अनुसन्धान
मुटुको स्वास्थ्य र पेटका ब्याक्टेरिया बीच गहिरो सम्बन्ध: वैज्ञानिकहरूको नयाँ खुलासा
काठमाडौँ – विश्वभर बर्सेनि करिब २ करोड मानिसको मृत्युको मुख्य कारण मुटु सम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिजेस) बन्ने गरेको छ। हाल सम्म मुटु रोगको जोखिमका लागि मुख्यतया वंशाणुगत गुण र खानपान वा वातावरणलाई जिम्मेवार मानिँदै आएको थियो। तर, हालै गरिएको एक अनुसन्धानले हाम्रो पेटमा रहने सूक्ष्म जीवहरू (माइक्रोब्स) ले मुटुको धमनी सम्बन्धी रोग निम्त्याउन निर्णायक भूमिका खेल्ने तथ्य फेला पारेको छ।
अनुसन्धानको विधि र मुख्य निष्कर्ष
अनुसन्धान टोलीले मुटु रोग भएका १४ जना र स्वस्थ २८ जना व्यक्तिको दिसाको नमूना संकलन गरी ‘मेटाजेनोमिक सिक्वेन्सिङ’ प्रविधिबाट अध्ययन गरेका थिए। यो प्रविधिले नमूनामा रहेका सम्पूर्ण सूक्ष्म जीवहरूको डीएनए विश्लेषण गरी तिनीहरूको कार्य प्रणाली पत्ता लगाउँछ।
अध्ययनको नेतृत्व गरेकी जेनोमिस्ट डा. हन ना किमका अनुसार, अनुसन्धानले १५ वटा यस्ता विशिष्ट ब्याक्टेरियाहरू पहिचान गरेको छ, जसको प्रत्यक्ष सम्बन्ध मुटुको रोगसँग छ।
‘हामीले पेटमा कुन कुन ब्याक्टेरिया बस्छन भन्ने मात्र होइन, तिनीहरूले मुटु र पेटको सम्पर्कमा रहेर वास्तवमा के काम गर्छन् भन्ने रहस्य पनि पत्ता लगाएका छौँ,’ डा. किमले भनिन ।
‘डाक्टर जेकिल र मिस्टर हाइड’ जस्तै ब्याक्टेरिया
यस अनुसन्धानको सबै भन्दा रोचक पक्ष के छ भने, सामान्यतया शरीरका लागि लाभदायक मानिने ब्याक्टेरियाहरू पनि बिरामीको शरीरमा पुग्दा हानिकारक बन्न सक्ने देखिएको छ। डा. किमले यसलाई चर्चित काल्पनिक पात्र ‘ डाक्टर जेकिल र मिस्टर हाइड’ सँग तुलना गरेकी छिन, जो कहिले असल त कहिले खराब चरित्रमा देखिन्छन।
उपचारको नयाँ दिशा
वैज्ञानिकहरूका अनुसार अबको मुख्य चुनौती कुन ब्याक्टेरियाले शरीरको रक्षा गर्छ र कुनले समस्या निम्त्याउँछ भन्ने स्पष्ट छुट्याउनु हो। यो खोजले भविष्यमा मुटु रोगको उपचार र रोकथाममा नयाँ क्रान्ति ल्याउन सक्ने विश्वास गरिएको छ।
‘मुटु रोगको भार कम गर्न रोकथाम नै सबैभन्दा उत्तम उपाय हो,’ डा. किम भन्छिन। अबको चरणमा पेटका यी सूक्ष्म जीवहरूको संकेतलाई व्यक्तिको वंशाणुगत तथ्याङ्कसँग जोडेर हेरिनेछ। यसबाट भविष्यमा बिरामीको पेटको परीक्षण गरेरै मुटु रोग लाग्ने सम्भावना पत्ता लगाउन र सोही अनुसार विशेष खानपान वा ‘माइक्रोबियल थेरापी’ मार्फत उपचार गर्न सम्भव हुनेछ।
अध्ययनका अनुसार
- उपयोगी ब्याक्टेरियाको कमी: मुटु रोगीहरूको पेटमा शरीरलाई सुरक्षा दिने ‘फ्याकालिब्याक्टेरियम प्राउस्निट्जी’ जस्ता ब्याक्टेरियाहरूको संख्या निकै कम पाइएको छ।
- सूजन र असन्तुलन: रोगीहरूको पेटमा यस्ता तत्वहरू बढी सक्रिय थिए जसले शरीरमा जलन वा सूजन (इन्फ्लेमेसन) बढाउँछन् र मेटाबोलिक सन्तुलन बिगार्छन।
- दोहोरो चरित्र: ‘एकरमान्सिया मुसिनिफिला’ जस्ता ब्याक्टेरियाहरू स्वस्थ मानिसमा फाइदाजनक देखिए पनि मुटु रोगीको शरीरमा पुग्दा तिनले नकारात्मक भूमिका खेलिरहेका थिए।

प्रतिक्रिया दिनुहोस