम्रो मन शरीरका भित्री अंगहरू, जस्तै मुटुको धड्कन, श्वास प्रश्वास वा पेटको संवेदना तिर केन्द्रित हुन्छ, त्यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ।
वैज्ञानिकहरूले यस अवस्थालाई ‘बॉडी-वान्डरिङ’ नाम दिएका छन। यो अध्ययन ‘प्रोसीडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित छ, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
डेनमार्कको आरहस विश्वविद्यालयका न्यूरोसाइंटिस्ट मिकाह एलेनको नेतृत्वमा गरिएको यो अध्ययनले मन शरीरमा डुल्दा तत्कालका लागि केही नकारात्मक भावना महसुस भए पनि दीर्घकालीन रूपमा यसले डिप्रेसन र एडीएचडी को जोखिम घटाउने निष्कर्ष निकालेको छ।
अनुसन्धानको विधि: मस्तिष्कको ‘फिंगरप्रिन्ट’ खोजी
अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई १४ मिनेटसम्म एमआरआई स्क्यानरमा स्थिर राखेर उनीहरूको मस्तिष्कको गतिविधिलाई नियालेका थिए। त्यस पछि उनीहरूलाई स्क्यानका दौरान कस्ता विचारहरू आए भनेर २२ वटा विभिन्न प्रश्नहरू सोधिएको थियो। ती प्रश्नहरूमा परम्परागत विचार (विगत, भविष्य, सामाजिक सम्बन्ध) का साथै शरीरका ८ वटा आन्तरिक संवेदनाहरू (मुटु, फोक्सो, पेट, छाला, मूत्राशय आदि) समावेश थिए।
मुख्य निष्कर्षहरू
तत्कालको अनुभव र नकारात्मकता: अध्ययनका अनुसार, जसको मन शरीरका अंगहरूको संवेदनातिर बढी गयो, उनीहरूले त्यो क्षणमा केही नकारात्मक भावना वा उच्च उत्तेजना (हाई अरोउजल) महसुस गरे। अनुसन्धानकी सह लेखिका लीया बनेलिसका अनुसार, एमआरआई स्क्यानरको बन्द र साँघुरो वातावरणले गर्दा पनि शरीरमा ध्यान जाँदा मानिसलाई केही असहज वा नकारात्मक महसुस भएको हुन सक्छ।
दीर्घकालीन लाभ: डिप्रेसन र एडीएचडी मा कमी:आश्चर्यजनक रूपमा, जसमा ‘बॉडी-वान्डरिङ’ गर्ने प्राकृतिक प्रवृत्ति बढी थियो, उनीहरूमा डिप्रेसन (अवसाद) र एडीएचडी (एकाग्रताको कमी) का लक्षणहरू निकै कम पाइयो। यस अघिका अध्ययनहरूले डिप्रेसन भएका व्यक्तिहरूमा आफ्नो शरीरको आन्तरिक संकेत बुझ्ने क्षमता (इन्टरओसेप्सन) कम हुने देखाएका थिए। तर, यो नयाँ अनुसन्धानले शरीरका संकेतहरू प्रति जागरूक रहनुले मानिसलाई नकारात्मक सोचको दुष्चक्रबाट बचाउन मद्दत गर्ने पुष्टि गरेको छ।
मस्तिष्कको विशिष्ट सञ्जाल: न्युरोइमेजिङले देखाए अनुसार ‘बॉडी-वान्डरिङ’ गर्ने व्यक्तिहरूको मस्तिष्कमा ‘थ्यालामोकोर्टिकल-सोमाटोमोटर’ सञ्जालको कनेक्टिभिटी बढी हुन्छ। यो साधारण दिवास्वप्न (डे ड्रीमिङ) भन्दा फरक र विशिष्ट न्युरोलोजिकल अवस्था हो। यसले मस्तिष्क र शरीरका अंगहरूबीचको सञ्चारलाई बलियो बनाउँछ।
आरहस विश्वविद्यालयका प्रोफेसर मिकाह एलेन भन्छन्, ‘हाम्रा विचारहरू शरीरबाट अलग छैनन। हाम्रा अंगहरूबाट आउने संकेतहरूले हामीले के सोच्छौँ र कस्तो महसुस गर्छौँ भन्ने कुरालाई शान्त रूपमा निर्देशित गरिरहेका हुन्छन।’
त्यस्तै, क्यानडाको वाटरलू विश्वविद्यालयका न्यूरोसाइंटिस्ट ड्यानियल स्माइलकले यो अध्ययनले माइन्ड वान्डरिङको एउटा नयाँ र रोचक पाटो अगाडि ल्याएको बताएका छन। उनले प्रयोगशाला बाहिरको दैनिक जीवनमा यसको प्रभाव कस्तो रहन्छ भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको पनि उल्लेख गरे।
यो अध्ययन किन महत्त्वपूर्ण छ?
अहिले सम्म वैज्ञानिकहरूले मन भटकिनुलाई केवल स्मरणशक्ति वा योजना बनाउने मानसिक प्रक्रियाको रूपमा मात्र हेर्थे। तर, यो अध्ययनले देखाएको छ कि शरीरका आन्तरिक गतिविधिमा ध्यान दिनु वास्तवमा मानसिक स्वास्थ्यको लागि एक प्रकारको सुरक्षा संयन्त्र हुन सक्छ। यसले भविष्यमा डिप्रेसन र ध्यान केन्द्रित गर्न नसक्ने समस्याहरूको उपचारमा ‘माइंडफुलनेस’ र शरीर केन्द्रित थेरापीहरूलाई थप वैज्ञानिक आधार प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस