विश्वमा भोकमरी घट्दो तर अफ्रिका र पश्चिम एसियामा अझै गम्भीर: सन २०२५ को खाद्य सुरक्षा प्रतिवेदन

काठमाडौं – विश्वभर भोकमरीको दर केही घटेको भए पनि अफ्रिका र पश्चिम एसियाका धेरै देशहरू मा भोकको अवस्था झनै गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदन अनुसार, यी क्षेत्रहरूमा दीर्घकालीन खाद्य संकटको प्रभाव अझै कायमै छ।
संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी), संयुक्त राष्ट्र बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त रूपमा सार्वजनिक गरेको ‘विश्वको खाद्य सुरक्षा तथा पोषण अवस्था प्रतिवेदन २०२५’ (एसओएफआई २०२५) अनुसार, सन् २०२४ मा विश्व भर करिब ६७ करोड ३० लाख मानिस (८.२ प्रतिशत) भोकमरीको सिकार भएका थिए। यो संख्या सन् २०२३ को तुलनामा १ करोड ५० लाख र २०२२ को तुलनामा २ करोड २० लाख ले घटेको हो।
तर, यो सुधार सबै क्षेत्रमा एक रूपमा देखिएको छैन। अफ्रिकाका अधिकांश उप क्षेत्रहरू र पश्चिम एसियामा भोक झनै बढेको देखिएको छ। अफ्रिकामा २०२४ मा ३० करोड ७० लाख मानिस (२० प्रतिशत भन्दा बढी) र पश्चिम एसियामा ३ करोड ९० लाख मानिस (१२.७ प्रतिशत) भोकको सिकार भएका छन्।
दक्षिण एशिया र ल्याटिन अमेरिकामा सुधार
दक्षिण एशियामा कुपोषण दर सन् २०२२ को ७.९ प्रतिशत बाट घटेर सन् २०२४ मा ६.७ प्रतिशतमा झरेको छ । जुन ३२ करोड ३० लाख मानिस हुन्छन । ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा पनि कुपोषण घटेर ३ करोड ४० लाख पुगेको छ (२०२० मा ६.१ प्रतिशत थियो)।
सन २०३० सम्ममा अझै ५१ करोड २० लाख मानिस भोकमरीको शिकार हुने
प्रतिवेदनले चेतावनी दिएको छ कि हालको प्रवृत्ति यथावत रहेमा सन् २०३० सम्म ५१ करोड २० लाख मानिस दीर्घकालीन कुपोषणको शिकार हुनेछन् । जसमा झन्डै ६० प्रतिशत अफ्रिकामा पर्नेछन्। यसले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २ (शून्य भोकमरी) प्राप्तिमा ठूलो चुनौती थपेको छ।
पोषण सूचकांकहरूमा मिश्रित प्रगति
- पाँच वर्ष मुनिका बालबालिकामा ज्यान नबढ्ने (स्टन्टिङ) को दर सन् २०१२ को २६.४ प्रतिशत बाट घटेर २०२४ मा २३.२ प्रतिशतमा झरेको छ।
- ६ महिना मुनिका शिशुमा मात्र स्तनपान गर्नेको प्रतिशत २०१२ को ३७ बाट २०२३ मा ४७.८ पुगेको छ।
- मोटोपन दर २०१२ को १२.१ प्रतिशतबाट बढेर २०२२ मा १५.८ प्रतिशत पुगेको छ।
- १५ देखि ४९ वर्ष उमेर समूहका महिलामा रक्तअल्पता (एनीमिया) को दर २०१२ को २७.६ प्रतिशतबाट बढेर २०२३ मा ३०.७ प्रतिशत पुगेको छ।
खाद्य मुद्रास्फीति र असर
कोभिड -१९ महामारी पछिको आर्थिक नीति, युक्रेन युद्ध र चरम मौसमको प्रभावले गर्दा सन् २०२० देखि २०२३ को अवधिमा खाद्य मुद्रा स्फीति तीव्र रूपमा बढेको छ। सन् २०२३ को जनवरीमा खाद्य मुद्रा स्फीति १३.६ प्रतिशत पुगेको थियो, जुन सोही अवधिको समग्र मुद्रा स्फीति भन्दा ५.१ प्रतिशत बढी हो।
कम आम्दानी भएका देशहरूमा यो असर अझै गम्भीर छ। त्यहाँ सन् २०२३ को मे महिनामा खाद्य मुद्रा स्फीति ३० प्रतिशत पुगेको थियो।
स्वस्थ आहार अझै करोडौँको पहुँच बाहिर
स्वस्थ आहार नपुग्ने मानिसको संख्या सन् २०१९ मा २ अर्ब ७६ करोड बाट घटेर सन् २०२४ मा २ अर्ब ६० करोड पुगेको छ। यद्यपि कम आय भएका देशहरूमा यो संख्या उल्टै बढेर सन् २०१९ को ४६ करोड ४० लाख बाट सन् २०२४ मा ५४ करोड ५० लाख पुगेको छ। त्यसै गरी कम-मध्यम आय भएका देशहरूमा (भारत बाहेक) यो संख्या ७९ करोड १० लाख बाट बढेर ८६ करोड ९० लाख पुगेको छ।
खाद्य सुरक्षा प्रतिवेदन सार्वजनिक गर्ने संस्थाका प्रमुखहरू के भन्छन्
- डा. टेड्रोस अधानोम गेब्रियेसस (महानिर्देशक, विश्व स्वास्थ्य संगठन): ‘हामीले केही सुधार गरेका छौँ, जस्तै स्तनपान प्रवर्द्धन र स्टन्टिङमा गिरावट। तर, अझै धेरै चुनौती छन् , जसमा हामीले ध्यान केन्द्रित गर्न जरुरी छ।’
- क्यू तुङ्यु (महानिर्देशक, खाद्य तथा कृषि संगठन): ‘भोकमरीमा थोरै भए पनि गिरावट देखिनु सकारात्मक हो, तर यो सुधार असमान छ। हामी सबैको लागि सुरक्षित र पर्याप्त पोषिलो खाद्य सुनिश्चित गर्न अझ धेरै सहकार्य र नवीन उपाय आवश्यक छ।’
- आल्भारो लारियो (अध्यक्ष, अन्तर्राष्ट्रिय कृषि विकास कोष): ‘खाद्य मूल्य बढेका बेला ग्रामीण र कृषि क्षेत्रमा लगानी बढाउनु अत्यावश्यक छ। यो खाद्य सुरक्षाका साथै विश्व स्थायित्वको लागि पनि महत्त्वपूर्ण छ।’
- क्याथरिन रसेल (कार्यकारी निर्देशक, युनिसेफ): ‘१९ करोडभन्दा बढी बालबालिका कुपोषणबाट पीडित छन्। हामीले सरकार, निजी क्षेत्र र समुदायसँग मिलेर उनीहरूका लागि पर्याप्त पोषणयुक्त आहार सुनिश्चित गर्न सहयोग पुर्याउनुपर्छ।’
- सिन्डी म्याक्केन (कार्यकारी निर्देशक, विश्व खाद्य कार्यक्रम): ‘गत वर्ष १२ करोड ४० लाख मानिसलाई जीवनरक्षक खाद्य सहायता दिइएको थियो। तर, ४० प्रतिशत बजेट कटौतीले लाखौँ मानिस सहायता गुमाउने अवस्थामा छन्।’
प्रतिक्रिया दिनुहोस