एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा खोपको भूमिकाबारे नीति सार्वजनिक

काठमाडौँ – एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढ्दो चुनौतीका सन्दर्भमा खोपको प्रभावकारिता र उपयोगिता बारे ध्यान केन्द्रित गरिएको नीति संक्षेप ‘द भ्यालु अफ भ्याक्सीन्स टू मिटिगेट एन्टीमाइक्रोबियल रेसिस्टेन्स’ सार्वजनिक गरिएको छ।
यो नीति संक्षेप ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसिप नेपाल (जिएआरपी-नेपाल), नेपाल पब्लिक हेल्थ फाउन्डेसन र दि वान हेल्थ ट्रस्ट को सहकार्यमा सार्वजनिक गरिएको हो।
नीति दस्तावेज डा. शरद वन्त, नारायण ढकाल (औषधि व्यवस्था विभाग), डा. बिबेककुमार लाल (परिवार कल्याण महाशाखा), डा. रञ्जनराज भट्ट (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला), डा. विनयकुमार कर्ण (राष्ट्रिय खोप उत्पादन प्रयोगशाला) र डा. मदनकुमार उपाध्याय द्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै डा. वन्तले एएमआरको समाधान रोकथाममा मात्र सम्भव हुने बताउँदै खोप एक प्रभावकारी उपाय भएको उल्लेख गरे। जिएआरपी-नेपाल का अध्यक्ष डा. पारशकुमार पोखरेलले खोप मार्फत् सामूहिक प्रतिरोधात्मक क्षमता (हर्ड इम्यूनिटी) कायम गरेर एन्टिबायोटिक प्रयोग घटाउन सकिने बताए।
नीति संक्षेप अनुसार सन् २०२१ मा नेपालमा मात्रै १९,५७९ जनाको मृत्यु एएमआरका कारण भएको अनुमान गरिएको छ। संक्रमण रोक्ने, औषधि प्रयोग घटाउने र संक्रमणको फैलावट नियन्त्रण गर्ने माध्यमका रूपमा खोपलाई प्रस्तुत गरिएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय, पशुसेवा विभाग, शैक्षिक संस्था, चिकित्सक, पशु चिकित्सक, डब्लुएचओ, एफएच आई ३६० लगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. समीरमणि दीक्षितले दस्तावेजका मुख्य बुँदाहरू प्रस्तुत गर्दै ‘अब शब्द होइन, कार्यको आवश्यकता छ’ भनेर जोड दिए ।
नीति संक्षेपमा दिइएका प्रमुख सिफारिसहरूमा दीर्घकालीन नीति पैरवी, खोपको आर्थिक मूल्याङ्कन, सफल खोप अभ्यासबाट सिकाइ, उच्च जोखिम समूहको प्राथमिकता, निगरानी प्रणालीको सुदृढीकरण, पशु क्षेत्रको सहभागिता, उपचार मापदण्डको पालना, समान पहुँच, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य समावेश छन्।
कार्यक्रममा डा. सुधा बस्नेतले एएमआर सम्बन्धी राष्ट्रिय कार्ययोजना सँग दस्तावेजको मिल्दोपन उल्लेख गर्दै यसले वैज्ञानिक प्रमाणका आधारमा नीति निर्माणमा टेवा पुर्याउने बताइन्।
जिएआरपी-नेपालका कार्यकारी अध्यक्ष डा. महेशकुमार मास्केले एएमआर नियन्त्रणका लागि जिएआरपी र एनपीएचएफ लामो समय देखि सक्रिय रहेको भन्दै यो प्रयासलाई अझ सशक्त बनाइने प्रतिबद्धता जनाए।
डा. उपाध्यायले नीति संक्षेपले राष्ट्रिय कार्ययोजना अनुरूप खोपलाई प्राथमिक रणनीति बनाउनु उपयुक्त हुने बताए।डा. कर्णले पशु स्वास्थ्यमा खोपको भूमिका उल्लेख गर्दै फार्म स्तरमा सरसफाइ कायम गर्नु पनि अत्यावश्यक रहेको बताए। हाल राष्ट्रिय खोप उत्पादन प्रयोगशाला बाट १५ प्रकारका खोप उत्पादन भइरहेका छन्।
यस्तै डा. भट्टले निजी क्षेत्रको डाटा समेटेर निगरानी सुदृढ गर्नुपर्ने धारणा राखे। डा. लालले एएमआर लाई ‘विश्वव्यापी महामारी’ का रूपमा चिनाउँदै खोपलाई प्रभावकारी समाधानका रूपमा औंल्याए भने ढकालले खोप सँगै स्वच्छता र संक्रमण रोकथामका उपायलाई पनि जोड दिनु पर्नेमा बल दिए।
नेपाल पब्लिक हेल्थ फाउन्डेसनका कोषाध्यक्ष डा. राजेन्द्र बि.सी. ले खोप मार्फत् एएमआर नियन्त्रणमा सबैको दृढ संकल्पको आवश्यकता औंल्याए।
उक्त नीति संक्षेप स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र नीतिगत योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलको उपस्थितिमा मन्त्रालयमा हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस