मानिसको जन्म देखि १०० वर्षसम्मको मस्तिष्क विकासबारे पहिलो पटक ‘नक्सा’ तयार
काठमाडौँ – वैज्ञानिकहरूले मानव मस्तिष्कको कार्यप्रणाली बुझ्ने दिशामा एउटा ठूलो सफलता हासिल गरेका छन । करिब ३,५५६ जनाको मस्तिष्क स्क्यान विश्लेषण गरेर उनीहरूले पहिलो पटक एउटा यस्तो विस्तृत ‘एटलस’ (नक्सा) तयार पारेका छन, जसले जन्म देखि १०० वर्षको उमेर सम्म मस्तिष्कका विभिन्न भागहरूबीच हुने समन्वय (फंक्सनल कनेक्टिविटी) मा आउने परिवर्तनलाई देखाउँछ।
वैज्ञानिक जर्नल नेचर मा प्रकाशित यस अध्ययनले युवावस्थामा मस्तिष्कको विशेष ‘कनेक्टिभिटी प्याटर्न’ प्रत्यक्ष रूपमा मानिसको स्मरण शक्ति, सोच्ने गति र समग्र बौद्धिक क्षमतासँग जोडिएको तथ्य पनि बाहिर ल्याएको छ।
मस्तिष्कका तीन मुख्य आधार (एक्सेस)
नर्थ क्यारोलाइना विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक प्याट्रिक टेलरका अनुसार, मस्तिष्कको काम गर्ने तरिकालाई तीनवटा मुख्य आधारमा बुझ्न सकिन्छ ।
- सेन्सरी-टु-एसोसिएसन: यसले साधारण महसुस गर्ने प्रक्रिया (जस्तै: देख्नु वा सुन्नु) देखि जटिल सोच सम्मका क्षेत्रलाई जोड्छ।
- संज्ञानात्मक नियन्त्रण (कग्निटिभ कन्ट्रोल): यसले ध्यान केन्द्रित गर्ने, निर्णय लिने र सोचलाई नियन्त्रण गर्ने काम गर्छ ।
- आन्तरिक सोच र भावना: यो भागले भावनात्मक र मानसिक चित्र (मेण्टल रिप्रेजेन्टेशन) बनाउन भूमिका खेल्छ।
छोटकरीमा भन्दा, यी तीन आधारले मस्तिष्कको कामलाई तीन स्तरमा बाँड्छन – महसुस गर्नु, सोच्नु-बुझ्नु र त्यसलाई व्यवस्थित गर्नु।
उमेर सँगै कसरी बदलिन्छ मस्तिष्क?
१६ दिनका शिशुदेखि १०० वर्षका वृद्धसम्मको ‘फङ्क्सनल एमआरआई’ स्क्यान विश्लेषण गर्दा जीवनका विभिन्न चरणमा यी तीन वटै आधारहरू फरक फरक तरिकाले विकसित हुने पाइएको छ।
अध्ययनका अनुसार, ‘सेन्सरी-टु-एसोसिएसन’ प्रक्रिया करिब १९ वर्षको उमेरमा आफ्नो उच्चतम विन्दुमा पुग्छ। यसले मस्तिष्कलाई एक परिपक्व वयस्क संरचना तर्फ लैजान्छ। त्यस्तै, संज्ञानात्मक नियन्त्रण सँग सम्बन्धित भागको विकासले सुरुवाती चरणमा मानिसको शारीरिक हाउभाउ र सीप (मोटर स्किल्स) विकासमा मद्दत पुर्याउँछ।
रोग पहिचानमा नयाँ आशा
यो अनुसन्धानले स्वास्थ्य क्षेत्रमा विशेष महत्त्व राख्ने देखिएको छ ।
- विकास सम्बन्धी समस्या: बालबालिकाको हुर्कने क्रममा देखिने मानसिक समस्याहरू बुझ्न।
- स्नायु सम्बन्धी रोग: बुढ्यौलीमा हुने बिर्सने रोग (डिमेन्सिया) वा अन्य गम्भीर समस्याहरू कहिले र कसरी सुरु हुन्छन् भन्ने पत्ता लगाउन।
युनिभर्सिटी अफ पेन्सिलभेनियाका न्यूरोवैज्ञानिक ज्याकोब सेडलिट्ज यसलाई निकै उपयोगी मान्छन्। यद्यपि, युनिभर्सिटी अफ मिनेसोटाका क्लिनिकल साइकोलोजिस्ट म्याक्सवेल इलियट भने यो एटलसले अझै पनि व्यक्तिगत स्तरमा मस्तिष्कको कनेक्टिभिटी पूर्ण रूपमा बुझ्न नसक्ने बताउँछन्। भविष्यमा कुनै एक व्यक्तिको मस्तिष्कमा समयसँगै हुने सटीक परिवर्तनलाई ट्र्याक गर्नु वैज्ञानिकहरूका लागि अबको मुख्य चुनौती हुनेछ।

प्रतिक्रिया दिनुहोस