नेपालमा स्वर्ण प्राशन कार्यक्रम औपचारिक रूपमा सुरु, पहिलो चरणमा २५ आयुर्वेद स्वास्थ्य संस्था समावेश


काठमाडौं – आयुर्वेद ग्रन्थ र शास्त्रीय परम्परा अनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि प्रयोग हुँदै आएको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार सो निर्देशिका २०८२ भदौ १ गतेदेखि लागू गरिएको हो।

काश्यप संहितामा उल्लेख भए अनुसार स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेह बनाइ बालबालिकालाई थोपा अंशको रूपमा सेवन गराइने विधि स्वर्ण विन्दु प्राशन हो। यो विधि बालबालिकाको समग्र स्वास्थ्य संवर्द्धनमा प्रभावकारी मानिन्छ।

निर्देशिकाले स्वर्ण प्राशनलाई सुरक्षित, सरसफाइ युक्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने, आयुर्वेदिक परम्परालाई आधुनिक गुणस्तरीय मापदण्ड अनुसार संरक्षण गर्ने र मातृशिशु स्वास्थ्य कार्यक्रम सँग समेत जोड्ने लक्ष्य राखेको छ।

स्वर्ण प्राशन कार्यक्रम अन्तर्गत ६ महिना देखी ५ वर्षसम्म का बालबालिकाले लाभ पाउने छन्। यो कार्यक्रम प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन तोकिएका आयुर्वेदिक स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गराइनेछ। तर ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी लगायतका समस्या भएका बालबालिकालाई सहभागी गराइने छैन।

हाल यो कार्यक्रमलाई राष्ट्रिय स्तरको आयोजना स्वरूप सुरु गरिएको छ। प्रारम्भिक चरणमा देशभरका २५ आयुर्वेद स्वास्थ्य संस्था, आयुर्वेदिक अस्पताल तथा शिक्षण अस्पताल मार्फत सञ्चालन हुने भएको छ।

पहिलो चरणमा समावेश प्रमुख स्वास्थ्य संस्थाहरूमा त्रिवि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, आयुर्वेद चिकित्सालय नरदेवी, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, प्रादेशिक आयुर्वेद चिकित्सालयहरू (बिजौरी दाङ, धनगढी, लखनपुर झापा, पर्सा, धनुषा, सर्लाही, पोखरा, बागलुङ, तनहुँ, बुटवल, सुर्खेत, जुम्ला, दैलेख) लगायतका संस्था पर्दछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यो कार्यक्रमलाई क्रमशः सबै स्थानीय तहका आयुर्वेद स्वास्थ्य संस्थामा विस्तार गरिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!