अनुसन्धान

अड्की-अड्‌की बोल्ने , भकभकाउने समस्यासँग जोडिएका जीनहरू पहिचान, आटिज्म र मानसिक स्वास्थ्यसँग सम्बन्धित जीनसँग समानता


अड्की-अड्‌की बोल्ने , भकभकाउने समस्या पनि आटिज्म जस्तै केही विशिष्ट जीनका कारण हुन सक्ने नयाँ अनुसन्धानबाट पत्ता लागेको छ। एक करोडभन्दा बढी मानिसको आनुवंशिक डाटाको विश्लेषणबाट वैज्ञानिकहरूले यस्तो नतिजा निकालेका हुन्।

अमेरिकाको प्रसिद्ध आनुवंशिक अनुसन्धान कम्पनी ‘२३ एन्ड मी’ र विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भकभकाउनुसँग सम्बन्धित गुणसूत्रमा ५७ वटा भिन्न-भिन्न बिन्दुहरू पत्ता लगाएका छन्। यी निष्कर्षहरू प्रतिष्ठित वैज्ञानिक पत्रिका नेचर जेनेटिक्स मा प्रकाशित भएका छन्।

भकभकाउनु जसलाई अङ्ग्रेजीमा स्टटरीङ्ग भनिन्छ, एक प्रकारको वाणी सम्बन्धी विकार हो जसमा शब्द वा अक्षरहरू दोहोरिने वा अनावश्यक रोकावट हुने गर्छ। अनुसन्धानकर्ताहरूको भनाइमा, पत्ता लागेका जीनहरू प्रारम्भिक पहिचान तथा भकभकाउनुको उपचार पद्धति विकास गर्न सहयोगी हुनेछन्।

अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. जेनिफर बेलोका अनुसार भकभकाउने कारणबारे विगत धेरै दशक देखि अनेक भ्रमहरू रहँदै आएका थिए। तर यस अध्ययनले देखाएको छ कि यो समस्या कुनै मानसिक कमजोरी वा पारिवारिक दोषका कारण होइन, बरु आनुवंशिक कारणले हुने गर्छ।

भकभकाउने समस्या बालकहरूको विकासक्रम मा सामान्यतः दुई देखि पाँच वर्षको उमेरमा सुरु हुने गर्छ। यद्यपि, किशोरावस्था र वयस्क पुरुषहरूमा यो समस्या बढी देखिने गरेको छ।

अनुसन्धानमा पत्ता लागेका ५७ आनुवंशिक बिन्दुहरूलाई ४८ फरक जीनहरू सँग सम्बन्धित देखिएको छ, जुन भकभकाउनुको जोखिम बढाउनेमा योगदान दिन्छन्। साथै, पुरुष र महिला बीच यी जीनहरूको प्रभावमा फरक देखिएको पनि अनुसन्धानले उल्लेख गरेको छ।

यो अध्ययनले भकभकाउने समस्या व्यक्ति विशेषको दोष नभई, जैविक कारणले हुने कुरा प्रस्ट पार्दै यस बारे सामाजिक बुझाइलाई पनि परिवर्तन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!