किन पाए डाक्टर ओम मूर्ति अनिलले प्रधानमन्त्री प्रतिभा पुरस्कार ?


काठमाडौं – नेपाल सरकार द्वारा प्रतिष्ठित ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल लाई प्रदान गरिने भएको छ।

बुधबार प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा यो घोषणा गरियो। चिकित्सा क्षेत्रमा उनको दूरगामी योगदानको सम्मान स्वरूप मन्त्रि परिषद्ले यो निर्णय गरेको हो।

डा. अनिलले स्वास्थ्य सचेतनाका क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छन्। विश्व कीर्तिमान राख्दै प्रविधिको माध्यमबाट जनस्वास्थ्य सेवा विस्तार गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

विश्व कीर्तिमान र जनस्वास्थ्यमा योगदान 

डा. ओम मूर्तिले सन् २०२३ मा ‘उच्च रक्तचापको निदान’ सम्बन्धी फेसबुक लाइभ मार्फत सर्वाधिक दर्शक पाएको स्वास्थ्य सचेतना अभियान सञ्चालन गरी गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए।

यसअघि, सन् २०१४ मा मुटुरोग रोकथाम सम्बन्धी सबैभन्दा लामो रेडियो अन्तर्वार्ताका लागि वर्ल्ड बुक रेकर्ड (लन्डन) मा नाम दर्ता गराउन सफल भएका थिए।

स्वास्थ्य सेवा विस्तार र समाजसेवा 

एक दशक भन्दा लामो समयदेखि डा. ओम मूर्तिले सामाजिक संजाल मार्फत मुटुरोग तथा नसर्ने रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएका छन्। उनले शहरी क्षेत्रका ५,५३० युवामा मुटुरोगको जोखिम मूल्यांकन गर्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद द्वारा सर्वोत्कृष्ट शोधपत्र पुरस्कार प्राप्त गरेका छन् ।

व्यक्तिगत लगानीमा उनले देश भर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै १०,००० भन्दा बढी नागरिकलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका छन्। आप्रवासी नेपाली कामदार तथा अस्पताल जान नसक्ने बिरामीहरूलाई लक्षित गर्दै उनले टेलि मेडिसिन सेवा समेत सुरु गरेका छन्। साथै, दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीलाई मुटुरोग तथा नसर्ने रोग सम्बन्धी विशेष तालिम प्रदान गर्दै आएका छन्।

शिक्षा र चिकित्सकीय उपलब्धिहरू

महोत्तरीको बलवा नगरपालिकामा जन्मिएका डा. ओम मूर्तिले भारतको प्रतिष्ठित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्ली बाट इन्टरभेन्सन कार्डियोलोजीमा डीएम उपाधि हासिल गरेका छन् ।उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडी इन मेडिसिन (स्वर्ण पदक विजेता) तथा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्।

उनले अमेरिकन कलेज अफ कार्डियोलोजी (एफएसीसी) तथा सोसाइटी फर कार्डियो भास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट फेलोसिप प्राप्त गरेका छन्।

नेपालमा उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा क्याथ ल्याब स्थापना गर्दै डीएम कार्डियोलोजी कार्यक्रम संयोजकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

साहित्य र सामाजिक कार्य

डा. अनिल ‘म पनि डाक्टर’ र ‘जीवन्त सम्बन्ध’ पुस्तकका लेखक हुन्। उनले स्थापना गरेको ‘डा. ओम फाउन्डेसन’ ले निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति, धुम्रपान विरोधी अभियान तथा विद्यालय स्तरीय स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिभाको सम्मान

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मुलुकको शान्ति, नवप्रवर्तन, वैज्ञानिक अनुसन्धान, शिक्षा, चिकित्सा, समाज सेवा जस्ता क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्व लाई प्रदान गरिन्छ। डा. ओम मूर्ति को समर्पण, नवीन कार्यहरू र समाज सेवाको उच्च मूल्याङ्कन स्वरूप उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!