डब्लुएचओको नेतृत्वमा ७५ देश सहभागी ३६ घण्टे आणविक आपतकाल अभ्यास


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) द्वारा आयोजित ३६ घण्टे आणविक आपतकालीन अभ्यासमा आफ्नो सक्रिय सहभागिता  जनाएको छ।

यो अभ्यास जुन २५ तारिख सम्पन्न भएको थियो, आईएईए को उच्चतम तहको आपतकालीन तयारी परीक्षण हो, जसलाई ‘लेभल थ्री कन्भेन्सनल एक्सरसाइज-३’ भनिन्छ।

यस प्रकारको अभ्यास हरेक ३ देखि ५ वर्षमा एक पटक आयोजना गरिन्छ र आपतकालीन तयारी तथा प्रतिक्रिया क्षमताको मूल्याङ्कन गर्न, तथा सुधार आवश्यक क्षेत्र पहिचान गर्न गरिन्छ। पछिल्लो ‘लेभल थ्री कन्भेन्सनल एक्सरसाइज-३’ सन् २०२१ मा संयुक्त अरब इमिरेट्सको सहकार्यमा सम्पन्न भएको थियो।

यस वर्षको अभ्यास एक काल्पनिक दुर्घटनामा आधारित थियो, जस अनुसार रोमानिया स्थित एक आणविक ऊर्जा केन्द्रमा रेडियोधर्मी पदार्थको ठूलो मात्रा चुहावट भएको परिकल्पना गरिएको थियो।

यस अभ्यासमा ७५ भन्दा बढी देश र १० अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता थियो। सहभागी पक्षहरूले वास्तविक समयमै जानकारी आदान प्रदान, जोखिमको मूल्याङ्कन, सञ्चार समन्वय, र उपयुक्त सुरक्षा तथा स्वास्थ्य सम्बन्धी निर्णयहरू लिएका थिए।

अभ्यासको क्रममा डब्लुएचओ ले आफ्नो मुख्यालय, क्षेत्रीय र देश स्तरीय कार्यालयहरूबाट विशेषज्ञहरू सहितको इन्सिडेन्ट म्यानेजमेन्ट सपोर्ट टिम गठन गरेको थियो।

यस टोलीले प्रभावित राष्ट्रहरूसँग समन्वय गर्दै जनस्वास्थ्यमा पर्ने असरको निगरानी गर्‍यो, जन सुरक्षाका लागि आवश्यक सन्देश तयार गर्‍यो र मानसिक स्वास्थ्य सम्बन्धी सल्लाह तथा सहयोग पनि उपलब्ध गरायो।

यस पटकको अभ्यासमा केही नयाँ पक्षहरू पनि समावेश गरिएका थिए, जस मध्ये बुल्गेरिया र मोल्डोभिया जस्ता छिमेकी राष्ट्रहरू बीचको प्रतिरक्षात्मक कदमको समन्वय, अन्तर्राष्ट्रिय सहायता टोलीहरूको परिचालन, तथा साइबर सुरक्षा सम्बन्धी चुनौतीको सामना उल्लेखनीय रहे। साथै, सामाजिक सञ्जालको व्यापक सिमुलेटर प्रयोग गरी संकट सञ्‍चार रणनीतिहरूको परीक्षण गरिएको थियो।

यस अभ्यासले सिमाना नाघ्ने उच्च जोखिम भएका आणविक आपतकालीन अवस्थाको अभ्यास गराउँदै, विश्वव्यापी समन्वित प्रतिक्रिया प्रणालीको परीक्षण र सुदृढीकरणमा योगदान पुर्‍याएको डब्लुएचओ ले जनाएको छ।

डब्लुएचओ ले विश्व भर जनस्वास्थ्य, बिरामी तथा श्रमिकहरूको विकिरण सुरक्षालाई बलियो बनाउने निरन्तर प्रयासमा वैज्ञानिक प्रमाणमा आधारित मार्ग दर्शन, उपकरण र प्राविधिक परामर्श प्रदान गर्दै आएको छ।

अभ्यास पछिको समीक्षा आईएईए  ले सार्वजनिक गर्नेछ भने डब्लुएचओले पनि सिकाइएका पाठको अध्ययन गरी आन्तरिक कार्य प्रणालीमा आवश्यक समायोजन गर्ने जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!