बिना अनुमति याक एन्ड यती मा हुन लागेको ‘आईभीएफ परामर्श शिविर’ रोक्न मेडिकल काउन्सिलको निर्देशन


काठमाडौँ – काठमाडौँको याक एन्ड यती  होटलमा बिना अनुमति सञ्चालन हुन लागेको ‘आईभीएफ सम्बन्धी परामर्श सेवा’ तथा मेडिकल क्याम्पलाई अवैध ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले रोक्न निर्देशन दिएको छ।

काउन्सिलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई पत्र लेख्दै उक्त कार्यक्रम तत्काल रोकी आवश्यक छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो।

सामाजिक सञ्जाल मार्फत प्रचार गरी आगामी अप्रिल १६ मा होटल याक एन्ड यतीमा डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्रा संलग्न रहने गरी उक्त परामर्श कार्यक्रम तय गरिएको थियो। तर, उक्त कार्यक्रमका लागि काउन्सिलबाट कुनै पूर्व स्वीकृति नलिएको पाइए पछि काउन्सिलले कडा कदम चालेको हो।

आईभीएफ अर्थात इन विट्रो फर्टिलाइजेशन, शरीर बाहिर (प्रयोगशालामा) हुने निषेचन प्रक्रिया हो हो ।  यस प्रक्रियामा महिलाको अण्डा र पुरुषको शुक्राणु प्रयोगशालामा मिलाएर भ्रूण बनाइन्छ र त्यस पछि त्यो भ्रूण महिलाको गर्भाशयमा राखिन्छ, ताकि गर्भ बसोस।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिष कुमार देवले प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा प्रचलित कानुनको धज्जी उडाउने यस्ता गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका नेपालहेल्थप्रेसलाई बताएका छन ।

डा. देवले पत्रमा लेखेका छन, ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०४५ अनुसार नेपाल भित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक वा संस्थाले चिकित्सा सेवा, परामर्श, शिविर वा उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु अघि नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति अनिवार्य हुने स्पष्ट व्यवस्था छ। तर, उक्त प्रचार सामग्रीको अध्ययन गर्दा सम्बन्धित चिकित्सक वा संस्था काउन्सिलमा विधिवत दर्ता भएको वा यस काउन्सिलबाट आवश्यक स्वीकृति लिएको प्रमाण देखिँदैन।’

रजिष्ट्रार डा. देवले बिना अनुमति यस्ता संवेदनशील चिकित्सा सेवा सञ्चालन गर्नु कानुन विपरीत हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने चेतावनी दिएका छन ।

काउन्सिलले उक्त कार्यक्रमलाई तत्काल रोक्न र भविष्यमा यस्ता गतिविधि सञ्चालन गर्नु अघि अनिवार्य रूपमा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने विषयमा सरोकारवालाहरू लाई सचेत गराइदिन समेत प्रशासनलाई आग्रह गरेको छ।

पछिल्लो समय होटलहरूमा विदेशी चिकित्सकहरू आएर बिना अनुमति परामर्श दिने र व्यावसायिक उद्देश्यले बिरामी तान्ने क्रम बढेको भन्दै काउन्सिलले निगरानी बढाएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!