अनुसन्धान

कीटाणुनाशकको असरले किसानमा डिप्रेसन र बिर्सिने रोगको जोखिम बढ्यो


नयाँ दिल्ली (ब्युरो) – ग्रामीण भेगका किसानको मानसिक स्वास्थ्यमा कीटाणुनाशक (विषादी) को गम्भीर प्रभाव परेको नयाँ अध्ययनले देखाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले पश्चिम बंगालका कृषि प्रधान क्षेत्रमा गरेको अध्ययनमा हरेक सातामा एकपटक कीटाणुनाशक छर्कने किसानमा डिप्रेसन, सम्झना शक्ति कमजोर हुने र दैनिक गतिविधिमा कमी आउने जोखिम तीन गुणा सम्म बढ्ने निष्कर्ष निकालेको छ।

आईसीएमआरका अनुसन्धानकर्ताले पूर्व बर्दवान जिल्लाको गालसी क्षेत्रमा ८०८ कृषक परिवारको स्वास्थ्य अवस्था माथि गरेको मूल्यांकनमा २२.३ प्रतिशत परिवारमा ‘माइल्ड कग्निटिभ इम्पेयरमेन्ट’, डिप्रेसन वा दुवैको मिश्रित लक्षण पाइएको उल्लेख छ। धेरै किसान धेरै वर्षदेखि नियमित रूपमा कीटाणुनाशक को सम्पर्कमा रहेको बताएका छन्।

यो अनुसन्धान इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित छ जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ । उक्त अध्ययन अनुसार सातामा कम्तीमा एकपटक कीटाणुनाशक छर्कने किसानमा मानसिक स्वास्थ्य समस्याको जोखिम २.५ गुणा बढी छ। अनुसन्धानकर्ताका अनुसार कीटाणुनाशकको प्रयोग आवृत्ति बढे सँगै तिनको स्नायु स्वास्थ्य क्रमशः कमजोर बन्दै जाने स्पष्ट देखिन्छ।

लामो समय देखि खेती गर्दै आएका, विशेष गरी ३० वर्षभन्दा बढी समय देखि कीटाणुनाशकको सम्पर्कमा रहेका किसानमा जोखिम झन्डै १.८ गुणा बढी पाइएको अध्ययनमा भनिएको छ। पुरुष किसानमा यो जोखिम महिला किसानको तुलनामा करिब दोब्बर देखिएको छ।

किसानको शरीरमा देखिएका जैव संकेतक

आईसीएमआरको टोलीले किसानका रगत नमुनामा एसीएचई, बीसीएचई र पीओएन१ नामक तीन जैव मार्कर परीक्षण गर्दा नियमित रूपमा कीटाणुनाशक प्रयोग गर्ने किसानमा पीओएन१ स्तर अत्यधिक बढेको पाइएको छ। लामो समय सम्म अर्गेनोफस्फेटका विषालु कीटनाशकको सम्पर्कमा रहँदा यो एन्जाइम बढ्ने भएकाले यसलाई शरीरको चेतावनी संकेतका रूपमा व्याख्या गरिएको छ।

राष्ट्रिय कार्यक्रम आवश्यक: आईसीएमआर

अध्ययन पछि आईसीएमआरले संघ तथा राज्य सरकारलाई ग्रामीण क्षेत्रमा कीटाणुनाशक जन्य मानसिक स्वास्थ्य समस्या बारे राष्ट्रिय स्तरको जागरूकता, तालिम र स्वास्थ्य निगरानी कार्यक्रम सुरु गर्न सुझाव दिएको छ। पश्चिम बंगाल स्थित आईसीएमआरको ‘सेन्टर फर एजिङ एन्ड मेन्टल हेल्थ’ का प्राध्यापक अमित चक्रवर्तीले किसानलाई सुरक्षा पोसाक, मास्क, पञ्जा र छर्कने क्रममा सुरक्षित दूरीबारे अनिवार्य जानकारी दिनुपर्ने बताए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!