१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको माग गर्दै नेपाल डेन्टल एसोसिएसन आन्दोलनमा

काठमाडौं – नेपाल डेन्टल एसोसिएसनले हालै सरकारले पारित गरेको ‘आधारभूत अस्पताल संचालन मापदण्ड २०८१’ अन्तर्गत नगरपालिकामा स्थापना हुने १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित गर्न चरणबद्ध आन्दोलन सुरु गरेको छ।
बैशाख २६ गते सम्पन्न शाखा तथा पूर्व पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकबाट आन्दोलनको घोषणा गरिएको हो।
एसोसिएसनका महासचिव डा. विश्व प्रकाश ठाकुर द्वारा जारी विज्ञप्ति अनुसार, आन्दोलनको पहिलो चरणमा बैशाख २८ गते देखि देशभरका सबै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूको डेन्टल ओपीडी र वेटिङ एरियामा ब्यानर तथा पोस्टर टाँस गरि राखिएको छ ।
उक्त ब्यानरमा ‘नगरपालिकामा हुने १५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई दन्त चिकित्सक बाट उचित सेवा प्राप्तिको प्रत्याभूति गर सरकार’ भन्ने माग उल्लेख छ। यस बाहेक, सबै दन्त चिकित्सकहरूलाई कालो पट्टी बाँधेर कार्यमा सहभागी हुन समेत आह्वान गरिएको छ।
एसोसिएसनले सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने कार्यहरू पनि सशक्त रूपमा अगाडि बढाउने जनाएको छ।
एसोसिएसनका अनुसार, आन्दोलनको मुख्य उद्देश्य सबै नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा भित्र दन्त स्वास्थ्य समेत समावेश गरी गुणस्तरीय सेवा सुनिश्चित गर्नु हो।
डेन्टल एसोसिएसनले सरकारसँग दन्त चिकित्सकको भूमिकालाई संस्थागत रूपमा मान्यता दिई प्राथमिक स्वास्थ्य सेवा भित्र समावेश गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस