क्यान्सर जितेका बालबालिकाको दीर्घकालीन स्वास्थ्य अवस्था उत्साहजनक, ९४ प्रतिशत भन्दा बढी ५ वर्षसम्म जीवित


नयाँ दिल्ली (ब्युरो)- भारतमा क्यान्सर उपचार पूरा गरेका बालबालिका हरूको स्वास्थ्य अवस्था र उनीहरूको जीवन रक्षाको दर निकै उच्च रहेको एक पछिल्लो अध्ययनले देखाएको छ।

‘द ल्यान्सेट रिजनल हेल्थ साउथ इस्ट एसिया’मा प्रकाशित ‘इन्डियन चाइल्डहुड क्यान्सर सरभाइभरसिप’ नामक अध्ययन लाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले उपचार पछि निको भएका बालबालिकाहरूको दीर्घकालीन स्वास्थ्य अवस्था बारे महत्त्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।

सन २०१६ देखि २०२४ सम्म भारतका २० वटा विभिन्न स्वास्थ्य केन्द्रहरूमा गरिएको यस बहु केन्द्रित अध्ययनमा ५,४१९ जना क्यान्सर सर्भाइभर (क्यान्सर जितेकाहरू) लाई समेटिएको थियो।

अध्ययनका अनुसार क्यान्सरको उपचार पूरा गरेका कुल बालबालिकाहरू मध्ये ९४.५ प्रतिशत ५ वर्षसम्म पूर्ण रूपमा स्वस्थ र जीवित पाइएका छन।

अध्ययनमा सहभागी बालबालिकाहरू मध्ये सबै भन्दा धेरै ४०.९ प्रतिशतमा ‘एक्युट ल्युकेमिया’ (रगतको क्यान्सर) देखिएको थियो। यस्तै, १२.९ प्रतिशतमा हड्किन्स लिम्फोमा, ८.४ प्रतिशतमा हड्डीको ट्युमर र ७.४ प्रतिशतमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) पाइएको थियो।

उपचार पद्धतिका आधारमा ९४.७ प्रतिशतले केमोथेरापी, ३०.३ प्रतिशतले शल्यक्रिया र २६.३ प्रतिशतले रेडियोथेरापी सेवा लिएका थिए।

अध्ययनले देखाएअनुसार उपचार सकिएको दुई वर्ष नाघि सकेका बालबालिकाहरूमा आगामी ५ वर्ष सम्म जीवित रहने सम्भावना (ओभरअल सर्वाइवल) ९८.२ प्रतिशत सम्म पुगेको छ, जुन दक्षिण एसियाली सन्दर्भमा निकै सकारात्मक नतिजा हो।

चुनौती र फलो-अपको अवस्था

दक्षिण एसियाली मुलुकहरूमा क्यान्सर उपचार पछिको फलो अप अझै पनि चुनौतीपूर्ण रहेको अध्ययनले औंल्याएको छ। अध्ययन अवधिमा करिब ९.३ प्रतिशत बालबालिकाहरू स्वास्थ्य निगरानी (फलो अप) बाट बाहिरिएको वा सम्पर्क विहीन भएको पाइएको छ। बिरामीहरूको बसाइँ सराइ, मोबाइल नम्बर परिवर्तन र डिजिटल स्वास्थ्य अभिलेखको अभावले गर्दा उनीहरूको दीर्घकालीन अवस्था बुझ्न कठिन भएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

यस्तै, न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिकाहरूमा उपचार पछिको स्वास्थ्य जटिलता र रोग दोहोरिने जोखिम केही बढी देखिएको छ।

नीतिगत प्रभाव र आवश्यकता

यो अध्ययन भारत र नेपाल जस्ता मध्यम तथा न्यून आय भएका देशहरूका लागि एउटा महत्वपूर्ण आधार बनेको छ। अध्ययनले क्यान्सर निको हुनु मात्र पर्याप्त नभएको भन्दै उपचारका क्रममा प्रयोग गरिने औषधि र विकिरणले पछि पार्न सक्ने प्रभाव (लेट इफेक्ट्स) बारे नियमित जाँचको आवश्यकतामा जोड दिएको छ।

बालबालिकाको उचाइ, तौल, यौवन अवस्थाको विकास र उनीहरूको मानसिक स्वास्थ्यलाई मध्य नजर गर्दै ‘सर्भाइभरसिप गाइडलाइन’ (निको भएकाहरूको हेरचाह निर्देशिका) बनाउनु पर्ने सुझाव अध्ययनले दिएको छ। यो तथ्याङ्कले आगामी दिनमा क्यान्सर व्यवस्थापन र स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!