अनुसन्धान

कोरियाली लाइट थेरापी टोपीले तालु खुइलिने समस्या ९२% सम्म कम गर्न सक्छ


काठमाडौँ – वैज्ञानिकहरूले एउटा लाइट थेरापी टोपी विकास गरेको दाबी गरेका छन् जसले कपाल झर्ने, तालु खुइलिने समस्या ९२% सम्म कम गर्न सक्छ।

कोरियन एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरू यो थेरापी विकास गरेका हुन । यस प्रविधिको विकासले भविष्यमा कपाल झर्ने समस्या (एलोपेसिया) को गैर आक्रामक र प्रभावकारी व्यवस्थापनमा नयाँ क्रान्ति ल्याउने विश्वास लिइएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ उपचारले मानव छालाको प्यापिला कोषहरूलाई प्रत्यक्ष रूपमा लक्षित गर्दछ। यी कोषहरू कपालको फोलिकल्सको आधारमा अवस्थित हुन्छन र कपालको वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छन। कपालको उमेर बढ्दै जाँदा वा झर्न थाल्दा, यसले बीटा ग्यालेक्टोसिडेज भनिने इन्जाइमको उच्च स्तर उत्पादन गर्दछ। यो इन्जाइमलाई कोषको बुढ्यौली र कपाल झर्ने प्रमुख बायोमार्कर मानिन्छ।

‘नेचर कम्युनिकेसन्स’ जर्नलमा यो अध्ययन प्रकाशित भएको छ। जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन अनुसार, कपडामा जडान गर्न सकिने विशेष प्रकारको ‘नियर-इन्फ्रारेड अर्गानिक लाइट इमिटिङ डायोड’ बाट कपाल पलाउन मद्दत पुग्ने देखिएको छ।

अहिले कपाल झर्ने समस्याका लागि प्रयोग गरिने औषधिहरूले हर्मोनमा असन्तुलन ल्याउने र मानसिक तनाव बढाउने जस्ता नकारात्मक असरहरू देखाउने गर्छन। तर, यो नयाँ ‘फोटोथेरापी’ प्रविधिले कुनै पनि नकारात्मक असर बिना कपालको फेदमा रहेका कोशिकाहरूलाई सक्रिय बनाउने दाबी गरिएको छ।

अहिले सम्मका ‘लाइट थेरापी’ उपकरणहरू ठूला, भारी र अस्पताल वा घर भित्र मात्र प्रयोग गर्न मिल्ने खालका थिए। तर यो नयाँ प्रविधि कपडा मै जडान हुने भएकाले मानिसहरूले आफ्नो दैनिक काम गर्दा वा बाहिर हिँड्दा पनि उपचार लिन सक्नेछन।

अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधि कपाल झर्ने समस्या भोगि रहेका लाखौँ मानिसका लागि सस्तो, सुरक्षित र भरपर्दो विकल्प बन्न सक्छ।

यो  सुरक्षित र लगाउन सजिलो समेत छ। यो उपकरणलाई टोपी वा लुगामा सहजै जडान गर्न सकिन्छ। यसका केही मुख्य विशेषताहरू यस प्रकार छन ।

  • अत्यन्तै लचिलो: यसलाई १० हजार पटकसम्म खुम्च्याउँदा वा मोड्दा पनि बिग्रिँदैन।
  • वाटरप्रूफ: यो पानीमा ५० घण्टासम्म डुबाउँदा पनि सुरक्षित रहन्छ, जसको अर्थ पसिना वा पानीले यसलाई असर गर्दैन।
  • कम तापक्रम: यो प्रयोग गर्दा छाला जल्ने डर हुँदैन। २० मिनेट सम्म लगातार चलाउँदा पनि यसको तापक्रम ३० डिग्री सेल्सियस भन्दा कमै रहन्छ।

कसरी काम गर्छ ?

यो प्रविधिमा पातलो र लचिलो कपडामा नदेखिने प्रकाश उत्सर्जन गर्ने विशेष लाइटहरू जडान गरिएको हुन्छ।

अध्ययनका अनुसार

  • कोशिकाको सक्रियता: यसले ७३० देखि ७४० न्यानोमिटरको प्रकाश निकाल्छ, जसले कपालको जरामा रहने ‘डर्मल प्यापिला’ कोशिकाहरूलाई सीधा असर गर्छ र तिनीहरूलाई पुनर्जीवित गराउँछ।
  • बुढ्यौली रोक्ने: प्रयोगशालामा गरिएको परीक्षणमा यो प्रकाशले कोशिकाहरू बुढो हुने प्रक्रियालाई ९१.६ प्रतिशतले कम गरेको पाइएको छ।
  • कोशिकाको चाल: यसले कपाल बढाउन मद्दत गर्ने कोशिकाहरूको हिँडडुल र फैलावटलाई समेत तीव्र बनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!