सन्तानको शिक्षाले बाआमाको स्वास्थ्यमा सुधार: नेपाल जस्तै सामाजिक परिवेश भएका देशहरूको अध्ययनले के भन्छ?


काठमाडौँ – सन्तानले उच्च शिक्षा हासिल गर्दा त्यसको प्रत्यक्ष लाभ बाआमाको बुढ्यौलीको स्वास्थ्यमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। ‘सोसल साइन्स एन्ड मेडिसिन’ जर्नलमा हालै प्रकाशित उक्त अध्ययन 👉यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

उक्त अनुसन्धानले अमेरिका, मेक्सिको र भारतका हजारौँ वृद्धवृद्धाहरू को तथ्याङ्क विश्लेषण गर्दै सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्य बीचको गहिरो सम्बन्ध फेला पारेको हो।

नेपाल जस्तै सामाजिक र पारिवारिक संरचना भएको छिमेकी मुलुक भारत सहित तीन देशका ४५ हजार भन्दा बढी वृद्धवृद्धाहरूमा गरिएको यो अध्ययनले सन्तान शिक्षित हुँदा बाआमाको मानसिक र शारीरिक स्वास्थ्यमा कसरी सकारात्मक परिवर्तन आउँछ भन्ने कुरालाई उजागर गरेको छ।

अध्ययनको मुख्य निष्कर्ष

अध्ययनले अमेरिका जस्तो विकसित देश र भारत जस्तो विकासोन्मुख देशमा सन्तानको शिक्षाको प्रभाव फरक फरक तरिकाले पर्ने देखाएको छ। अमेरिकामा शिक्षित सन्तानहरू प्रायः बाआमाबाट टाढा बस्छन, तर उनीहरूले बाआमालाई आर्थिक र मनोवैज्ञानिक रूपमा बलियो बनाउँछन। उता भारतमा भने शिक्षित सन्तानहरू बाआमा सँगै बसेर वा नजिकै बसेर प्रत्यक्ष सेवा गर्ने गरेको पाइन्छ।

‘सन्तानको शिक्षामा लगानी गर्नु भनेको उनीहरूको भविष्य सुधार्नु मात्र होइन, बरु आफ्नै बुढ्यौलीको स्वास्थ्य सुरक्षित गर्नु पनि हो,’ अध्ययनले संकेत गरेको छ।

यस अनुसन्धानले सरकार र नीति निर्माताहरूलाई के सुझाव दिएको छ भने, शिक्षामा गरिने लगानीले स्वास्थ्य क्षेत्रमा हुने सरकारी खर्चलाई समेत दीर्घकालीन रूपमा घटाउन मद्दत गर्छ। किन भने शिक्षित परिवारका वृद्धवृद्धाहरू स्वस्थ रहने सम्भावना बढी हुन्छ।

सन्तानको शिक्षाले बाआमालाई कसरी फाइदा पुर्‍याउँछ?

अध्ययनका अनुसार शिक्षित सन्तानले आफ्ना बाआमाको स्वास्थ्यमा मुख्यतया चार माध्यमबाट प्रभाव पार्छन ।

  • आर्थिक सहयोग: शिक्षित सन्तानले आर्थिक रूपमा सबल हुने भएकाले बाआमालाई उपचार र पोषणका लागि सिधै रकम पठाउने सम्भावना बढी हुन्छ। भारत र मेक्सिको जस्ता देशमा यो प्रभाव निकै बलियो देखिएको छ।
  • पारिवारिक सम्पर्क र साथ: अध्ययनले के देखाएको छ भने भारतमा सन्तान जति धेरै शिक्षित छन, उनीहरू बाआमासँगै बस्ने वा नजिकै बस्ने सम्भावना उत्तिकै बढी छ। यसले वृद्धवृद्धालाई एक्लोपनबाट जोगाउँछ।
  • मानसिक स्वास्थ्यमा सुधार: शिक्षित सन्तान भएका बाआमामा डिप्रेसन (उदासीपन) को समस्या कम देखिएको छ। सन्तानको प्रगतिले बाआमामा जीवनप्रति सन्तुष्टि बढाउने र मानसिक तनाव घटाउने अध्ययनको निष्कर्ष छ।
  • स्वास्थ्य व्यवहारमा परिवर्तन: शिक्षित सन्तानले आफ्ना बाआमालाई समयमै डाक्टरकहाँ लैजाने, व्यायाम गर्न प्रोत्साहित गर्ने र धुम्रपान जस्ता हानिकारक बानीहरू छुटाउन मद्दत गर्छन।

नेपालका लागि किन सान्दर्भिक छ यो अध्ययन?

नेपाल, भारत र मेक्सिकोको पारिवारिक ढाँचा धेरै हद सम्म मिल्दो जुल्दो छ। अध्ययनमा समेटिएको भारतीय तथ्याङ्क लङ्गिट्युडिनल एजिङ स्टडी इन इन्डिया (लासी)अनुसार :

  • छोरा र छोरीको भूमिका: भारतमा छोरीहरू शिक्षित हुँदा उनीहरूले आफ्ना बाआमाको स्वास्थ्यमा गर्ने सहयोग छोराको तुलनामा कम छैन। विशेष गरी शिक्षित छोरीहरूले बाआमाको हेरचाहमा बढी चासो दिने गरेको पाइएको छ।
  • डाक्टरको पहुँच: शिक्षित सन्तान भएका बाआमाहरूले परम्परागत उपचार पद्धति भन्दा आधुनिक चिकित्सा (वेस्टर्न मेडिसिन) र दक्ष चिकित्सकको सेवा लिने सम्भावना बढी हुन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!