उच्च सुगर भएकाहरूका लागि ‘केटो डाइट’ र व्यायामको कमाल: नयाँ अनुसन्धानको खुलासा


काठमाडौँ – नेचर कम्युनिकेशन्समा प्रकाशित एक नयाँ अध्ययन अनुसार, हाइपरग्लाइसेमिया अर्थात् रगतमा चिनी (ग्लुकोज)को मात्रा अत्यधिक बढ्ने समस्या भएकाहरूका लागि ‘केटोजेनिक डाइट’  र शारीरिक व्यायामको सन्तुलन निकै प्रभावकारी हुने देखिएको छ ।

मुसामा गरिएको यो अनुसन्धानले चिनीको मात्रा बढी भएका शरीरमा व्यायामले मात्र ल्याउन नसकेको सकारात्मक परिवर्तन केटो डाइटले ल्याउन सक्ने देखाएको छ। यो अध्ययन ‘नेचर कम्युनिकेशन्स’ जर्नलमा प्रकाशित छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

के हो अध्ययनको निष्कर्ष?

सामान्यतया, रगतमा चिनीको मात्रा सधैं बढी रहने व्यक्तिहरूमा एरोबिक व्यायाम (जस्तै दौडिने वा साइकल चलाउने) गर्दा पनि शरीरले पाउनु पर्ने जति लाभ पाइ रहेको हुँदैन। यसलाई ‘भीओ टू पिक’ भनिन्छ, जसले शरीरले कति अक्सिजन प्रयोग गर्न सक्छ भन्ने क्षमता बुझाउँछ।

अध्ययनका अनुसार, यदि कसैको रगतमा चिनीको मात्रा सधैं उच्च रहन्छ र व्यायाम गर्दा पनि सोचे जस्तो फिट हुन सकिएको छैन भने, खानपानमा परिवर्तन (केटो डाइट) एउटा राम्रो विकल्प हुन सक्छ। यसले व्यायामबाट प्राप्त हुने स्वास्थ्य लाभलाई फेरि जगाउन मद्दत गर्छ।

यद्यपि, कुनै पनि नयाँ डाइट वा कडा व्यायाम सुरु गर्नुअघि विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ।

के हो केटो डाइट

छोटकरीमा भन्नुपर्दा, केटोजेनिक वा ‘केटो’ डाइट भनेको धेरै चिल्लो पदार्थ (फ्याट), ठिक्क मात्रामा प्रोटिन र एकदमै न्यून मात्रामा कार्बोहाइड्रेट समावेश गरिएको खानपानको शैली हो। सामान्यतया हाम्रो शरीरले ऊर्जाका लागि कार्बोहाइड्रेटबाट बन्ने ‘ग्लुकोज’ प्रयोग गर्छ, तर जब हामी भात, रोटी वा चिनी जस्ता कार्बोहाइड्रेट खान छोड्छौँ, तब शरीरले ऊर्जाका लागि जम्मा भएको बोसोलाई जलाउन थाल्छ। यो अवस्थालाई विज्ञानमा ‘केटोसिस’ भनिन्छ, जहाँ शरीरले चिनीको सट्टा बोसोबाट बनेको ‘केटोन’लाई इन्धनको रूपमा प्रयोग गरेर मस्तिष्क र मांसपेशीलाई ऊर्जा दिन्छ। खासगरी तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरको मेटाबोलिज्म सुधार्न यो डाइट विश्वभर चर्चित छ।

केटोजेनिक डाइटले कसरी काम गर्छ?

केटो डाइटमा कार्बोहाइड्रेटको मात्रा निकै कम र चिल्लो पदार्थको मात्रा धेरै हुन्छ। यसले कलेजोलाई ‘केटोन बडी’ उत्पादन गर्न प्रेरित गर्छ। यही केटोनले शरीरमा चिनीको उपलब्धता कम हुँदा पनि ऊर्जा दिने काम गर्छ।

के यो मानिसका लागि पनि उत्तिकै प्रभावकारी छ?

यो अध्ययन मुख्यतया मुसामा केन्द्रित भए पनि यसले मधुमेह (डायबिटिज) र उच्च सुगर भएका मानिसहरूका लागि नयाँ उपचार पद्धतिको ढोका खोलेको छ।

अध्ययनले देखाएको छ 

  • केटो डाइटले रगतमा चिनीको स्तर सामान्य बनाउन मद्दत गर्छ
  • यसले शरीरलाई बोसो पगालेर ऊर्जा निकाल्न (फ्याटी एसिड अक्सिडेशन) सक्षम बनाउँछ ।
  • तर, केटो डाइट मात्रै लिँदा मांसपेशीमा ‘ग्लाइकोजेन’ (थुप्रिएको ऊर्जा) कम हुने भएकाले धेरै बेर सम्म गरिने कडा परिश्रममा भने केही कठिनाइ हुन सक्छ।

अध्ययनमा देखिएका मुख्य कुराहरु

  • व्यायामको क्षमतामा सुधार: उच्च सुगर भएका मुसाहरूलाई साधारण कार्बोहाइड्रेट युक्त खाना दिँदा व्यायामको नतिजा राम्रो देखिएन। तर, जब उनीहरूलाई उच्च चिल्लो र कम कार्बोहाइड्रेट भएको ‘केटो डाइट’ दिइयो, उनीहरूको अक्सिजन प्रयोग गर्ने क्षमता (भीओ टू पिक) मा उल्लेख्य सुधार आयो।
  • मांसपेशीको पुनर्निर्माण: केटो डाइटले मांसपेशी भित्र हुने ‘माइटोकोन्ड्रिया’ (कोशिकाको ऊर्जा घर) लाई पुनर्गठित गर्न मद्दत गर्छ। यसले गर्दा शरीरले चिनीको सट्टा बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्न सिक्छ।
  • रक्तनलीको घनत्वमा वृद्धि: केटो डाइट र व्यायामको मिश्रणले मांसपेशीहरूमा रगत पुर्‍याउने साना नलीहरूको संख्या (क्यापिलरी डेन्सिटी) बढाएको पाइयो, जसले गर्दा मांसपेशीले बढी अक्सिजन र पोषक तत्व पाउँछन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!